बनेपाको चारदोबाटोमा सुरु भयो यात्रु सहायता कक्ष

दसैँ–तिहार नजिकिएसँगै घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । यही भीडभाडका बीच यात्रा सुरक्षित, सहज र व्यवस्थित बनाउन काभ्रेपलाञ्चोकमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । जिल्लाका विभिन्न राजमार्ग र मुख्य नाकामा स्थापना गरिएका यी कक्षले यात्रुको सुरक्षा, सूचना प्रवाह र समस्या समाधानमा प्रत्यक्ष सहयोग गर्ने अपेक्षा गरिएको छ ।

काभ्रेपलाञ्चोक भित्रिने तथा बाहिरिने यात्रुको मुख्य मार्गका रूपमा रहेको बीपी राजमार्ग र अरनिको राजमार्ग क्षेत्रमा गरी छ वटा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले चाडपर्वका बेला हुने यात्रुको अत्यधिक चापलाई ध्यानमा राख्दै सहायता कक्ष सञ्चालनमा ल्याएको हो ।

बनेपा चारदोबाटोमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक रविन कार्कीले सहायता कक्षको शुभारम्भ गर्दै यात्रुको सुरक्षा सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व भएको बताए । उनले यात्राका क्रममा यात्रुले भोग्ने विभिन्न समस्या समाधान गर्न सहायता कक्ष प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गरे ।

चाडपर्वका समयमा सार्वजनिक यातायातमा यात्रुको अत्यधिक भीड हुने, टिकटसम्बन्धी विवाद, हराएका सामान, यात्रु अलपत्र पर्ने तथा चोरी–पकेटमारीका घटना बढ्ने सम्भावना रहने भएकाले सहायता कक्ष स्थापना गरिएको प्रहरीको भनाइ छ । सहायता कक्षमा खटिएका सुरक्षाकर्मीले यात्रुलाई आवश्यक सूचना दिनुका साथै आपत्कालीन अवस्थामा सहजीकरण गर्नेछन् ।

ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरीक्षक राकेश थापाले यात्रु सहायता कक्षले यात्रुमा सुरक्षा अनुभूति बढाउने बताए । उनका अनुसार अपरिचित स्थानमा यात्रा गर्दा हुने भय, डर र अन्योल कम गर्न तथा कुनै समस्या परे तत्काल सहयोग उपलब्ध गराउन कक्षले महत्वपूर्ण भूमिका खेल्नेछ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी निरीक्षक सन्तोष श्रेष्ठका अनुसार सहायता कक्ष केवल सूचना केन्द्र मात्र नभई सडक सुरक्षा अभियानको पनि हिस्सा हो । कक्षमार्फत यात्रु र सवारी चालकलाई ट्राफिक नियमबारे जानकारी दिने, सुरक्षित यात्रा सम्बन्धी सन्देश प्रवाह गर्ने तथा दुर्घटना न्यूनीकरणका लागि सचेतना अभिवृद्धि गर्ने काम समेत गरिनेछ ।

काभ्रेपलाञ्चोक हुँदै दैनिक हजारौँ सवारीसाधन राजधानी प्रवेश तथा बाहिरिने गर्दछन् । विशेषगरी चाडपर्वका बेला यो सङ्ख्या उल्लेख्य रूपमा बढ्ने भएकाले यात्रु सहायता कक्षलाई प्रभावकारी रूपमा सञ्चालन गर्न प्रहरी, यातायात व्यवसायी र स्थानीय सरोकारवालाबीच समन्वय गरिएको छ ।

सहायता कक्ष शुभारम्भ कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रविन्द्र बैदार, यातायात व्यवसायी तथा विभिन्न निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रहरीका अनुसार यात्रु सहायता कक्षबाट यात्रुले आवश्यक सूचना, सुरक्षा परामर्श, गुनासो व्यवस्थापन तथा आपत्कालीन सहजीकरण सेवा प्राप्त गर्न सक्नेछन् । चाडपर्वका बेला यात्रुको भीड बढेसँगै यस्ता सहायता कक्षले यात्रालाई सुरक्षित र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया