विशेषज्ञको सुझाव– सुरक्षित उत्पादन छानेर राम्ररी पकाएर खाँदा जोखिम न्यून
काठमाडौँ, असार १० गते । नेपालका विभिन्न जिल्लामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण देखिएसँगै उपभोक्तामा कुखुराको मासु र अण्डा खान सुरक्षित छ कि छैन भन्ने चासो बढेको छ। काठमाडौँ उपत्यकासहित केही जिल्लामा सङ्क्रमण पुष्टि भएपछि पोल्ट्री व्यवसायी र उपभोक्ता दुवै चिन्तित बनेका छन्।
तर स्वास्थ्य विज्ञहरूले बर्ड फ्लुको जोखिमलाई गम्भीर रूपमा लिनुपर्ने भए पनि अनावश्यक त्रास फैलाउन नहुने बताएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेण्ट जनरल फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार स्वस्थ कुखुरा र सुरक्षित रूपमा उत्पादन तथा बिक्री भएका मासु र अण्डा राम्ररी पकाएर खाँदा संक्रमणको जोखिम अत्यन्त न्यून हुन्छ।
उहाँका अनुसार बर्ड फ्लु मुख्यतः चराचुरुङ्गीमा देखिने भाइरल रोग हो। संक्रमित कुखुरा वा चराचुरुङ्गीको प्रत्यक्ष सम्पर्कमा रहने व्यक्तिमा संक्रमण सर्न सक्ने सम्भावना भए पनि मानिसबाट मानिसमा सजिलै सर्ने प्रमाण अहिलेसम्म उल्लेख्य रूपमा भेटिएको छैन।
“बजारमा उपलब्ध मासु र अण्डा खानै नहुने अवस्था होइन,” डा. चालिसेले भन्नुभयो, “७० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा राम्रोसँग पकाउँदा भाइरस नष्ट हुन्छ। त्यसैले उपभोक्ताले सरसफाइ र पकाउने प्रक्रियामा ध्यान दिनुपर्छ।”
उहाँले बर्ड फ्लु पुष्टि भएको फार्मका कुखुरा वा त्यसबाट उत्पादित सामग्री भने प्रयोग नगर्न आग्रह गर्नुभयो। एउटै फार्ममा केही कुखुरा मरेका र केही जीवित देखिए पनि ती सबै जोखिममा हुन सक्ने भएकाले त्यस्ता कुखुराको उपभोग उपयुक्त नहुने उहाँको भनाइ छ।
विशेषज्ञहरूका अनुसार अहिलेको अवस्थामा सबैभन्दा बढी सतर्कता पोल्ट्री फार्म सञ्चालक, कामदार र चराचुरुङ्गीसँग प्रत्यक्ष सम्पर्कमा रहने व्यक्तिले अपनाउन आवश्यक छ। फार्ममा अस्वाभाविक रूपमा कुखुरा मर्न थाले, अण्डा उत्पादन घटे वा अन्य शङ्कास्पद लक्षण देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने सुझाव दिइएको छ।
मास्क, पञ्जा तथा अन्य व्यक्तिगत सुरक्षाका सामग्री प्रयोग गर्नुका साथै हातको सरसफाइमा विशेष ध्यान दिन पनि चिकित्सकहरूले आग्रह गरेका छन्।
पोल्ट्री क्षेत्र नेपालको कृषि अर्थतन्त्रको महत्वपूर्ण आधारमध्ये एक हो। लाखौँ किसान, व्यवसायी र श्रमिकको जीविकोपार्जन यस क्षेत्रसँग जोडिएको छ। त्यसैले रोग नियन्त्रणसँगै वैज्ञानिक तथ्यमा आधारित जनचेतना अभिवृद्धि गर्नु आवश्यक देखिएको छ।
विशेषज्ञहरू भन्छन्, बर्ड फ्लु नियन्त्रणका लागि संक्रमित क्षेत्रको निगरानी, समयमै परीक्षण, जैविक सुरक्षा मापदण्डको पालना र जनस्वास्थ्य तथा पशु स्वास्थ्य निकायबीचको समन्वय महत्वपूर्ण हुन्छ। यसले एकातर्फ मानव स्वास्थ्यको सुरक्षा गर्छ भने अर्कोतर्फ पोल्ट्री उद्योगप्रतिको अनावश्यक डर र भ्रमलाई पनि कम गर्न मद्दत पुग्छ।
स्वास्थ्यकर्मीहरूको सन्देश स्पष्ट छ—सावधानी अपनाऔँ, तर अनावश्यक त्रास होइन। सुरक्षित स्रोतबाट खरिद गरिएको मासु र अण्डा राम्ररी पकाएर सेवन गर्दा बर्ड फ्लुको जोखिमबाट धेरै हदसम्म बच्न सकिन्छ।

तपाईको प्रतिक्रिया