नेपाली कांग्रेसले आजदेखि एक महिने जरा अभियान सुरु गर्दैछ। पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्ने लक्ष्यस्वरुप कांग्रेसले एक महिने अभियान चलाउन लागेको हो।
अभियानका पार्टीका सभापति गगन थापाले आज सुरुआत गर्दैछन्। कांग्रेस, काठमाडौं जिल्ला कार्यालय भवनमा आयोजित कार्यक्रमबाट सभापति थापाले अभियानको सुरु गर्न लागेका हुन्। कार्यक्रम दिउँसो १ बजेको लागि तय भएको छ।
असोजमा तय भएको महाधिवेशनको लागि कांग्रेसले सदस्यता अद्यावधिक गर्न लागेको हो। क्रियाशील सदस्यता अद्यावधिक गर्नको लागि पार्टीको प्रत्येक व्यक्ति वडामा जानुपर्ने व्यवस्था कांग्रेसले गरेको छ।
यो अभियानमा वडामा गएर सदस्यता नवीकरण नगर्नेले आगामी महाधिवेशनमा सहभागी हुन पाउँदैनन्। सदस्यता लिएपछि पार्टी विधान अनुसार वडा कार्यालयमा पुगेर शपथ लिनैपर्ने व्यवस्था गरिएको छ।
पार्टीभित्र तत्कालीन सभापति शेरबहादुर देउवा पक्षको असहमतिका बीचमा पनि सभापति थापाले यो कार्यक्रम अघि बढाएका हुन्। देउवा पक्षले यो कार्यक्रममा सहभागी नहुने जनाइरहेको छ।
थप निर्णयको लागि भोलि कार्यसम्पादन समितिको बैठक पनि बस्दै छ। महामन्त्री प्रदीप पौडेलले पार्टीले क्रियाशील खारेज नभई अद्यावधिक गर्न लागेको बताए।
उनले भने, ‘हामीले क्रियाशील खारेज गर्ने होइन, अद्यावधिक गर्दै छौँ । अब अद्यावधिक हुने क्रियाशीलले हामीलाई गाउँ गाउँमा जोड्नेछ, नेपाली कांग्रेसप्रति समर्पित क्रियाशील सदस्यहरूको नवीकरणले हामीलाई थप जिम्मेवार र मजबुत बनाउनेछ।’
विगतमा देखिएका त्रुटि हटाउन यस पटक प्राविधिक पक्षमा विशेष ध्यान दिएर क्रियाशील अद्यावधिक प्रक्रिया अघि बढाएको उनको भनाइ छ। विद्यमान परिष्कृत प्रणालीबाट अद्यावधिक गर्दा क्रियाशीलमा यसअघि भोग्दै आएका समस्या र अन्योल हटाउन सकिने उनको विश्वास छ।
0

तपाईको प्रतिक्रिया