
सडक यातायात कुनै पनि आधुनिक समाजको गतिशीलताको प्रमुख आधार हो। मानिस, वस्तु र सेवाको सहज आवागमनले मात्र आर्थिक, सामाजिक र सांस्कृतिक गतिविधिलाई गति दिन्छ। तर, यातायात प्रणालीको प्रभावकारिता केवल सडक, सवारीसाधन वा पूर्वाधारमा मात्र निर्भर हुँदैन; त्यसको सफलता ट्राफिक अनुशासनको स्तरमा पनि आधारित हुन्छ। अनुशासनविना कुनै पनि क्षेत्रमा लक्ष्य हासिल गर्न नसकिने जस्तै सडक यातायातमा पनि अनुशासन नै सुरक्षाको पहिलो सर्त हो।
नेपालमा सडक दुर्घटना अझै पनि गम्भीर सार्वजनिक चुनौतीका रूपमा रहेको छ। लेन उल्लङ्घन, रातो बत्तीको अवज्ञा, एकतर्फी सडकमा उल्टो दिशा प्रयोग, हेल्मेटबिनाको मोटरसाइकल यात्रा तथा निषेधित स्थानमा सवारी मोड्ने जस्ता गतिविधिले दुर्घटनाको जोखिम बढाइरहेका छन्। अझ केही युवाले मोटरसाइकलमा अनधिकृत परिवर्तन गरी ठूलो आवाज निकाल्ने प्रवृत्तिले सडक सुरक्षालाई थप चुनौतीपूर्ण बनाएको छ। ट्राफिक नियम उल्लङ्घन केवल कानुनी विषय मात्र होइन, यो मानव जीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील प्रश्न हो। एक व्यक्तिको लापरबाहीले आफ्नै मात्र होइन, अरू निर्दोष नागरिकको ज्यानसमेत जोखिममा पर्न सक्छ।
पछिल्ला वर्षमा ट्राफिक अनुशासन कार्यान्वयनमा प्रविधिको प्रयोग उल्लेखनीय रूपमा बढेको छ। स्वचालित नम्बर प्लेट पहिचान प्रणाली (एएनपिआर), सिसिटिभी निगरानी तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर र भिडियोको आधारमा नियम उल्लङ्घनकर्तालाई कारबाही गर्ने व्यवस्था प्रभावकारी बन्दै गएको छ। काठमाडौँ उपत्यकाको तथ्याङ्कले ट्राफिक नियम उल्लङ्घनको अवस्था अझै चिन्ताजनक रहेको देखाउँछ। आर्थिक वर्ष २०८०/८१ मा एएनपिआर प्रणालीमार्फत पाँच हजार ८६३ सवारीसाधन कारबाहीमा परेका थिए। यो सङ्ख्या २०८१/८२ मा बढेर १० हजार ३५० पुगेको छ भने चालु आर्थिक वर्षको असार २० सम्म १५ हजार ८५४ चालक कारबाहीमा परिसकेका छन्। यी तथ्याङ्कले प्रविधिको पहुँच बढेको मात्र होइन, ट्राफिक अनुशासनप्रतिको बेवास्ता अझै व्यापक रहेको पनि संकेत गर्छन्।
विश्वका विकसित मुलुकहरूले ट्राफिक व्यवस्थापनमा कृत्रिम बौद्धिकता (एआई) सहितका आधुनिक प्रविधिको प्रयोगलाई तीव्रता दिएका छन्। स्मार्ट ट्राफिक लाइट, डिजिटल निगरानी प्रणाली र स्वचालित सिग्नल व्यवस्थापनले सडक सुरक्षासँगै ट्राफिक जाम नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेका छन्। नेपालले पनि यस्ता प्रविधिको विस्तार गर्दै लैजानु आवश्यक छ। तर, प्रविधि मात्र समाधान होइन। कारबाही बढाउँदै जानुभन्दा नागरिकमा स्वअनुशासन र जिम्मेवारीबोध विकास गर्नु अझ महत्वपूर्ण हुन्छ। नियम पालना गर्ने संस्कृतिको विकास भए मात्र दीर्घकालीन सुधार सम्भव हुन्छ।
सडक सुरक्षाको अर्को महत्वपूर्ण पक्ष सवारीसाधनको प्राविधिक अवस्था पनि हो। हेडलाइट बिग्रिएका, वाइपर नचल्ने, ह्यान्डब्रेक निष्क्रिय भएका तथा अत्यधिक धुवाँ फाल्ने सवारीसाधन सडकमा सञ्चालन भइरहनु चिन्ताको विषय हो। यस्ता सवारीसाधनले दुर्घटनाको जोखिम मात्र होइन, वातावरणीय प्रदूषणसमेत बढाउँछन्। सम्बन्धित निकायले नियमित प्राविधिक परीक्षणलाई कडाइका साथ कार्यान्वयन गर्न आवश्यक छ।
विशेष गरी काठमाडौँ उपत्यकामा बढ्दो सवारी चापले ट्राफिक व्यवस्थापनलाई जटिल बनाइरहेको छ। सडक जामले नागरिकको बहुमूल्य समय नष्ट गरिरहेको छ। समय केवल व्यक्तिगत सम्पत्ति मात्र होइन, राष्ट्रिय उत्पादकता र विकाससँग जोडिएको स्रोत पनि हो। सडकमा अनावश्यक रूपमा बितेको समयले आर्थिक गतिविधिमा प्रत्यक्ष असर पार्छ। त्यसैले ट्राफिक अनुशासन केवल सुरक्षा मात्र होइन, विकास र सभ्यताको सूचक पनि हो।
सडक अनुशासनले कुनै पनि सहरको सामाजिक चेतना, व्यवस्थापकीय क्षमता र नागरिक संस्कृतिको प्रतिबिम्ब प्रस्तुत गर्छ। नेपालमा दुर्घटना न्यूनीकरण, सुरक्षित यात्रा सुनिश्चितता र प्रभावकारी यातायात व्यवस्थापनका लागि ट्राफिक अनुशासनलाई राष्ट्रिय प्राथमिकताका रूपमा स्थापित गर्न आवश्यक छ। प्रविधिको प्रयोग, कानुनी कडाइ, जनचेतना अभिवृद्धि र नागरिक स्वअनुशासनलाई सँगसँगै अगाडि बढाउन सके मात्र सुरक्षित, व्यवस्थित र सभ्य सडक संस्कृतिको निर्माण सम्भव हुनेछ।

तपाईको प्रतिक्रिया