भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार अभियानलाई अझ तीव्रता दिँदै नदीको बहाबले क्षतिग्रस्त पूर्वाधार निर्माण सँगसँगै अगाडि बढाइएको छ । प्रभावित क्षेत्रमा पहिरो र भग्नावशेषले सडक तथा बस्तीमा पुल मात्र नभई, जलविद्युत् आयोजनाका सुरुङमा समेत अकल्पनीय क्षति पुर्याएको छ । ती क्षेत्रमा नेपाली सेनाको नेतृत्वमा खोज तथा उद्धारसँगै पुनर्निर्माणलाई तीव्रता दिइएको हो । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले हालसम्म विभिन्न प्रभावित क्षेत्रबाट हवाई साधनमार्फत २७७ जना विदेशी नागरिकसहित तीन हजार ९७५ जनाको उद्धार गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “खोज तथा उद्धारको महत्वपूर्ण क्षेत्र जलविद्युत् आयोजनाभित्रबाट जीवितै उद्धारको प्रयास हो । बाढी र लेदोका कारण पहुँच कठिन भए पनि पावरहाउससम्म पुग्ने प्रयास जारी छ ।” उहाँका अनुसार रसुवागढी जलविद्युत् आयोजनामा कम्पोजिट क्विक रियाक्सन टिम र आयोजनाका प्रतिनिधिसहितको टोली पावरहाउस तथा कन्ट्रोल प्वाइन्टसम्म पुगेर खोजीमा जुटेको छ । बाढीले पुर्याएको क्षति र सुरुङभित्रको अवस्थाका कारण खोजी कार्य चुनौतीपूर्ण बने पनि टोलीले उपलब्ध मार्ग प्रयोग गरी सम्भावित स्थानमा खोजी गरिरहेको छ ।
त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको पावरहाउस तथा सुरुङमा नेपाली सेनाको टोली उद्धार उपकरणसहित परिचालित छ । सुरुङभित्रको जोखिम मूल्याङ्कन गर्दै सम्भावित व्यक्तिको खोजी कार्य जारी छ । त्यहाँबाट हालसम्म आठ वटा शव निकालिएको सेनाले जनाएको छ ।
त्रिशूली थ्री ‘बी’ आयोजनामा अडिट–२ बाट प्रवेश गरेको सैनिक टोली अडिट–१ बाट बाहिर निस्किएको छ । अडिट–२ सुरुङबाट एक्स्काभेटर प्रवेश गराउन सकिने गरी बाटो सफा गर्ने काम भइरहेको जनाइएको छ । हालसम्म त्यहाँबाट कुनै व्यक्ति फेला नपरे पनि सुरुङभित्रको भग्नावशेष र लेदो हटाएर थप खोजी गर्ने तयारी भइरहेको छ ।
त्यसै गरी चिलिमे जलविद्युत् आयोजनामा उद्धार कार्यका लागि प्रविधिको प्रयोग बढाइएको छ । विदेशी प्राविधिकसहितको संयुक्त टोलीले मिनी एक्साभेटर र मडपम्पको प्रयोग गरी सुरुङमा जम्मा भएको लेदो हटाइरहेको र उद्धार टोली पावरहाउसबाट करिब ५०–६० मिटर नजिक पुगेको सेनाले जनाएको छ ।
माथिल्लो त्रिशूली–१ आयोजनामा पनि विदेशी प्राविधिकसहितको टोलीले थर्मल क्यामेराको प्रयोग गरी सुरुङभित्र थप खोजी गरेको छ । मानवीय पहुँच कठिन भएका क्षेत्रमा प्रविधिको सहायताले सम्भावित जीवनको सङ्केत पत्ता लगाउने प्रयास भइरहेको जनाइएको छ ।
देवीघाटमा पुल निर्माण तीव्र
बाढीपछि अवरुद्ध यातायात र राहत सामग्री ढुवानी सहज बनाउन नेपाली सेनाको इन्जिनियरिङ फौजले पूर्वाधार पुनस्र्थापनालाई पनि समान प्राथमिकता दिएको जनाएको छ ।
नुवाकोटको विदुर–५, देवीघाटस्थित तादी नदीमा ५५ जना सैनिक सम्मिलित इन्जिनियरिङ टोलीले पुल निर्माणलाई तीव्रता दिएको छ । उक्त टोलीले ६० मिटर लामो, ५.५ मिटर चौडा र ५० टन भारवहन क्षमताको एक्रो ब्रिज निर्माण गरिरहेको छ ।
पुल निर्माणपछि बाढी प्रभावित क्षेत्रसम्म राहत सामग्री, उद्धार उपकरण र अन्य अत्यावश्यक सामग्री पुर्याउन सहज हुने अपेक्षा गरिएको छ । अवरुद्ध सडक तथा पुलका कारण उद्धार र राहतमा देखिएको कठिनाइ कम गर्न सेनाले इन्जिनियरिङ जनशक्ति परिचालन गरेको जनाएको छ ।
नौ हजारभन्दा बढी सैनिक परिचालन
भोटेकोशी बाढीबाट प्रभावित रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन हुँदै नवलपरासी पूर्वसम्म नेपाली सेनाका नौ हजार ३०० भन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन भएका छन् । उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारलगायत कार्य गरिरहेका छन् ।
रसुवाको मैलुङदेखि स्याफ्रुबेँसीसम्मको क्षेत्रमा सैनिक टोलीले पैदल गस्ती सुरु गरेको र जोखिमयुक्त तथा पहुँच कठिन क्षेत्रमा पैदलै पुगेर सम्भावित पीडितको खोजी गर्ने, अवस्थाको मूल्याङ्कन गर्ने र आवश्यक उद्धार तथा राहत कार्य अगाडि बढाउने काम भइरहेको छ ।
बाढीपछि सञ्चालन गरिएको उद्धार अभियान अब नदी र बस्तीमा मात्र सीमित नभई जलविद्युत् आयोजनाका सुरुङ, पावरहाउस, अवरुद्ध सडक, पुल तथा पहिरोले ढाकिएका क्षेत्रमा समेत खोज तथा उद्धार विस्तार गरिएको सैनिक प्रवक्ता बस्नेतले बताउनुभयो ।

तपाईको प्रतिक्रिया