बीएफए इन्टरनल वर्ल्ड कपको उद्घाटन खेलमा पोर्चुगल विजयी

बनेपा फुटबल एकेडेमी (बीएफए) द्वारा आयोजित ‘बीएफए इन्टरनल वर्ल्ड कप’ प्रतियोगिताको उद्घाटन खेलमा बीएफए (पोर्चुगल) ले बेलर (ब्राजिल) माथि २–० गोलको शानदार जित दर्ता गरेको छ।
शनिबार बिहान सम्पन्न सिनियर गर्ल्सतर्फको उद्घाटन खेलमा पोर्चुगलले उत्कृष्ट प्रदर्शन गर्दै ब्राजिललाई पराजित गरेको हो। खेलभरि आक्रामक प्रदर्शन गरेको पोर्चुगलले दुवै हाफमा एक–एक गोल गर्दै सहज जित हासिल गर्यो।
प्रतियोगिताको औपचारिक उद्घाटन अखिल नेपाल फुटबल संघ (एन्फा) बागमती प्रदेशका अध्यक्ष निरजकाजी श्रेष्ठ ले गरेका थिए। कार्यक्रममा बनेपा फुटबल एकेडेमीका अध्यक्ष निरोज श्रेष्ठ लगायत खेलप्रेमी, अभिभावक, प्रशिक्षक तथा खेलाडीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै एन्फा बागमती प्रदेशका अध्यक्ष श्रेष्ठले बालबालिकाको फुटबल विकासका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै खेलसँगै अनुशासन, नेतृत्व क्षमता र टोली भावनाको विकास हुने उल्लेख गरे। उनले स्थानीय तहबाट फुटबल प्रतिभा उत्पादनमा बीएफएले पुर्‍याएको योगदानको प्रशंसा समेत गरे।
प्रतियोगितामा विभिन्न उमेर समूहका बालबालिका तथा किशोर–किशोरीहरूको सहभागिता रहेको छ। प्रतियोगिताअन्तर्गत असार ७ गते यू–८ बालक, यू–८ बालिका र यू–१० बालकतर्फका खेलहरू सञ्चालन हुने आयोजकले जनाएको छ।
बीएफएले आफ्ना खेलाडीहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभूति दिलाउने उद्देश्यले विभिन्न राष्ट्रका नामबाट टोली गठन गरी प्रतियोगिता सञ्चालन गरेको हो। प्रतियोगिताले युवा खेलाडीहरूमा प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्नुका साथै फुटबलको आधारभूत सीप विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया