बनेपा, भदौ २३ गते। रसुवा लगायतका जिल्लामा गएको विनाशकारी बाढी–पहिरोबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले बनेपा मर्निङ फुटसल परिवारले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा आर्थिक सहयोग प्रदान गरेको छ।
बाढी–पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बनेपा मर्निङ फुटसल परिवारले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता भएकाहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
फुटसल परिवारले विपत्तिको यस कठिन घडीमा मानवीय दायित्व निर्वाह गर्ने उद्देश्यले आफ्नो तर्फबाट सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको जनाएको छ। संस्थाले आफ्नो सानो योगदानले पीडित परिवारको दुःख कम गर्न केही सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
बनेपा मर्निङ फुटसल परिवारले प्राकृतिक विपत्तिका बेला सबै नागरिक, संघसंस्था तथा समुदायलाई आ–आफ्नो स्थानबाट सहयोगको हात बढाउन आग्रह गरेको छ। विपद्का बेला एकअर्काको साथ, सहयोग र सहकार्य नै मानवताको सबैभन्दा ठूलो उदाहरण भएको संस्थाको भनाइ छ।
हाल रसुवा, धादिङ तथा आसपासका जिल्लाहरूमा आएको बाढी–पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ भने प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण र पुनर्स्थापनाका कार्यहरू जारी रहेका छन्।

तपाईको प्रतिक्रिया