
एसईई परीक्षा केवल नतिजा होइन, हजारौँ विद्यार्थीको सपना, अभिभावकको त्याग र शिक्षकको निरन्तर मेहनतको प्रतिफल पनि हो । यही मेहनत र सफलताको यात्रालाई उत्सवका रूपमा रूपान्तरण गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काभ्रेले शुक्रबार बनेपामा भव्य सम्मान समारोह आयोजना गरेको छ ।
सभाहलभरि उत्साहित विद्यार्थी, गौरवान्वित अभिभावक र खुसीले भरिएका शिक्षकहरूको उपस्थिति थियो । कसैले मेडल सम्हालिरहेका थिए, कसैले प्रमाणपत्र । कतिपय अभिभावकका आँखामा सन्तानको सफलताप्रतिको गर्व स्पष्ट झल्किन्थ्यो । एउटै मञ्चमा विद्यार्थीको मेहनत, शिक्षकको समर्पण र विद्यालयको जिम्मेवारीलाई सम्मान गरिँदा कार्यक्रम केवल औपचारिक समारोहमा सीमित रहेन, शिक्षाको सामूहिक उत्सवमा परिणत भयो ।

यस वर्ष प्याब्सनअन्तर्गतका पाँच जना विद्यार्थीले एसईई २०८२ मा सर्वोत्कृष्ट जीपीए ४ प्राप्त गरेका छन् । बनेपास्थित विद्यासागर स्कुल र सिद्धार्थ इङ्गलिस स्कुल, पाँचखालको नवप्रतिभा स्कुल तथा पनौतीको नवरत्न माध्यमिक विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याएर जिल्लाको शैक्षिक प्रतिष्ठा उकासेका हुन् । उत्कृष्ट विद्यार्थीहरूले नगद १० हजार रुपैयाँसहित सम्मान, पुरस्कार तथा शुभकामना प्राप्त गरेका थिए ।
कार्यक्रममा काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. अच्युत वाग्लेले विद्यार्थी, अभिभावक र विद्यालयका प्रिन्सिपलहरूलाई सम्मान गर्दै सफलता केवल अंकमा सीमित नहुने धारणा राख्नुभयो । उहाँले गुणस्तरीय शिक्षा निर्माणमा निजी विद्यालयहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै पछिल्ला समय सरकारी दृष्टिकोण र नीतिगत अन्योलका कारण निजी विद्यालय सञ्चालकहरू दबाबमा परेको बताउनुभयो ।

“आफ्नो लगानीमा गुणस्तरीय शिक्षा दिने अभियानलाई निर्धक्क रूपमा अघि बढाउनुस्,” उहाँले भन्नुभयो, “विद्यार्थीहरूले पनि विदेशमुखी सोचभन्दा देशमै अवसर सिर्जना गर्ने आत्मविश्वास विकास गर्नुपर्छ ।”
उहाँले एसईई उत्तीर्ण विद्यार्थीलाई आत्मनिर्भर बन्न, स्वदेशप्रति माया गर्न र समाजप्रति उत्तरदायी नागरिकका रूपमा अघि बढ्न आग्रह गर्नुभयो । “परजीवी होइन, सेवाभावका साथ अघि बढ्ने पुस्ता अहिलेको आवश्यकता हो,” उहाँको भनाइ थियो ।
यस वर्ष प्याब्सन काभ्रेअन्तर्गतका ३१ विद्यालयले शतप्रतिशत नतिजा ल्याएका छन् । ती विद्यालयलाई पनि कार्यक्रममा विशेष सम्मान गरिएको थियो । प्याब्सनमा आबद्ध ५२ विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको कार्यक्रममा चार सय ५० भन्दा बढी विद्यार्थी सम्मानित भए । यस वर्ष प्याब्सनअन्तर्गतका विद्यालयबाट १५ सयभन्दा बढी विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए ।
कार्यक्रमको अर्को आकर्षण दीर्घसेवी शिक्षक सम्मान बन्यो । एउटै विद्यालयमा निरन्तर २५ वर्षदेखि सेवा गर्दै आएका शिक्षकहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो । साथै नौ वटा विषयका उत्कृष्ट विषयगत शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो । यसले शिक्षा केवल नतिजामात्र नभई दीर्घकालीन समर्पण र जिम्मेवारीको क्षेत्र भएको सन्देश दिएको सहभागीहरूको भनाइ थियो ।
प्याब्सनका केन्द्रीय महासचिव आरबी कटुवालले निजी विद्यालयहरूले नेपालको शैक्षिक गुणस्तर अभिवृद्धिमा उल्लेखनीय योगदान पु¥याएको बताउनुभयो । उहाँले विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय परिवारलाई बधाई दिँदै शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदानलाई राज्यले सकारात्मक रूपमा लिनुपर्ने धारणा राख्नुभयो ।
उपमहासचिव भीमसेन केसीले निजी विद्यालय क्षेत्रमा अर्बौं रुपैयाँ लगानी रहेको उल्लेख गर्दै पछिल्ला समय सिर्जना भइरहेको नकारात्मक वातावरणप्रति चिन्ता व्यक्त गर्नुभयो । “निजी विद्यालयलाई धराशायी बनाउने खालको मनोविज्ञान विकसित हुनु दुःखद हो,” उहाँले भन्नुभयो ।
कार्यक्रममा प्याब्सन सचिवालय सदस्य हिरा शर्मा नेपाल, प्रदेश अध्यक्ष तथा पदाधिकारी, विभिन्न जिल्लाका प्रतिनिधि, विद्यालयका प्रिन्सिपल, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
उपाध्यक्षद्वय बसन्त नेपाल र सुजेन्द्र श्रेष्ठले प्याब्सन काभ्रेका गतिविधि तथा कार्यक्रमको औचित्यमाथि धारणा राख्नुभएको थियो भने सचिव विमल न्यौपानेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेलले गर्नुभएको थियो । अध्यक्ष भुजेलले विद्यार्थीहरूको भावी गन्तव्य, प्याब्सनको आगामी योजना तथा जिल्लाको समग्र शैक्षिक अवस्थाबारे धारणा व्यक्त गर्नुभयो ।

सम्मान समारोहले एउटा स्पष्ट सन्देश दिएको छ— गुणस्तरीय शिक्षा निर्माण केवल पाठ्यपुस्तकको विषय होइन, त्यो विद्यार्थीको मेहनत, शिक्षकको समर्पण, अभिभावकको विश्वास र विद्यालयको निरन्तर प्रयासको साझा परिणाम हो

तपाईको प्रतिक्रिया