नेदरल्यान्ड्स समूह विजेताको दाबेदार

विश्वकपमा नेदरल्यान्ड्सलाई अभागी टिम मानिन्छ । तीन पटक विश्वकपको फाइनलमा पुगेर पनि नेदरल्यान्ड्स च्याम्पियन बन्न सकेको छैन । नेदरल्यान्ड्सले पुनः एक पटक अमेरिका, मेक्सिको र क्यानडामा उपाधि जित्ने प्रयास गर्ने छ । यसका लागि उसले सबभन्दा पहिलो समूह ‘एफ’ मा स्विडेन, जापान र ट्युनिसियालाई पछाडि पार्नुपर्ने हुन्छ । विश्वकपको महान् टिममध्ये एकको गन्तीमा परेको नेदरल्यान्ड्स सन् १९७४ र १९७६ मा लगातार विश्वकपको फाइनलमा पराजित भएको थियो । त्यसपछि सन् २०१० मा पनि स्पेनविरुद्धको फाइनलमा इन्जुरी समयमा गोल बेहोरर नेदरल्यान्ड्स निराश बन्यो । समूह ‘एफ’ मा नेदरल्यान्ड्स समूह विजेताकै रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ तर अन्य टिम त्यति कमजोर पनि छैनन् । विशेषतः जापानले सन् २०२२ को विश्वकपमा जर्मनी र स्पेनलाई हराएपछि नेदरल्यान्ड्स सतर्क भएको हुनु पर्छ ।

नेदरल्यान्ड्स

सन् १९७० को दशकमा नेदल्यान्ड्स फुटबल शिखरमा थियो । ‘टोटल’ फुटबलको रणनीति बनाएर आक्रामक खेल देखाउने नेदल्यान्ड्सलाई सन् १९७४ र १९७८ मा निश्चित विजेताका रूपमा हेरियो तर दुवै पटक फाइनलमा नेदल्यान्ड्स स्तब्ध भयो । प्रशिक्षक रोनाल्ड कोम्यानले आफ्नो दोस्रो कार्यकालमा नेदरल्यान्ड्सको विश्वकप उपाधिको पर्खाइलाई यस पटक अन्त्य गर्ने आशा गरिएको छ । सन् १९८८ मा उहाँले खेलाडीका रूपमा नेदरल्यान्ड्सलाई युरोपियन च्याम्पियन बनाइसक्नुभएको छ । यसै गरी पछिल्लो पटक प्रशिक्षक हुँदा उहाँले नेदरल्यान्ड्सलाई सन् २०१९ को नेसन्स लिगको उपविजेता बनाउनुभएको थियो । यसपालि नेदरल्यान्ड्समा विगतमा जस्ता हस्ती खेलाडी छैनन् । यद्यपि प्रिमियर लिग स्टारहरू भर्जिल भान डिक, रोय ग्राभानवर्च, टिजानी राइन्डर्स र कोडी गाप्को जस्ता खेलाडी नेदरल्यान्ड्सलाई विश्वविजेता बनाउन सक्षम हुनुहुन्छ ।

जापान

एसियाली फुटबलको शक्ति जापान लगातार आठौँ पटक विश्वकप खेल्दै छ । जापानले लगातार तेस्रो पटक समूह चरण पार गर्ने अपेक्षा पनि गरिएको छ । आयोजक तीन राष्ट्रबाहेक यस विश्वकपमा छनोट हुने पहिलो राष्ट्र हो जापान । अमेरिका, क्यानडा र मेक्सिको आयोजकका हैसियतले स्वतः चयन भएका हुन् । जापान छनोट चरणमा तीन खेल बाँकी छँदै विश्वकप खेल्न योग्य भएको थियो ।

कतारमा भएको पछिल्लो संस्करणमा जापानले जर्मनी र स्पेनलाई समूह चरणमा हराएर दुई ठुला स्तब्धकारी नतिजा निकालेको थियो । जापानसँग पराजित भएपछि चार पटकको विजेता जर्मनीको चुनौती समूह चरणमै सकिएको थियो । यद्यपि सो समय जापानको यात्रा अन्तिम १६ मै रोकिएको थियो । जापानी टिममा रहेका प्रायः खेलाडी युरोपमा व्यावसायिक फुटबल खेल्ने गर्छन् । जसमध्ये बायर्न म्युनिखका डिफेन्डर हिरोकी इटो र ब्राइटनका फरवार्ड काओरु मिटोमा आगामी विश्वकपमा हेर्नलायक खेलाडी हुनुहुने छ ।

स्विडेन

स्विडेन युरोपको एक बलियो फुटबल राष्ट्र हो । यद्यपि यसपालि स्विडेनले विश्वकपमा सहजै स्थान बनाउन सकेन । छनोट प्रतियोगिताको समूह चरणमा स्विडेन जितविहीन रहेर अन्तिम स्थानमा थियो । सन् २०२४–२०२५ को नेसन्स लिगमा गरेको प्रदर्शनले मात्र स्विडेन प्लेअफमा पुगेको थियो । स्विडेनले प्लेअफमा युक्रेन र पोल्यान्डलाई निराश बनाएर विश्वकपमा स्थान बनाएको हो । नयाँ प्रशिक्षक ग्राहम पोर्टर पनि यस विश्वकपमा स्विडेनलाई सकेसम्म लामो यात्रा गराएर आफ्नो प्रशिक्षक क्यारियर उकास्ने अभियानमा हुनुहुन्छ । हालका वर्षमा उहाँलाई चेल्सी र वेस्टहामले बर्खास्त गरेको थियो ।

स्विडेनमा अलेक्ज्यान्दर इसाक र भिक्टोर ग्योकेरेसका रूपमा युरोपका दुई शीर्ष स्ट्राइकर रहनुभएको छ । यसै गरी लुकास बर्गभल र एन्थोनी इलाङ्गा पनि त्यत्तिकै क्षमता भएका खेलाडी हुनुहुन्छ । त्यसैले पनि छनोट चरणमा स्विडेनको कमजोर प्रदर्शनले सबैलाई अचम्ममा पारेको थियो । स्विडेन विश्वकपको फाइनल भिडन्त गरिसकेको टिम हो । सन् १९५८ मा पेलेको उदयसँगै ब्राजिलले फाइनलमा स्विडेनलाई फाइनलमा पराजित गरी पहिलो पटक विश्वकप जितेको थियो । स्विडेनको अमेरिकामा भएको विश्वकपमा राम्रो उपलब्धि पनि छ । सन् १९९४ मा अमेरिकामै भएको विश्वकपमा स्विडेनले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

ट्युनिसिया

ट्युनिसियाले सातौँ पटक विश्वकप खेल्दै छ । यद्यपि यो राष्ट्रले अहिलेसम्म समूह चरण पार गर्न सकेको छैन । ट्युनिसिया यस पटक नकआउटमा स्थान बनाएर सो निराश मेटाउने अभियानमा छ । चार वर्षअघि कतारमा भएको विश्वकपमा नकआउट चरणको सँघारमा पुगेर पनि ट्युनिसिया निराश बनेको थियो । सो विश्वकपमा ट्युनिसियाले उपाधि रक्षा अभियानमा रहेको फ्रान्सलाई १–० ले स्तब्ध बनाएको थियो भने डेनमार्कसँग बराबरीमा खेलेको थियो ।

अफ्रिकी कप अफ नेसन्समा अन्तिम १६ बाट बिदा भएपछि ट्युनिसियाले सामी ट्राबेल्सीलाई बर्खास्त गरी साब्री लामोचीलाई प्रशिक्षकका रूपमा भित्र्याएको छ । ट्युनिसियाली टिममा २१ वर्षीय खलिल अयरी हेर्नलायक खेलाडी हुनुहुन्छ । उहाँ पेरिस सेन्ट जर्मनबाट व्यावसायिक फुटबल खेल्नुहुन्छ । एपी

तपाईको प्रतिक्रिया