
काठमाडौं, असार २४ — योगमाया दिवसका अवसरमा आयोजित कार्यक्रममा यस वर्षको ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ अग्रज कथाकार माया ठकुरी लाई तथा ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ निनु चापागाईँ लाई समर्पण गरिएको छ।
नेपाल स्रष्टा समाज द्वारा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा दुवै सम्मान नगद ५० हजार १०१ रुपैयाँ तथा सम्मानपत्रसहित प्रदान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि रोचक घिमिरे ले सम्मान समर्पण गर्दै योगमायाले निरंकुशता र सामाजिक विकृतिविरुद्ध खेलेको भूमिका अतुलनीय रहेको बताए। उनले सम्मानका लागि योग्य व्यक्तित्व छनोट गरेर आयोजक संस्था स्वयं सम्मानित भएको उल्लेख गरे।
सोही अवसरमा योगमाया न्यौपानेबारे विभिन्न लेखकका लेख–रचनाको सङ्गालो ‘योगमाया : इतिहासदेखि वर्तमानसम्म’ नामक कृतिको पनि लोकार्पण गरिएको छ। कृतिका सम्पादक प्रदीप सापकोटा हुन्।
सम्मान ग्रहणपछि कथाकार माया ठकुरीले सम्मान प्राप्त गर्दा गौरव महसुस भएको बताइन्। उनले आफ्नो साहित्यिक यात्राका प्रारम्भिक दिनहरू स्मरण गर्दै यस सम्मानले थप ऊर्जा प्रदान गरेको धारणा व्यक्त गरिन्।
अर्की सम्मानित व्यक्तित्व निनु चापागाईँले योगमायाको योगदानबारे अझ व्यापक अध्ययन र अनुसन्धान हुनुपर्ने आवश्यकता औँल्याइन्। उनले योगमायालाई आफ्नो समयभन्दा धेरै अगाडि सोच्ने क्रान्तिकारी चेतनाकी कविका रूपमा चित्रण गर्दै सामाजिक तथा राजनीतिक प्रश्न उठाउने साहसिक व्यक्तित्व भएको बताइन्।
कार्यक्रममा सम्मानित व्यक्तित्वहरूको योगदानमाथि समीक्षात्मक चर्चा गर्दै साहित्यकार इल्या भट्टराई ले माया ठकुरीका कृतिहरू नेपाल तथा भारतका विभिन्न शैक्षिक संस्थाका पाठ्यक्रममा समावेश रहेको जानकारी दिइन्। उनले निनु चापागाईँको साहित्य, समालोचना तथा राल्फाली आन्दोलनमा रहेको योगदानको पनि चर्चा गरिन्।
न्यौपाने बन्धु समाज नेपाल का अध्यक्ष बलराम न्यौपाने ले योगमायाको योगदानलाई राष्ट्रिय स्तरमा स्थापित गर्न तथा राष्ट्रिय विभूति घोषणा गराउने अभियान जारी रहेको बताए। उनले लोकार्पित कृतिले योगमायाको जीवन र योगदानबारे थप जानकारी फैलाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा योगमायाका रचनामा आधारित गीति भिडियो पनि प्रस्तुत गरिएको थियो। उक्त गीतमा स्वर तथा संगीत गायिका लोचन भट्टराई को रहेको थियो।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न साहित्यिक तथा बौद्धिक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
नेपाल स्रष्टा समाजले न्यौपाने बन्धु समाज नेपालको सहकार्यमा विगत केही वर्षदेखि योगमाया स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। हालसम्म ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ बाट १८ जना तथा ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ बाट ९ जना व्यक्तित्व सम्मानित भइसकेका छन्।

तपाईको प्रतिक्रिया