काभ्रेपलाञ्चोक जिल्लाका सहकारीको साझा संस्था जिल्ला सहकारी संघले काभ्रेले शनिबार सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
यो छलफल केवल औपचारिक भेटघाट मात्र थिएन । पछिल्लो समय सहकारी क्षेत्रमाथि बढ्दो अविश्वास, वित्तीय अनुशासनको प्रश्न र सुशासनको बहसबीच आयोजित यो कार्यक्रमले जिल्लाको सहकारी क्षेत्र आफ्नो अवस्था, चुनौती र आगामी बाटोबारे सार्वजनिक रूपमा संवाद गर्न खोजेको सन्देश दिएको कार्यक्रमका सहभागीले उल्लेख गर्नुभयो ।
काभ्रेपलाञ्चोकमा हाल ६४६ वटा सहकारी संस्था सञ्चालनमा रहेको सहकारीका कामु कार्यकारी प्रमुख सुजित श्रेष्ठले उल्लेख गर्नुभयो । उहाँका अनुसार तीमध्ये ५८५ वटा जिल्ला सहकारी संघमा आबद्ध छन् ।
जिल्लाका १३ वटै स्थानीय तहमा सहकारीको पहुँच विस्तार भएको तथ्यांकले सहकारी आन्दोलनको व्यापकता देखाउँछ । तर संख्यात्मक विस्तारसँगै गुणस्तरीय सञ्चालन, पारदर्शिता र सदस्यको विश्वास जोगाउने चुनौती पनि उत्तिकै बढेको छ ।
अन्तरक्रियामा संघका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले प्रस्तुत गरेको विवरणले सहकारी क्षेत्रको वर्तमान अवस्थालाई उजागर ग¥यो । संघले बचत तथा ऋण कारोबार बन्द गरिसकेको र सञ्चालनमा रहेका सेवा केन्द्रहरू क्रमशः बन्द गर्दै गएको जानकारीले सहकारी संरचनामा भइरहेको पुनर्संरचना र सतर्कताको संकेत गरेको छ ।
पछिल्ला केही वर्षयता देशका विभिन्न स्थानमा देखिएका सहकारी संकटका घटनाले सर्वसाधारणमा सहकारीप्रतिको विश्वास कमजोर बनाएको छ । यस्तो अवस्थामा सञ्चारमाध्यम र सहकारी क्षेत्रबीच प्रत्यक्ष संवादको आवश्यकता झन् बढेको देखिन्छ । कार्यक्रममा सहभागी पत्रकारहरूले सहकारी संस्थाको पारदर्शिता, सुशासन, सदस्यको अधिकार र सञ्चारमाध्यमसँगको सम्बन्धका विषयमा उठाएका प्रश्नहरू पनि यही चिन्तासँग जोडिएका थिए ।
जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटे श्रेष्ठले पत्रकारहरूले दिएका सुझावलाई सकारात्मक रूपमा ग्रहण गर्ने र संघका गतिविधिलाई थप प्रभावकारी तथा पारदर्शी बनाउने प्रतिबद्धता जनाउनुभयो। सञ्चारकर्मी र सहकारीकर्मीबीच अनुभव आदानप्रदान, तालिम सञ्चालन तथा असल शासनका अभ्यास विस्तार गर्ने योजना सार्वजनिक गर्नु संघले सुधार र आत्ममूल्यांकनको बाटो रोज्न खोजेको संकेतका रूपमा लिन सकिन्छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष ईश्वरी ओझा, महेश पौडेल, मोतिराम तिमल्सिना तथा अध्यक्ष विनोदकुमार न्यौपानेले व्यक्त गरेका धारणा पनि सहकारी र सञ्चार क्षेत्रबीचको सम्बन्धलाई थप मजबुत बनाउन केन्द्रित थिए । उनीहरूले सहकारी क्षेत्रका सकारात्मक अभ्यास र उपलब्धिलाई सञ्चारमाध्यममार्फत जनतासम्म पु¥याउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सहकारी क्षेत्र आर्थिक कारोबारसँग मात्र सीमित छैन। यो समुदायको सामाजिक र आर्थिक सशक्तीकरणसँग जोडिएको अभियान पनि हो। त्यसैले सहकारी संस्थाहरूले पारदर्शिता, उत्तरदायित्व र सुशासनलाई व्यवहारमै लागू गर्न सके मात्र सदस्य र समुदायको विश्वास कायम रहन सक्छ। अर्कोतर्फ सञ्चारमाध्यमले पनि तथ्यमा आधारित आलोचना, निगरानी र सकारात्मक अभ्यासको प्रचारमार्फत सहकारी क्षेत्रलाई सही दिशामा अघि बढाउन भूमिका खेल्न सक्छ ।
काभ्रेमा आयोजित यो अन्तरक्रियाले सहकारी र सञ्चार क्षेत्रबीचको सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्ने प्रयास गरेको देखिन्छ। सहकारीका समस्या लुकाउने होइन, सार्वजनिक बहस र संवादमार्फत समाधान खोज्ने संस्कृतिको विकास गर्न सकियो भने मात्र सहकारी आन्दोलनप्रतिको जनविश्वास पुनः बलियो बन्ने अपेक्षा गर्न सकिन्छ। सञ्चारकर्मी, सहकारीकर्मी र सरोकारवाला निकायबीच निरन्तर संवाद र सहकार्यको आवश्यकता सहभागीहरूले औँल्याएको सन्देश पनि यही हो । बरिष्ठ उपाध्यक्ष शान्ति लामाले सहकारीमा देखिएको समस्याको बारेमा अवगत गराउनुभयो । उहाँले स्वागत मन्तव्य राख्दै काभ्रेमा सहकारीले खेलेको भुमिकाको बारेमा आफ्नोे धारणा राख्नुभयो । कार्यक्रमको सहजीरकरण सचिव प्रकाश बञ्जाराले गर्नुभयो ।

तपाईको प्रतिक्रिया