चैतलागेपछि किन बढ्यो चिसो

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा गर्मी बढ्न थालिसकेको थियो । तर अहिले चैतको अन्तिम सातामा पनि न्यानो लुगा लगाउनुपर्ने गरी चिसो बढेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बुधवार काठमाडौंको न्यूनतम तापक्रम १०.४ डिग्री सेल्सिअससम्म पुग्यो । विभागको तथ्याङ्कअनुसार एक महिनाअघि फागुन २५ गते काठमाडौंको न्यूनतम तापक्रम १५ डिग्री सेल्सिअस थियो ।
नेपालमा सामान्यतया मध्यफागुनसम्म चिसो रहन्छ । तर अहिले पश्चिमी वायुको प्रभावका कारण पानी परेको र चिसो भएको मौसमविद्हरूले बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् आकाश खनाल पश्चिमी वायुको प्रभावका कारण नेपालमा चिसो र वर्षा भएको बताउँछन् । æहिजोबाटै बादल लागिरहेको थियो। सूर्यको किरण नपर्दा चिसो हुने स्वाभाविक नै हो। अनि पश्चिमी वायुले आद्र्रतासँगै चिसो हावा पनि बोकेर ल्याएको छ,æ उनले भने ।
æचिसो हावाले तापक्रम घटाएको भएर जाडो महसुस भएको हो।æ विभागका अनुसार गण्डकी प्रदेशसहितका केही स्थानमा मङ्गलवारदेखि नै वर्षा भएको छ ।
बुधवार र बिहीबार देशको राजधानीसहित बागमती, मधेश र कोशी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएपछि पश्चिमी वायुको असर कम हुने आकलन गरिएको छ ।

हिमाली क्षेत्रमा हिमपात भएका कारण पनि चिसो बढेको मौसमविद्हरूको भनाइ छ । मौसम विज्ञान विभागका अनुसार बिहीवार बिहानबाट बादल हटेर घाम लाग्ने पूर्वानुमान गरिएकोमा त्यसो नभएको र बर्षा लम्बिने संकेत गरेको छ ।

æभोलि बिहानसम्म बादल हट्ने जस्तो देखिन्छ। त्यसपछि मौसम सामान्य -घमाइलो) हुने देखिन्छ । यद्यपि हामीले अझैसम्म यसलाई निगरानी गरिरहेका छौँ,æ मौसमविद् खनाल भन्छन् ।
विभागकै मौसमविद् पूजा लामिछाने यो कुनै मौसमी प्रणाली नभएका कारण लामो समय नरहने बताउँछिन् । æपश्चिमी वायुले चिसो हावा बोकेर आएकाले चिसो भएको हो,æ उनी भन्छिन् । æपश्चिमी वायु सक्रिय भएको समयमा मात्रै चिसो रहन्छ ।
पश्चिम दिशाबाट आउने भएकाले नेपालमा मनसुन सकिएपछि वर्षा गराउने आद्र्रतायुक्त हावालाई Úवेस्टर्लीÚ वा पश्चिमी वायु भनिएको हो । विज्ञहरूका अनुसार अरब सागरमा उत्पन्न हुने यो प्रणाली हिउँद याममा त्यहीँबाट आद्र्रता लिएर नेपाल आइपुग्छ ।

त्यसअघि यसले इरान, अफगानिस्तान र पाकिस्तान हुँदै यात्रा गरेको हुन्छ । पश्चिमी वायुको प्रणालीमा तीव्र गतिमा बहने वायु हुन्छ। दक्षिण एशियाको भूगोल र पर्वतीय संरचनाका कारण यसको गति अझ सघन हुने मौसमविद्हरू बताउँछन् ।
हिउँद याममा पश्चिमी वायुको प्रभावका कारण नेपालमा वर्षा हुने गरेको छ । हिमाली भेग हुँदै आउने भएका कारण यो वायुले चिसो निम्त्याउने गरेको मौसमविद् खनालले बताए ।

तपाईको प्रतिक्रिया