
बैंक कहाँ छ भनेर सोध्ने, पैसा साट्नुपर्ने बहाना बनाउने, गर्मी छ भन्दै फ्रुटी वा फ्यान्टा खुवाउने अनि केहीबेरमै पीडितलाई बेहोस बनाएर सुन, नगद र मोबाइल लिएर फरार हुने गिरोहको रहस्य काभ्रेपलाञ्चोक प्रहरीले उजागर गरेको छ। जिल्लामा एक महिलामाथि भएको लुटपाट घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीले विगतका विभिन्न जिल्लामा भएका यस्तै प्रकृतिका घटनासमेत खुलाएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार असार १ गते बनेपा नगरपालिका–५ स्थित रविओपी बसपार्क अगाडि ५२ वर्षीया निरकुमारी घोरासाइँ बेहोस अवस्थामा फेला परेकी थिइन्। स्थानीयले उद्धार गरी शिर मेमोरियल अस्पताल पुर्याएपछि घटनाबारे प्रहरीलाई जानकारी प्राप्त भएको थियो।
घटनापछि इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलीले प्रारम्भिक अनुसन्धान गर्दा पीडितको सुनका गरगहना, नगद र मोबाइल लुटिएको खुल्यो। घटनास्थल वरपरका सिसिटिभी फुटेजको सूक्ष्म विश्लेषण गर्दा दुई जना पुरुषले नसालु पदार्थ प्रयोग गरी महिलालाई बेहोस बनाएको र बा ९१ प ६७५३ नम्बरको रातो–कालो रंगको २२० सीसी पल्सर मोटरसाइकल प्रयोग गरेको देखिएको थियो।
अनुसन्धानको दायरालाई विस्तार गर्दै प्रहरीले असार ७ गते बनेपा–८ बाट बुद्धकुमार श्रेष्ठलाई चोरीमा प्रयोग गरिएको मोटरसाइकलसहित पक्राउ गर्यो। पीडितले प्रहरीसमक्ष उपस्थित भएर श्रेष्ठलाई सनाखत गरेपछि घटनाको रहस्य थप खुल्दै गयो।
पीडितको बयानअनुसार आरोपीहरूले “पैसा साट्ने बैंक देखाइदिनुहोस्” भन्दै विश्वास जितेका थिए। त्यसपछि “गर्मी छ, फ्रुटी खाऔँ” भन्दै पेय पदार्थ खुवाएका थिए। ओढ्नीलाई छाताको रूपमा प्रयोग गर्न दिएर आत्मीयता देखाएको अभिनय गरेका उनीहरूले योजनाबद्ध रूपमा नसालु पदार्थ खुवाएर महिलालाई बेहोस बनाएका थिए।
प्रहरीका अनुसार बुद्धकुमार श्रेष्ठको बयानका आधारमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ का ५३ वर्षीय केदार श्रेष्ठ पनि घटनामा संलग्न रहेको खुलेको थियो। उनलाई असार ११ गते भक्तपुरको मध्यपुर ठिमीबाट पक्राउ गरिएको छ।
सुन गलाएर बिक्री
अनुसन्धानका क्रममा लुटिएको सुन भक्तपुरको मध्यपुर ठिमीस्थित जय शिव शक्ति ज्वेलर्समा बिक्री गरिएको खुल्यो। प्रहरीले सुन पसलमा खानतलासी गर्दा चोरीको सुन गलाइसकेको अवस्थामा फेला पारेको थियो। त्यसपछि पसल सञ्चालक दोलखाको बिगु गाउँपालिका–४ निवासी ४६ वर्षीय नवराज घिमिरे (विक) लाई पनि पक्राउ गरिएको छ।
पक्राउ परेका तीनै जनाविरुद्ध अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पुराना घटनासमेत खुल्दै
काभ्रे घटनाको अनुसन्धानका क्रममा यही समूहले अन्य जिल्लामा पनि समान शैलीका अपराध गरेको खुलासा भएको छ।
प्रहरीका अनुसार जेठ २९ गते तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालमा करिब ७२ वर्षीया रेणुकादेवी कामीलाई सुनको रिङ लगाएको देखेपछि नसालु पदार्थ खुवाई बेहोस बनाएर रिङ लुटिएको थियो।
त्यसैगरी जेठ ८ गते तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा ५५ वर्षीया श्रीमाया आलेलाई नसालु पदार्थ मिसाइएको फ्रुटी खुवाई कानमा लगाएका रिङ र मुन्द्रा लुटिएको घटना पनि यही गिरोहसँग जोडिएको प्रहरीले जनाएको छ।
यस्तै वैशाख ७ गते बनेपा–७ पुण्यमाता खोलानजिक ६९ वर्षीय उदयनारायण तिमल्सिनालाई बैंक खोज्ने बहानामा झुक्याई नसालु पदार्थ मिसाइएको फ्यान्टा खुवाएर बेहोस बनाई ७० हजार रुपैयाँ र सुनको औँठी लुटिएको थियो। उक्त औँठी समेत सुन पसलबाट गलाइसकेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ।
पुरानै शैली, पुरानै अनुहार
अनुसन्धानले देखाएको अर्को महत्वपूर्ण पक्ष भनेको पक्राउ परेका मुख्य आरोपीहरूको आपराधिक पृष्ठभूमि हो।
प्रहरीका अनुसार बुद्धकुमार श्रेष्ठ यसअघि २०६५ सालमा पाल्पामा एक व्यक्तिलाई नसालु पदार्थ खुवाएर धनमाल लुटेको मुद्दामा पक्राउ परेका थिए। सो मुद्दामा पाल्पा जिल्ला अदालतले उनलाई पाँच वर्ष एक महिना १५ दिन कैद सजाय सुनाएको थियो र उनले उक्त सजाय भुक्तान गरिसकेका थिए।
केदार श्रेष्ठको नाम पनि विभिन्न मुद्दामा जोडिएको देखिएको छ। उनी अभद्र व्यवहार तथा जुवा सम्बन्धी मुद्दामा यसअघि पक्राउ परी सजाय भोगिसकेको प्रहरी अभिलेखमा उल्लेख छ।
सचेत रहन प्रहरीको आग्रह
प्रहरीले अपरिचित व्यक्तिले दिएको पेय पदार्थ, खानेकुरा वा सहयोगको प्रस्ताव सहज रूपमा स्वीकार नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। विशेष गरी बैंक, पैसा साट्ने, बाटो देखाइदिने वा अन्य बहानामा नजिकिने व्यक्तिहरूप्रति सतर्क रहनुपर्ने प्रहरीको सुझाव छ।
काभ्रेमा भएको एक घटनाको अनुसन्धानबाट विभिन्न जिल्लामा सक्रिय रहेको संगठित लुटपाट गिरोहको पर्दाफास भएको प्रहरीको दाबी छ। अनुसन्धान अझै जारी रहेकाले यस्तै प्रकृतिका थप घटनाहरू खुल्न सक्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया