बिपी राजमार्गमा ‘हाफ आवर रेस्पोन्स’ योजना

पटकपटकको बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा अब सडक अवरुद्ध भए आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने गरी तयारी गरिएको छ। वर्षायाममा सवारी आवागमन सहज बनाउन आवश्यक उपकरण तथा जनशक्ति तयारी अवस्थामा राखिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

कार्यालय प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ। केही दिनभित्रै अधिकांश स्थानमा पुनर्निर्मित ट्र्याकबाट सवारी सञ्चालन गरिनेछ।

“वर्षायामलाई मध्यनजर गर्दै सकेसम्म राजमार्ग अवरुद्ध हुन नदिने व्यवस्था मिलाइएको छ। कुनै कारणले सडक अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने तयारी गरेका छौँ,” उहाँले भन्नुभयो।

उहाँका अनुसार साविककै स्थानमा पुनर्निर्माण गरिएका अधिकांश सडकखण्डबाट हाल सवारी सञ्चालन भइरहेको छ। यसअघि रोशी खोलामा बनाइएका अस्थायी डाइभर्सनमा सवारी सञ्चालन गरिँदा खोलाको बहाव बढ्नेबित्तिकै सडक अवरुद्ध हुने समस्या थियो। अहिले भने स्थायी ट्र्याक निर्माणसँगै उक्त समस्या समाधान हुने अपेक्षा गरिएको छ।

चौकीडाँडादेखि कटुञ्जेबेँसी, लाष्कोट, चारसयबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना हुँदै पिप्लेसम्म पुरानै ट्र्याकबाट सवारी सञ्चालन भइरहेको छ। चौकीडाँडा, चारसयबेँसी, घुमाउनेबेँसी, बोक्सीकुना, चिउरीबास, कालढुङ्गा तथा पिप्ले–बर्खेखोला क्षेत्रलाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको कार्यालयले जनाएको छ।

विसं २०८१ असोजमा आएको बाढीपहिरोले भकुन्डेबेँसीदेखि नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा क्षति पु¥याएको थियो। त्यसपछि यातायात सञ्चालनका लागि रोशी खोलामा अस्थायी डाइभर्सन निर्माण गरिए पनि ती संरचना पटकपटक बाढीले बगाउने गरेको थियो।

क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि चार प्याकेजमा ठेक्का सम्झौता गरिएको छ। तीमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर सडक जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा पुनर्निर्माण भइरहेको छ। उक्त खण्डमा माटो भर्ने र ठूला ढुङ्गा राख्ने काम जारी छ।

कार्यालयका अनुसार पुनर्निर्माणपछि सडक दुई लेनको हुनेछ। हाल सञ्चालनमा रहेको पुलसँगै नयाँ पुल निर्माण गरिनेछ भने पाँचवटा पुललाई दुई लेनमा विस्तार गर्ने योजना छ।

कुल २९.५ किलोमिटर क्षतिग्रस्त सडकखण्डमध्ये बर्खेखोला–पिप्ले खण्ड पुनर्निर्माणका लागि जाइकाले दुई अर्ब ६३ करोड रुपियाँ बराबरको अनुदान उपलब्ध गराउने समझदारी भएको छ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ मा निर्माण सुरु भएको १६० किलोमिटर लामो धुलिखेल–सिन्धुली–बर्दिबास सडक अर्थात् बिपी राजमार्ग पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई काठमाडौँसँग जोड्ने छोटो दूरीको प्रमुख राजमार्गका रूपमा परिचित छ।

तपाईको प्रतिक्रिया