
काठमाडौँ विश्वविद्यालय (केयु) स्थापना भएको तीन दशकभन्दा बढी समय बितिसकेको छ। यस अवधिमा विश्वविद्यालयले हजारौँ दक्ष जनशक्ति उत्पादन गरेको छ, जसले नेपाल र विश्वका विभिन्न क्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन्। तर आफ्नै विश्वविद्यालयमा अध्ययन गरेर, त्यहीँ अध्यापन गर्दै र अन्ततः विश्वविद्यालयको सर्वोच्च कार्यकारी नेतृत्वमा पुग्ने अवसर भने बिरलै व्यक्तिले पाउँछन्। यही दुर्लभ उपलब्धि हासिल गर्ने व्यक्तिका रूपमा प्राध्यापक डा. विवेक बराल स्थापित हुनुभएको छ।
हालै काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा नियुक्त हुनुभएका बराल विश्वविद्यालयकै उत्पादन हुनुहुन्छ। उहाँले विद्यार्थीका रूपमा आफ्नो यात्रा सुरु गर्नुभएको थियो। त्यसपछि शिक्षक, विभागीय नेतृत्व हुँदै विश्वविद्यालयको समग्र नेतृत्व सम्हाल्ने जिम्मेवारीमा पुग्नुभएको छ। यसले उहाँको व्यक्तिगत सफलतालाई मात्र होइन, विश्वविद्यालयभित्रैबाट नेतृत्व विकास हुनसक्ने सम्भावनालाई पनि उजागर गरेको छ।
बराल २०५२ सालमा काठमाडौँ विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ कार्यक्रममा भर्ना हुनुभएको थियो। त्यतिबेला विश्वविद्यालयको इन्जिनियरिङ संकाय नयाँ चरणमा थियो र उहाँ त्यस संकायको दोस्रो ब्याचका विद्यार्थीमध्ये एक हुनुहुन्थ्यो। चार वर्षको अध्ययनपछि उहाँले २०५६ सालमा स्नातक तह पूरा गर्नुभयो।
सामान्यतः उच्च शिक्षा पूरा गरेपछि विद्यार्थीहरू विभिन्न उद्योग, अनुसन्धान संस्था वा विदेशतर्फ करिअर खोज्न अग्रसर हुन्छन्। तर बरालले आफ्नै विश्वविद्यालयमा अध्यापनलाई रोज्नुभयो। स्नातक तह पूरा गरेकै वर्षदेखि उहाँले काठमाडौँ विश्वविद्यालयमा प्राध्यापन सुरु गर्नुभयो। यही निर्णयले उहाँको जीवनको मार्गचित्र निर्धारण गर्यो।
विद्यार्थीबाट शिक्षक बनेका बरालले विश्वविद्यालयमा निरन्तर योगदान दिँदै प्राध्यापकसम्मको यात्रा पूरा गर्नुभयो। विश्वविद्यालयकै विद्यार्थी भएर सोही संस्थामा प्राध्यापक बन्ने पहिलो व्यक्ति बन्ने रेकर्ड पनि उहाँकै नाममा छ। अहिले उपकुलपतिमा नियुक्त भएसँगै उहाँ काठमाडौँ विश्वविद्यालयमा अध्ययन गरी सोही विश्वविद्यालयको उपकुलपति बन्ने पहिलो व्यक्ति बन्नुभएको छ।
शिक्षा र अनुसन्धानप्रतिको रुचिले उहाँलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयसम्म पुर्यायो। स्नातक अध्ययनपछि उहाँले जापानको प्रतिष्ठित टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर तह पूरा गर्नुभयो। त्यसपछि न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट विद्यावारिधि (पिएचडी) हासिल गर्नुभयो।
उहाँको अनुसन्धान तथा विशेषज्ञताको क्षेत्र इन्धन तथा ऊर्जा, दहन विज्ञान, वातावरणीय प्रदूषण, थर्मोफ्लुइड इन्जिनियरिङ तथा कम्प्युटेसनल फ्लुइड डाइनामिक्सजस्ता आधुनिक र बहुआयामिक विषयमा केन्द्रित छ। यी क्षेत्रहरू आज विश्वव्यापी रूपमा ऊर्जा संकट, जलवायु परिवर्तन र दिगो विकाससँग प्रत्यक्ष सम्बन्धित मानिन्छन्।
विदेशी विश्वविद्यालयबाट उच्च अध्ययन पूरा गरे पनि बरालले आफ्नो ज्ञान र अनुभवलाई नेपालमै प्रयोग गर्ने बाटो रोज्नुभयो। उहाँ पुनः काठमाडौँ विश्वविद्यालयमै फर्किनुभयो र अध्यापन तथा अनुसन्धानमा सक्रिय रहनुभयो। यसले उहाँलाई केवल शिक्षकका रूपमा मात्र होइन, अनुसन्धानकर्ता र शैक्षिक नेतृत्वकर्ताका रूपमा पनि स्थापित गरायो।
उपकुलपतिमा नियुक्तिपछि गोरखापत्रसँगको कुराकानीमा बरालले विश्वविद्यालयलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँका अनुसार विश्वविद्यालयको प्राज्ञिक, आर्थिक तथा प्रशासनिक गतिविधिलाई थप प्रभावकारी बनाउनु अहिलेको मुख्य चुनौती हो।
“पढाइ र रोजगारीको हिसाबले त विश्वविद्यालयमा विभिन्न रेकर्ड राखिएको छ। अब कामको हिसाबले पनि विश्वविद्यालयलाई थप उचाइमा पुर्याउन केही नयाँ गर्ने योजना छ,” उहाँले भन्नुभयो।
उहाँले विश्वविद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी, पूर्वविद्यार्थी तथा अन्य सरोकारवालासँग संवाद र सहकार्यलाई प्राथमिकता दिने बताउनुभएको छ। उच्च शिक्षाको क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, अनुसन्धानको आवश्यकता र अन्तर्राष्ट्रियकरणको चुनौतीलाई मध्यनजर गर्दै विश्वविद्यालयलाई अझ सशक्त बनाउने उहाँको लक्ष्य रहेको छ।
बरालको नियुक्ति प्रक्रिया पनि प्रतिस्पर्धात्मक थियो। गत जेठ १९ गते बसेको विश्वविद्यालयको सिनेट बैठकले उपकुलपति छनोट तथा सिफारिस समिति गठन गरेको थियो। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठित समितिमा राष्ट्रिय योजना आयोगकी सदस्य रेशु अर्याल ढुङ्गाना तथा विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा सदस्य रहनुभएको थियो।
उपकुलपति बन्न आवेदन दिएका विभिन्न व्यक्तिमध्येबाट समितिले बरालसहित १० जनाको नाम सङ्क्षिप्त सूचीमा समावेश गरेको थियो। त्यसपछि विश्वविद्यालय सुधारसम्बन्धी कार्ययोजना प्रस्तुति र अन्तर्वार्ताका आधारमा तीन जनाको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरिएको थियो। अन्ततः बराल उपकुलपतिमा नियुक्त हुनुभयो।
शुक्रबार उहाँले विश्वविद्यालयका सहकुलपतिसमेत रहनुभएका शिक्षा तथा खेलकुदमन्त्री पोखरेलबाट नियुक्तिपत्र ग्रहण गर्नुभयो। यससँगै विश्वविद्यालयको नेतृत्वमा नयाँ अध्याय सुरु भएको छ।
बरालको यात्रा केवल व्यक्तिगत उपलब्धिको कथा मात्र होइन। यो नेपाली उच्च शिक्षामा अवसर, समर्पण र संस्थाप्रतिको निष्ठाको उदाहरण पनि हो। विद्यार्थीका रूपमा प्रवेश गरेको संस्था नै जीवनको कर्मथलो बन्नु र अन्ततः त्यही संस्थाको सर्वोच्च नेतृत्व सम्हाल्नु कुनै सामान्य उपलब्धि होइन।
काठमाडौँ विश्वविद्यालयका हजारौँ विद्यार्थीका लागि बरालको यात्रा प्रेरणाको स्रोत बनेको छ। आफ्नै विश्वविद्यालयमा अध्ययन गरेर, त्यहीँ सेवा गर्दै र अन्ततः नेतृत्वमा पुग्न सकिन्छ भन्ने सन्देश उहाँको जीवनले दिएको छ। अब उहाँको नेतृत्वमा विश्वविद्यालयले कस्तो नयाँ दिशा लिन्छ भन्ने विषय शैक्षिक क्षेत्रको चासो र अपेक्षाको केन्द्र बनेको छ।

तपाईको प्रतिक्रिया