शिक्षा र स्वास्थ्य क्षेत्रमा सहकार्य ज्याेति एकेडेमी स्कुल र शिर मेमोरियल एडभेन्टिस्ट अस्पतालबीच सम्झौता

ज्याेति एकेडेमी स्कुल र शिर मेमोरियल एडभेन्टिस्ट अस्पताल बीच स्वास्थ्य सेवा सम्बन्धी सहकार्य गर्न समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

सम्झौताअनुसार विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूले अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा विशेष छुट प्राप्त गर्ने भएका छन्। अस्पतालले उपचार तथा सहायक सेवामा १० प्रतिशतसम्म छुट उपलब्ध गराउनेछ भने औषधिमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको जनाएको छ। यद्यपि अस्पताल बाहिर प्रदान गरिने सेवा तथा केही विशेष सामग्री, विशेषगरी अर्थोपेडिक इम्प्लान्टमा भने छुट लागू नहुने उल्लेख गरिएको छ।

दुवै संस्थाबीच भएको सहकार्यले स्वास्थ्य सेवामा सहज पहुँच विस्तार गर्नुका साथै विद्यालय समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। सम्झौतामार्फत जनचेतनामूलक कार्यक्रम, कार्यशाला, स्वास्थ्य शिक्षा तथा सामुदायिक स्वास्थ्य सुधारका विविध गतिविधिमा समेत सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ।

सम्झौतामा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर जी. गयारेस तथा विद्यालयका अध्यक्ष त्रिरत्न मानन्धर ले हस्ताक्षर गर्नुभएको हो।

विद्यालय र स्वास्थ्य संस्थाबीचको यो सहकार्यलाई विद्यार्थीहरूको सुरक्षित, स्वस्थ र गुणस्तरीय भविष्य निर्माणतर्फको सकारात्मक पहलका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया