बुच्चकोट बस दुर्घटना : हालसम्म ६ जनाको सनाखत, २ जनाको पहिचान हुन बाँकी


काभ्रे, असार — बुच्चकोट क्षेत्रमा भएको बस दुर्घटनामा मृत्यु भएका व्यक्तिहरूमध्ये हालसम्म ६ जनाको सनाखत भएको छ भने दुई जनाको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

सनाखत भएका मृतकहरूमा काभ्रेको रोशी गाउँपालिका–६ निवासी ४५ वर्षीय मेघबहादुर तामाङ, ३४ वर्षीया फुलमाया तामाङ तथा ७५ वर्षीय इन्द्रबहादुर तामाङ रहेका छन्। त्यसैगरी रोशी गाउँपालिका–८ निवासी ६० वर्षीया प्यारीमाया तामाङको पनि दुर्घटनामा मृत्यु भएको पुष्टि भएको छ।

दुर्घटनामा मृत्यु हुने अन्य व्यक्तिहरूमा दैलेख जिल्लाका ३० वर्षीय बमबहादुर भण्डारी रहेका छन्। उनी भकुण्डेबेँसीस्थित त्रिनेत्र दल गणमा कार्यरत नेपाली सेनाका अमलदार रहेको खुलाइएको छ।

यस्तै, सिन्धुलीको घ्याङलेक गाउँपालिका–४ निवासी २२ वर्षीया सुमि तामाङको पनि दुर्घटनामा ज्यान गएको छ। उनको पहिचान श्रीमान निराजन घिसिङले गरेका हुन्।

प्रहरीका अनुसार हालसम्म दुई जनाको पहिचान खुल्न सकेको छैन। पहिचान हुन बाँकी मृतकहरूमा करिब ६०–६५ वर्ष उमेरका एक पुरुष र सोही उमेर समूहकी एक महिला रहेका छन्।

दुर्घटनापछि उद्धार तथा अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने मृतकहरूको पहिचान र घटनाको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको छ। मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै स्थानीयवासी तथा आफन्तजन शोकमा डुबेका छन्।

तपाईको प्रतिक्रिया