
काठमाडौँ, साउन १२ गते । मनसुनका बेला बाढी, पहिरो र डुबानलाई मुख्य विपद्का रूपमा हेरिने गरिए पनि यस वर्ष नेपालमा सबैभन्दा धेरै ज्यान लिने विपद् सर्पदंश बनेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख १ गतेदेखि साउन १० गतेसम्म सर्पदंशका ६६१ घटना भएका छन् । ती घटनामा ५३ जनाको मृत्यु भएको छ भने ५७२ जना घाइते भएका छन् । यस अवधिमा ६२२ परिवार प्रभावित बनेका छन् ।
प्राधिकरणको तथ्याङ्कअनुसार सोही अवधिमा चट्याङ लागेर २५ जनाको मृत्यु भएको छ भने लेक लागेर २१, आगलागीबाट १९, जनावरको आक्रमणबाट १७, पहिरोबाट १६ र बाढीबाट १३ जनाले ज्यान गुमाएका छन् । यसले मनसुनी विपद्मध्ये सर्पदंश सबैभन्दा घातक बनेको देखाएको छ ।
मनसुन सुरु भएसँगै तराई तथा भित्री मधेसका जिल्लामा सर्पदंशका घटना उल्लेख्य रूपमा बढ्ने गरेका छन् । खेतबारीमा काम गर्ने किसान, घाँस–दाउरा सङ्कलन गर्ने, पशुपालनमा संलग्न तथा ग्रामीण बस्तीमा बसोबास गर्ने नागरिक बढी जोखिममा पर्ने गरेका छन् ।
चितवनको जमुनापुरकी विमला ढकाल वर्षायाममा खेतमा काम गर्न जाँदा सर्पको डर सधैँ रहने बताउनुहुन्छ । “काम नगरी हुँदैन, तर खेतमा जाँदा सर्प कतिबेला भेटिन्छ भन्ने चिन्ता भइरहन्छ,” उहाँले भन्नुभयो ।
बाराको सिम्रौनगढ नगरपालिका–२ का सुनिल यादवले वर्षायाममा बालबालिकाको सुरक्षाप्रति झन् बढी चिन्ता हुने बताउनुभयो । उहाँका अनुसार रातिको समयमा शौचालय बाहिर जानुपर्ने अवस्था, खेतमा सिँचाइका लागि पुग्नुपर्ने बाध्यता र झाडी तथा आलीमा सर्पको उपस्थिति जोखिमका प्रमुख कारण हुन् ।
प्राधिकरणका सहसचिव प्रदीपकुमार कोइरालाले सर्पदंश अहिले जनस्वास्थ्यको गम्भीर समस्याका रूपमा देखिएको बताउनुभयो । उहाँले सर्पदंश न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि र सम्बन्धित निकायबीच समन्वयलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो ।
प्राधिकरणको तथ्याङ्कअनुसार सर्पदंशबाट महिलाहरू बढी प्रभावित भएका छन् । २०७४ देखि २०८३ सम्म सर्पदंशका एक हजार २१८ घटना दर्ता हुँदा २५९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये १३२ महिला र १२१ पुरुष रहेका छन् । घाइतेमध्ये पनि महिलाको सङ्ख्या बढी रहेको छ ।
ग्रामीण क्षेत्रमा महिलाहरू खेतबारी, पशुपालन तथा घरायसी काममा बढी संलग्न हुने भएकाले उनीहरू जोखिममा पर्ने गरेको प्राधिकरणले जनाएको छ ।
यसैबीच प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सर्पदंशका घटना न्यूनीकरण गर्न सर्पको वासस्थान र आवतजावत हुने क्षेत्रबारे अध्ययन सुरु गरिने बताउनुभएको छ । अध्ययनका आधारमा जोखिमयुक्त क्षेत्र पहिचान गरी स्थानीय तहसँग समन्वय गरेर उद्धार तथा व्यवस्थापन प्रणाली विकास गरिने उहाँको भनाइ छ ।
वीर अस्पतालका विष विशेषज्ञ डा. सुनिल विश्वकर्माले मनसुन सुरु भएसँगै सर्पदंशका बिरामीको सङ्ख्या बढ्ने गरेको बताउनुभयो । उहाँका अनुसार हाल दैनिक औसत चार जना सर्पदंशका बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् ।
उहाँले सर्पले टोकेपछि धामीझाँक्रीकोमा जाने, घाउ काट्ने, विष चुस्ने वा कसिलो डोरी बाँध्ने जस्ता परम्परागत अभ्यासले बिरामीको अवस्था जटिल बनाउने भएकाले त्यस्ता कार्य नगर्न आग्रह गर्नुभयो ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका विशेषज्ञ डा. मिलन बज्राचार्यले सर्पदंशलाई चिकित्सा आपत्कालीन अवस्था मान्दै सकेसम्म छिटो स्वास्थ्य संस्थामा पुग्नुपर्ने बताउनुभयो । “समयमै उपचार पाए अधिकांश बिरामीको ज्यान बचाउन सकिन्छ,” उहाँले भन्नुभयो ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले रातिको समयमा टर्च प्रयोग गर्ने, खेतबारीमा बुट र लामो कपडा लगाउने, घर वरिपरिका झाडी सफा राख्ने, मुसा नियन्त्रण गर्ने तथा भुइँमा सुत्नुभन्दा खाटमा सुत्ने बानी बसाल्न सुझाव दिएको छ ।
स्वास्थ्य विज्ञहरूका अनुसार उपचारमा ढिलाइ, अन्धविश्वास र स्वास्थ्य सेवामा ढिलो पहुँचका कारण नेपालमा सर्पदंश अझै पनि ग्रामीण क्षेत्रको प्रमुख जनस्वास्थ्य चुनौतीका रूपमा रहेको छ।

तपाईको प्रतिक्रिया