काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न क्षेत्रमा सोमबार परेको अत्यधिक वर्षापछि बनेपा नगरपालिका–२ स्थित श्रीखण्डपुर क्षेत्रमा डुबानमा फसेको एउटा स्कुल बसबाट विद्यार्थीहरूको उद्धार गरिएको छ ।
बनेपा, पनौती र धुलिखेल क्षेत्रमा केही घण्टासम्म लगातार भारी वर्षा भएपछि सडक तथा खोल्सामा पानीको बहाव बढ्दा बस डुबानमा परेको थियो । डुबानमा फसेको बसमा रहेका ३५ जना विद्यार्थीलाई सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण काभ्रेका सुरक्षाकर्मीले सुरक्षित रूपमा उद्धार गरेका हुन् ।
सशस्त्र प्रहरी बल १५ नम्बर गणका गणपति माधव रेग्मीले प्राकृतिक विपत्तिमा सशस्त्र प्रहरीले उद्धार गर्नु उसको जिम्मेवारी रहेको उल्लेख गर्नुभयो। समयमै उद्धारका निमित्त सूचना दिएर सहयोग गर्नुभएकोमा उहाँले पत्रकार स्थानीय नागरिकलाई धन्यवाद व्यक्त गर्नुभयो।
सशस्त्र प्रहरीका अनुसार वर्षापछि श्रीखण्डपुर क्षेत्र जलमग्न बनेको थियो । बस बीच सडकमा रोकिएपछि विद्यार्थीहरू त्रसित भएका थिए । त्यसपछि घटनास्थलमा पुगेको सुरक्षाकर्मीको टोलीले उद्धार कार्य सञ्चालन गरी सबै विद्यार्थीलाई सुरक्षित स्थानमा पुर्याएको जनाएको छ । सशस्त्र प्रहरीका प्रहरी निरीक्षक आलोक बस्नेतले जलमग्न क्षेत्रमा विद्यार्थीहरू फसेको खबर सुन्ने बित्तिकै तत्काल पुगेर उद्धार गरेको उल्लेख गर्नुभयो उहाँले जिल्लाका अन्य ठाउँमा पनि उद्धारको कार्यमा प्रहरी क्रियाशील रहेको जानकारी दिनुभयो
अत्यधिक वर्षाका कारण जिल्लाका केही सडक क्षेत्रमा पानी जम्नुका साथै साना खोलाहरूमा बहाव बढेको स्थानीयले बताएका छन् । मौसममा आएको परिवर्तनसँगै सम्भावित विपद्प्रति सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
सशस्त्रले डुबानमा परेका विद्यार्थीको गर्याे उद्धार
2026-05-04T19:38:18+05:45

तपाईको प्रतिक्रिया