
हरि शरण दंगाल
म किसान हुँ। मेरो जीवन माटोसँग गाँसिएको छ। खेतबारीमा पसिना बगाएर उत्पादन गर्ने र त्यही उत्पादन बेचेर परिवार पाल्ने मेरो दैनिकी हो। बनेपा नगरपालिका–३ मा रहेको करिब १८–२० रोपनी जग्गामा वर्षौंदेखि मकै तथा अन्य बाली लगाउँदै आएको छु। तर यस वर्ष मैले भोगेको पीडा केवल मल अभावको कथा होइन, यो किसानमाथि भएको विभेद, झुट र अन्यायको कथा हो।
मकैको बोट हुर्किँदै थियो। उत्पादन राम्रो होस् भनेर समयमै मल हाल्ने तयारीमा थिएँ। हाम्रो वडामा सहकारीमार्फत रासायनिक मल वितरण हुने भएकाले आवश्यक मल पाइन्छ भन्ने विश्वास थियो। तर त्यो विश्वास क्रमशः निराशामा बदलिँदै गयो।
मैले मलका लागि पटक–पटक अनुरोध गरेँ। एक दिन होइन, दुई दिन होइन, लगातार दुई–तीन महिनासम्म सम्बन्धित व्यक्तिलाई भेटेर मल उपलब्ध गराइदिन आग्रह गरिरहेँ। हरेकपटक एउटै जवाफ सुनिन्थ्यो—“मल आएको छैन, आएपछि दिन्छौँ।”
म किसान थिएँ, त्यसैले त्यो जवाफ विश्वास गर्थें। तर समय बित्दै जाँदा गाउँका अन्य व्यक्तिहरूले दुई, तीन र चार बोरासम्म मल लगेको खबर सुन्न थालेँ। त्यसपछि मनमा शङ्का पैदा भयो। यदि मल आएको छैन भने अरूले कसरी पाए?
सत्य पत्ता लगाउन म आफैं लागेँ। अन्ततः मल मौज्दात रहेको जानकारी पाएँ। फेरि मल माग्न जाँदा पनि उही जवाफ आयो—“अहिले पनि मल आएको छैन।” त्यो क्षण मलाई महसुस भयो, म केवल मलबाट होइन, सत्यबाट पनि वञ्चित पारिँदै छु।
अन्ततः म आफैं गोदाममा पुगेँ। त्यहाँ मल थियो। आफ्नै आँखाले देखेँ। भिडियो प्रमाणसमेत सुरक्षित राखेँ। जब मैले गोदाममा मल हुँदाहुँदै किन झुट बोलियो भनेर प्रश्न गरेँ, त्यसपछि मात्र “१० केजी लैजानुस्” भनियो। तर त्यतिबेलासम्म ढिलो भइसकेको थियो। मकैमा मल हाल्ने सबैभन्दा महत्वपूर्ण समय बितिसकेको थियो।
कृषिमा समय नै सबैथोक हो। समयमै हालिएको मलले उत्पादन बढाउँछ, ढिलो हालिएको मलले किसानको आशा घटाउँछ। मेरो खेतमा पनि त्यही भयो। करिब १८–२० रोपनी क्षेत्रफलमा लगाइएको मकैबाली प्रभावित भयो। मैले गरेको लगानी उठ्ने सम्भावना कमजोर बन्यो। वर्षभरिको मेहनत र आशा एकाएक संकटमा परे।
आर्थिक क्षति त गणना गर्न सकिन्छ, तर किसानको मानसिक पीडा कसरी नाप्ने? आफ्नो आँखाअघि बाली बिग्रँदै गएको देख्दा मनमा उठ्ने पीडाको कुनै मापन हुँदैन। खेतमा उम्रिएको प्रत्येक बोटसँग किसानको सपना जोडिएको हुन्छ। जब त्यो सपना अन्यायका कारण ओइलाउँछ, किसान भित्रभित्रै टुट्न थाल्छ।
मैले यस विषयमा बनेपा नगरपालिकाको कृषि शाखामा पनि गुनासो राखेँ। निष्पक्ष छानबिन र न्यायको अपेक्षा गरेँ। तर आजसम्म कुनै ठोस परिणाम देख्न पाएको छैन। मेरो गुनासो कागजमा सीमित भएको अनुभूति भइरहेको छ।
आज म एउटा किसानका रूपमा प्रश्न गर्न चाहन्छु—यदि किसानले समयमै मलसमेत पाउँदैन भने खेती गरेर कसरी बाँच्ने? यदि पहुँच हुनेले धेरै बोरा मल पाउने र वास्तविक आवश्यकता भएका किसानले खाली हात फर्किनुपर्ने हो भने कृषि प्रणालीप्रति कसरी विश्वास गर्ने?
देशमा कृषि आत्मनिर्भरता, उत्पादन वृद्धि र किसानमैत्री नीति निर्माणका कुरा धेरै हुन्छन्। तर व्यवहारमा किसानले भोग्ने यस्ता विभेदपूर्ण घटना रोक्न नसकिए ती सबै नारा मात्रै बन्नेछन्। किसानलाई सम्मान गर्ने हो भने उसको पसिनाको मूल्य बुझ्नुपर्छ। सेवा वितरणमा समानता सुनिश्चित गर्नुपर्छ।
मेरो यो पीडा केवल व्यक्तिगत गुनासो होइन। यो किसानको सम्मान, अधिकार र न्यायसँग जोडिएको विषय हो। आज मलाई भएको अन्याय भोलि अर्को किसानलाई नहोस् भन्ने मेरो चाहना हो। त्यसैले सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्छ, पीडित किसानको क्षतिको मूल्याङ्कन गर्नुपर्छ र भविष्यमा यस्ता घटना दोहोरिन नदिने व्यवस्था गर्नुपर्छ।
किसानले देशलाई अन्न दिन्छ। तर किसानले न्याय कहिले पाउँछ? यो प्रश्नको उत्तर खोज्ने जिम्मेवारी अब सम्बन्धित निकायको हो।

तपाईको प्रतिक्रिया