सभ्य समाज निर्माणमा शिक्षा


शिक्षणमा बालबालिकाको विकासात्मक चरणमा आउने परिवर्तनबारे जानकारी हुनु पर्छ । शिक्षण मनोविज्ञानका अनुसार बालकको जन्मदेखि मृत्युसम्म विभिन्न विकासात्मक चरण हुन्छन् । बाल्यावस्था, यौवनावस्था, किशोरावस्था र प्रौढावस्थालाई प्रमुख रूपमा लिइन्छ । वृद्धि, विकास र परिपक्वता शिक्षा र शिक्षणका आधार बन्नु पर्छ । वृद्धि भन्नाले वालकको शारीरिक आकार तथा संरचनामा देखा पर्ने परिवर्तनलाई भनिन्छ । उचाइ, मोटाइ र तौल तथा शरीरका बाहिरी र भित्री भागमा आउने आकारगत बढोत्तरी नै वृद्धि हो । वृद्धि जन्मेदेखि किशोरावस्थासम्म तीव्र गतिमा हुन्छ । वृद्धिले संरचनात्मक र शारीरिक परिवर्तनलाई बुझाउँछ ।

विकास भन्नाले मानिसको शरीरमा मानसिक, संवेगात्मक, नैतिक र भाषागत व्यवहारमा आउने गुणात्मक परिवर्तनलाई बुझाउँछ । मानव शरीरमा आउने गुणात्मक र परिमाणात्मक परिवर्तनलाई विकास भनिन्छ । विकासले परिपक्वता र अनुभवको परिणामस्वरूप आउने प्रगतिशील क्रमिक परिवर्तनलाई बुझाउँछ । विकासलाई परिष्कार र उन्नत विशेषताद्वारा पहिचान गरिन्छ । परिपक्वता भन्नाले व्यक्तिमा अन्तर्निहित कार्यशक्ति वा कार्यक्षमता हो । यो उमेर अनुसार प्राप्त हुने अनुभव वा बौद्धिक क्षमता हो । यो परिमाणात्मक वृद्धि र गुणात्मक विकास दुवैमा आधारित हुन्छ । परिपक्वताले नै व्यक्तिको शारीरिक, मानसिक, बौद्धिक, नैतिक, संवेगात्मक र क्रियात्मक पक्षको पहिचान गर्छ । क्रमशः क्रियात्मक सक्षमता प्राप्त हुँदै जान्छ ।

प्रत्येक चरणमा देखा पर्ने वृद्धि, विकास र परिपक्वताका लक्षण अनुसार विद्यार्थीलाई व्यवहार गर्ने, क्षमता पहिचान गर्ने र सोही अनुसार शिक्षण तथा मार्गदर्शन गर्न सक्ने शिक्षक नै सफल शिक्षक मानिन्छन् । शिक्षक त एउटा योजनाकार हुन्, जसले एउटा मञ्च तयार गरिदिनु पर्छ, जहाँ विद्यार्थी खेलेर, रमेर सिक्न सकून् । शिक्षक प्राध्यापकले शिक्षार्थीको क्षमता पहिचान गर्ने, प्रस्फुटन गर्ने र भावी जीवनलाई मार्गदर्शन गर्ने सिप तथा कार्यदक्षता प्राप्त गरेर मात्र शिक्षण पेसा अँगाल्न सके मात्र समाज, राष्ट्र र विश्वजगत्मा समायोजन हुन सक्ने जनशक्ति उत्पादन गर्न सकिन्छ । शिक्षाले जीवन जिउने कला सिकाउन अतिरिक्त संस्कार सिकाउनु पर्छ, मूल्य सिकाउनु पर्छ । सकारात्मक सोचको विकास गराउनु पर्छ । अब कुरा आउँछ किन शिक्षित जनशक्तिमा मूल्यको अभाव हुन थाल्यो त ?

एउटा उल्लेख गर्नपर्ने विषय के छ भने नेपालमा हाम्रा गुरुकुलीय शिक्षा पद्धतिबाट गुरु र चेलाबिच घनिष्ट सम्बन्ध स्थापित गराएर ज्ञानका अलावा अनुशासन पनि एकसाथ सिकाइन्थ्यो र समग्र मानव निर्माण, जीवनमूल्यको व्यावहारिक शिक्षण गरिन्थ्यो । स्थानीय भाषा, संस्कृतिको प्रवर्धन गर्दै, रैथाने ज्ञान सिपलाई उजागर गरेर परिष्कृत गर्दै आफ्नै माटोपानी सुहाउँदो ज्ञान र सिप सिकाउने पद्धतिको विकास गरेर जीवन मूल्यको महसुस गराइन्थ्यो । भाषा हरायो भने सभ्यता नै हराउँछ भनिन्छ । सभ्यता हरायो भने संस्कृति अनि संस्कार पनि हराउँछ । पहिचान नै हराउँछ । पश्चिमा शैक्षिक दर्शनको नक्कल गर्दै बालकेन्द्रित शिक्षण पद्धतिको नाममा मानव अधिकारको सिद्धान्तबाट मात्र चल्दा दण्डहीनताको विकास भयो । बालअधिकारका नाममा स्थापित विद्यालयले बालकलाई अधिकार सिकाउँदा कर्तव्य सिकाउन भुले । स्वतन्त्रताको पाठ पढाए तर जिम्मेवारीको पाठ छोडे । आफ्नो अभिव्यक्तिको महìव बताए तर अरूको अभिव्यक्तिको सम्मान गर्न सिकाएनन् ।

बालकले ज्ञानको प्राप्ति, जीविकासम्बन्धी सिप विकास, आफ्नो अधिकार प्राप्तिका लागि सजग र समाज तथा जगत्प्रति गर्नुपर्ने कर्तव्य अर्थात् समग्र ज्ञान, सिप र अभिवृत्ति कार्यान्वयन गर्न सक्ने कार्यदक्षता प्राप्ति शिक्षाले दिन सक्नु पर्छ । व्यक्तिले शिक्षा, मूल्य, संस्कार, संस्कृति, अनुशासन र उत्कृष्टता हासिल गर्नु पर्छ । व्यक्तिको शारीरिक, मानसिक, बौद्धिक, आध्यात्मिक तथा नैतिक पक्षको विकासमा सहयोग पु¥याउनु पर्छ । मानिसमा रहेका अन्तर्निहित क्षमतालाई पूर्ण रूपमा प्रकाशमा ल्याउन सक्नु नै शिक्षा हो । शिक्षालाई ज्ञानसँग जोड्नु पर्छ । विद्यार्थीमा उच्च विचार, सादा जीवन शैली विकास गर्नु पर्छ, जसले व्यक्तिलाई जीवन सार्थक बनाउन मद्दत गर्छ । लगनशीलता, इमानदारी, स्वच्छ विचार, माटोप्रतिको श्रद्धा र आफ्नो धरती नबिर्सिने शिक्षा हुनु पर्दथ्यो । आफ्नो संस्कार र संस्कृति नबिर्सिएका मानिसलाई संसारमा सम्मानित हुन्छन् । सफलता हात पार्ने व्यक्तिको सङ्कल्प, सङ्घर्ष तथा अथक परिश्रम आवश्यक पर्छ भने मानवीय पक्षलाई ध्यान दिएर निर्णय गर्न सक्ने बनाउनु पर्छ । शिक्षा सार्वजनिक हुनु पर्छ । यसले असमानतालाई हटाउँछ । शिक्षाले मिलनसार समाज बनाउन मद्दत गर्नु पर्छ । समाजमा केटाकेटीसँगै घुलमिल हुने गरी सार्वजनिक शिक्षामा सुधार गर्नु पर्छ ।

किताबका कुराभन्दा छलफल, प्रयोग, अनुसन्धान र अनुभवलाई प्राथमिकता दिएर, बायाँ र दायाँ मस्तिष्कलाई एकैसाथ सक्रिय बनाउने क्रियाकलाप गराएमा परिकल्पना र सिर्जना गर्न मद्दत पुग्छ । बायाँ मस्तिष्कले सूचना प्राप्त गर्ने अर्थात् ज्ञानपक्षलाई ग्रहण गर्छ भने दायाँ मस्तिष्कले परिकल्पना र सिर्जनात्मक पक्षलाई विकास गर्न मद्दत गर्छ चैतन्यमुखी वा भित्रैदेखि जागृत गराउने, जीवन र जगत्का लागि भविष्य द्रष्टा बन्ने शिक्षाको वातावरण बनाउनु पर्छ । त्रिभुजीय शिक्षा अर्थात् मानवीय शिक्षा, दक्षतामा आधारित वैज्ञानिक शिक्षा, र चैतन्य शिक्षाको समग्रतालाई विकास गर्ने शिक्षाको वातावरण बनाउनु पर्छ ।

बालकलाई शिक्षा प्रदान गर्दा नकारात्मक र दमनात्मक दृष्टिकोणको वातावरण बदल्नु पर्छ । स्वप्नद्रष्टा विद्यार्थी तयार गर्नु पर्छ । नयाँ नयाँ खोज र अनुसन्धान गर्ने स्वभाव प्रदान गर्ने वातावरण बनाउनु पर्छ । मानिसको सबैभन्दा ठुलो शक्ति उसको विचार र ऊभित्रको जीवनजगत्प्रतिको इच्छाशक्ति हो । दण्ड, नकारात्मकता र अपशब्द त्यागेर सकारात्मक र स्याबासी दिने वातावरण बनाउनु पर्छ । विद्या भनेको शील, विवेक र प्रज्ञा रहेछ । सुसंस्कृत, सभ्य र सकारात्मक चेतनाले सुसज्जित मानवताको निर्माण गर्नु पर्छ । जड र पत्थर जस्तो मनले मानता देख्दैन । जागृत मनले मानवता देख्छ । मन र मुटु जगाउने मानवतावादी शिक्षा जहाँ प्रेम, सद्भाव हुन्छ । आनीबानी र संस्कारमा परिवर्तन हुन्छ । कर्तव्य र जिम्मेवारी लिन्छ । बाठो मात्र होइन, चरित्रवान् बनाउँछ ।

हिजोआज बजारमुखी अर्थात् आर्थिक अवस्थालाई मात्र ध्यान दिएर पाठ्यक्रम बनाउने होडबाजी चलेको छ । यसले मानिसको क्षितिजलाई अँध्यारो बनाउँछ । जीवनलाई सन्तुलित रूपमा अगाडि बढाउन मानिसले आर्थिक अवस्थाका साथै पारिवारिक, शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक पक्षलाई समेत बिर्सनु हँुदैन । स्वस्थ शरीरमा स्वस्थ मन, खुसी र प्रसन्नता, चेतनाको स्तर माथि उठाउनु, आफ्नो अस्तित्व र स्थान पत्ता लगाउनु, मान, प्रतिष्ठा, पहिचानको स्तर बढाउने शिक्षा समाजले चाहेको हो । सुखदुःखमा साथ र हाँसोखुसी बाँड्ने तथा नैतिक, इमान्दार र निष्ठापूर्ण जीवन जीउन प्रेरित गर्ने, मूल्यमा आधारित जीवन बाँच्न पे्ररित गर्ने शिक्षाको आवश्यकता छ । सम्पत्ति आर्जन गर्ने शिक्षाले खुसी, प्रसन्नता र शान्ति प्राप्त गर्न सक्दैन ।

ज्ञान, सिप, अभिवृत्ति तथा क्षमताको समग्र विकास गरी आमाबाबुलाई माया गर्ने, इष्टमित्र मान्यजनप्रति उच्च सम्मान गर्ने, आफ्नो संस्कृति, संस्कारलाई माया गर्ने, सुसंस्कृत, सभ्य र सकारात्मक चेतनाको विकास गर्दै नैतिक, इमानदार, निष्ठावान् र स्वदेशलाई माया गर्ने आदर्श नागरिक तयार गर्ने शिक्षा र शिक्षण पद्धति स्थापित गर्ने पाठ्यक्रम निर्माण गर्नु आजको आवश्यकता हो । आजको बौद्धिक पलायनको भयावह स्थिति पनि मानव मूल्य र सकारात्मक सोचको अभावकै कारण भएको हो । नीतिनिर्माता, योजनाकार, पाठ्यक्रम निर्माता, शैक्षिक प्रशासक, शिक्षक, शिक्षाप्रेमी तथा समाजसेवी सम्पूर्णको ध्यान मानव मूल्यमा आधारित सकारात्मक सोचको विकास गर्ने शिक्षातर्फ जानु पर्छ ।

तपाईको प्रतिक्रिया