
नेपाल कम्युनिस्ट पार्टी -एमाले) सचिवालय बैठकले पार्टीभित्रको शक्ति सन्तुलनमा नयाँ मोड ल्याएको छ । अध्यक्ष केपी शर्मा ओली नेतृत्वमाथि पहिलोपटक संस्थागत रूपमा प्रश्न उठ्न थालेपछि एमालेभित्र पुनर्गठन र नेतृत्व परिवर्तनको बहस तीव्र बनेको हो ।
आईतबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता खुल्ला गर्ने सचिवालय बैठकको निर्णयलाई राजधानी विशेष प्रदेश कमिटीको बैठकले स्वागत गरेको छ । यसलाई अर्थपुर्ण रुपमा हेरिएको छ । लगातार तीनदिनसम्म चलेको बैठकमा १९ जना सचिवालय सदस्यले आफ्नो धारणा खुलेर राख्नुभएको छ ।
भक्तपुरको गुन्डुस्थित ओली निवासमा सचिवालय बैठकमा अधिकांश पदाधिकारीहरूले पार्टीलाई यथास्थितिमा अघि बढाउन नसकिने धारणा राखेसँगै एमालेमा नेतृत्व परिर्वतनको बिषयले औपचारिक रुपमा प्रवेश पाएको छ । यसबारे कार्यकर्ता तहसम्म नै एउटा बहसको प्रारम्भ गराएको छ ।
एमालेको १९ सदस्यीय सचिवालयमध्ये बहुमत नेताहरूले निर्वाचनमा पार्टीले व्यहोरेको पराजय, नेतृत्व शैली र संगठन सञ्चालनको पद्धतिमाथि गम्भीर समीक्षा आवश्यक रहेको स्पष्ट धारणा राख्नु भएको हो ।
बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ तथा महासचिव शंकर पोखरेल लगायत नेताहरूले पार्टी पुनर्गठनमा जोड दिनुभएको हो । विगतमा ओलीनिकट मानिएका नेताहरू नै अहिले पुनर्संरचनाको पक्षमा उभिनु एमालेभित्रको बदलिँदो समीकरणको संकेत मानिएको राजनीतिक विश्लेषक रामप्रसाद अधिकारीले उल्लेख गर्नुभयो । उहाँले यही अवस्थामा अघि बढ्ने हो भने एमालेभित्र नेतृत्व परिर्वतनको बिषयले औपचारिक रुपमा तल्लो तहसम्म नै पुग्ने अधिकारीले बताउनुभयो ।
सचिवालय बैठकमा पहिलो दिन शुक्रबारको बैठकमा ओलीले æपार्टी लाइनविरुद्ध नबोल्नÆ निर्देशन दिएपछि उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले प्रतिवाद गर्दै एमाले कुनै æप्राइभेट कम्पनीÆ नभएको उल्लेख गर्नुभएको थियो । त्यसलाई सचिवालयभित्र बढ्दो असन्तुष्टिको सार्वजनिक अभिव्यक्तिका रूपमा हेरिएको छ ।
बैठकमा सचिव शेरधन राईले पार्टीको वर्तमान अवस्थाबारे निर्मम समीक्षा आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले निर्वाचन पराजयका कारण पहिचान गर्दै संगठन पुनर्गठन, आत्मसमीक्षा र विशेष कार्यदल गठनको प्रस्ताव अघि सार्नुभएको हो ।
पार्टीभित्र बढेको निराशा, अन्योल र विचलन अन्त्य गर्न नयाँ ढंगले अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । उपमहासचिव लेखराज भट्टले भने पुनर्गठन गर्नुपर्ने भए ६० वर्षमाथिका नेताहरू सामूहिक रूपमा विदा हुन सक्ने मध्यमार्गी प्रस्ताव अघि सार्नुभएको हो । अर्कोतर्फ उपाध्यक्ष रामबहादुर थापा …बादलÚ र सचिव महेश बस्नेत ले खुलेर ओलीको बचाउ गरेपनि अरु सचिवालय सदस्यले भने नेतृत्व परिर्वतनको बिषयमा स्पष्ट सन्देश दिएको छ ।
विश्लेषकहरूका अनुसार नवौं महाधिवेशनपछि बलियो बनेको ओली नेतृत्व पहिलोपटक आफ्नै सचिवालयमा अल्पमतमा देखिएको छ । विगतमा बहुमतको बलमा निर्णय गर्दै आएका ओली अहिले आफ्नै सहयात्रीहरूको असन्तुष्टिसँग जुधिरहनु भएको अधिकारीले भन्नुभयो । बैठकको निष्कर्ष जे आए पनि एमाले अब पुरानै शैलीमा सञ्चालन हुन कठिन हुने संकेत स्पष्ट देखिएको उहाँले भन्नुभयो ।
सचिवालय बैठकमा ओलीमाथि नैतिक दवाव
2026-05-25T06:38:51+05:45

तपाईको प्रतिक्रिया