
काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका–५, कानपुर कालापानी । केही वर्षअघिसम्म यहाँ पुग्ने जो–कोहीलाई एउटा प्रश्नले सताउँथ्यो—के यो गाउँमा फेरि कहिल्यै मानिस फर्केलान् ?
आँगनहरू झारपातले ढाकिएका थिए । घरका भित्ताहरू चर्किएका थिए । कतिपय घरहरू भग्नावशेषमा परिणत भइसकेका थिए । बारीहरू जंगलझैँ बनेका थिए । गाउँका गोरेटो बाटाहरूमा मानिसका पाइला होइन, घाँस र झाडी उम्रिएका थिए ।
तर आज दृश्य फेरिएको छ ।
वर्षौँदेखि सुनसान बनेका आँगनहरूमा फेरि सरसफाइ भइरहेको छ । पुराना घरहरूमा लिपपोत लगाइँदैछ । कतै ढुंगा मिलाइँदै छन्, कतै काठ चिरिँदै छ । कसैले पुरानो घरको संरचना जोगाउने प्रयास गरिरहेको छ भने कसैले नयाँ घरको जग हालिरहेको छ । एक समय सुनसान बनेको थुम्का गाउँ अहिले फेरि मानिसको आवाजले गुञ्जिन थालेको छ ।
यो परिवर्तन आफैँ आएको होइन । यसको पछाडि केही युवाहरूको सपना, मेहनत र आफ्नो जन्मभूमिप्रतिको माया लुकेको छ ।
इतिहासको गाउँ, समयको चोट
करिब चार–पाँच दशकअघि थुम्का क्षेत्र स्थानीय रूपमा निकै महत्वपूर्ण स्थान मानिन्थ्यो । यहाँ न्यायालयसमेत सञ्चालन हुने गरेको स्थानीय वृद्धवृद्धाहरू सुनाउँछन् । त्यसबेला गाउँमा बाक्लो बस्ती थियो। खेतीपाती फस्टाएको थियो। सामाजिक गतिविधिहरू नियमित हुन्थे ।

तर समय बदलियो । शिक्षा, रोजगारी र अवसरको खोजीमा युवा पुस्ता गाउँ छाडेर शहर र विदेशतिर लाग्न थाल्यो । त्यसपछि गाउँ क्रमशः रित्तिँदै गयो ।
२०७२ सालको विनाशकारी भूकम्पले बाँकी रहेको जीवनलाई पनि झस्कायो । धेरै घरहरू क्षतिग्रस्त भए । कतिपय परिवार स्थायी रूपमा अन्यत्र बसाइँ सरे । त्यसपछि थुम्का झन् सुनसान बन्यो । एक समय मानिसको हाँसोले भरिने गाउँमा सन्नाटा छाउन थाल्यो । तर फेरि त्यही हाँसो फर्काउने अभियानमा युवाहरु लागेका छन् ।
गाउँ फर्काउने सपनाको सुरुवात
यही अवस्थामा केही युवाहरूले एउटा फरक सोच बनाए । æयदि हामीले नै आफ्नो गाउँ नसम्झिए कसले सम्झिन्छ ?Æ यही प्रश्नबाट सुरु भयो …थुम्का ट्रेलÚ अभियान । काठमाडौंमा व्यवसाय गरिरहेका युवा सुमन मैनाली पशुपती श्रेष्ठको अगुवाईमा भएको यो कार्यमा अग्रजले खुलेर सहयोग गरे । युवाहरूले गाउँ पुनर्जीवनको अभियान थाले। उनीहरूको लक्ष्य केवल घर बनाउनु होइन, गाउँको आत्मा बचाउनु थियो ।

अभियान अन्तर्गत अहिले पुराना घरहरूको संरक्षण, आँगन सरसफाइ, चौतारा निर्माण, धारा संरक्षण, शौचालय निर्माण तथा आवश्यक पूर्वाधार विकासका काम भइरहेका छन् । कतिपय युवाहरू पुराना तस्बिरहरू खोजिरहेका छन् । उनीहरूको चाहना छ—जसरी गाउँ पहिले थियो, त्यसको स्वरूप सकेसम्म जोगाएर पुनर्निर्माण गरियोस् ।
कसैले सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरेर सुझाव संकलन गरिरहेका छन् । कसैले गाउँको इतिहास लेखिरहेका छन् । कसैले श्रमदान गरिरहेका छन् । हेर्दा सानो लाग्ने यी प्रयासहरू वास्तवमा एउटा उजाडिएको बस्तीमा जीवन फर्काउने अभियानका आधारस्तम्भ हुन् ।
समयको साक्षी बनेको न्यायालय घर
थुम्काको सबैभन्दा महत्वपूर्ण सम्पदामध्ये एक हो पुरानो न्यायालय भवन । आज पनि त्यो घर समयको साक्षी बनेर उभिएको छ । भित्ताहरू पुराना छन्, तर इतिहास जीवित छ ।

स्थानीय अगुवा तथा निवृत्त शिक्षक श्याम मैनालीले यस घरको संरक्षणमा विशेष चासो देखाउनुभएको छ । उहाँले गाउँका पुराना तस्बिरहरू संकलन गर्दै इतिहासको दस्तावेजीकरण सुरु गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, æयो केवल एउटा पुरानो घर होइन। यो हाम्रो इतिहास हो। यसलाई जोगाउनु भनेको भावी पुस्तालाई आफ्नो पहिचान हस्तान्तरण गर्नु हो ।Æ उहाँका अनुसार इतिहासलाई सम्झने मानिस नभए इतिहास आफैँ हराएर जान्छ । त्यसैले अहिलेको अभियान केवल संरचना निर्माणको होइन, स्मृतिको संरक्षणको अभियान पनि हो ।
जंगल बन्दै गरेका बारीमा फेरि खेतीको सपना
गाउँका बारीहरू लामो समयदेखि बाँझै थिए । कहिल्यै अन्न फल्ने खेतमा झाडी उम्रिएका थिए। कतिपय स्थान जंगलजस्तै देखिन्थे । तर अहिले युवाहरू ती बारीहरू सफा गरिरहेका छन् । खेती पुनः सुरु गर्ने योजना बनाइरहेका छन् । स्थानीय उत्पादन, जैविक खेती र कृषि पर्यटनलाई जोडेर गाउँमा आयआर्जनको आधार तयार गर्ने सोच बनाइएको छ । उनीहरूको विश्वास छ—गाउँ बचाउन केवल घर बनाउनु पर्याप्त हुँदैन, गाउँको अर्थतन्त्र पनि पुनर्जीवित हुनुपर्छ ।

साथमा स्थानीय सरकार
थुम्का पुनर्जीवन अभियानले स्थानीय सरकारको साथ पनि पाएको छ । नमोबुद्ध नगरपालिका–५ का वडा अध्यक्ष सुरे तामाङले अभियानलाई गाउँको भविष्यसँग जोडिएको महत्वपूर्ण पहलका रूपमा लिनुभएको छ । उहाँले अभियानमा आवश्यक साथ, सहयोग र हौसला प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । स्थानीय तहको समर्थनले युवाहरूमा थप उत्साह थपिएको छ । ……गाउँमा मान्छे फर्किए भने म भन्दा खुसी को होला र ÚÚ सुरेले भन्नुभयो ।

केवल घर होइन, सपनाको पुनर्निर्माण
अभियानका अगुवा सुमन मैनाली भन्छन्, æपरिवर्तन एकै दिनमा देखिँदैन । तर धैर्य र निरन्तर प्रयासले परिणाम अवश्य आउँछ । हामी गाउँको पुनर्निर्माण मात्र गरिरहेका छैनौँ, गाउँको भविष्य निर्माण गरिरहेका छौँ ।Æ वास्तवमा थुम्कामा अहिले भइरहेको काम केवल घरको मर्मत वा निर्माणको मात्र काम नभएको उहाँले उल्लेख गर्नुभयो । यो एउटा सोचको पुनर्जन्म भएको र आफ्नो इतिहासप्रतिको सम्मान गाउँलाई बिर्सन नदिने संकल्प रहेको उहाँले स्पष्ट पार्नुभयो ।
थुम्काको सन्देश
आज नेपालका धेरै गाउँहरूले थुम्काले भोगेको पीडा भोगिरहेका छन् । गाउँ रित्तिएका छन् । खेत बाँझिएका छन् । पुराना घरहरू ढलिरहेका छन् । तर थुम्काले एउटा सन्देश दिएको छ । गाउँको भाग्य बदल्न करोडौँ रुपैयाँको परियोजना मात्रै चाहिँदैन । कहिलेकाहीँ केही युवाको सपना, केही मानिसको समर्पण र आफ्नो माटोप्रतिको प्रेम नै पर्याप्त हुन्छ । आज थुम्काका आँगनहरू फेरि सफा भइरहेका छन् । भित्ताहरू फेरि सिंगारिँदै छन् । चौताराहरू फेरि बनिरहेका छन् । बारीहरू फेरि खेतीको प्रतीक्षामा छन् । र सायद, वर्षौँदेखि सुनसान बनेको गाउँले पनि मनमनै भनिरहेको छ । æमेरो भविष्य अझै सकिएको छैन ।Æ

तपाईको प्रतिक्रिया