धर्म जागनी महा-महोत्सव गर्न जुरुक्कै उठ्यो सिङ्गो बेथानचोक

ढुंखर्क/श्रीकृष्ण प्रणामी समुदायको बाहुल्यता रहेको काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–२, ढुंखर्कस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा श्री १०८ श्रीमत्तारतम सागर पाठ सप्ताह ज्ञान महायज्ञ तथा श्रीकृष्ण प्रणामी धर्म जागनी महा–महोत्सव आयोजनका लागि सिंगो बेथानचोक गाउँपालिका नै तयारी थालेको छ । यसअघि दुई पटकसम्म प्राकृतिक विपत्तिको कारणले रोकिएको महोत्सव २०८२ साल चैत २७ गतेदेखि २०८३ साल वैशाख ३ गतेसम्म सञ्चालन गर्ने गरि अन्तिम तयारी थालिएको छ ।
मूल समारोह समितिले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको बारेमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक गिता शर्माले बेथानचोकमा यस अघि दुई पटक आयोजना गरिएको कार्यक्रम विविध कारणवश हुन नसकेको उल्लेख गर्नुभयो ।
पत्रकार सम्मेलनमा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बेथानचोकलाई धामिर्क पर्यटनका हिसावले चिनाउन धर्म जागनी महोत्सव महत्वपूर्ण हुने बताउनुभयो । उहाँले यो सिंगो बेथानचोकको गरिमासँग जोडिएको बिषय भएकाले आफूहरुले सफल बनाउन सबै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले धर्मका माध्यमबाट शान्ति स्थापना गर्न र धार्मिक पर्यटनका हिसावले आर्थिक समृद्धी ल्याउन महोत्सव महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।
सो अवसरमा पुर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिना, केन्द्रीय समितिका श्याम केसी, गोपाल सञ्जेल, वडा अध्यक्षहरु, विभिन्न उप समितिका संयोजकहरुको सहभागिता रहेको थियो ।

पत्रकार सम्मेलनमा जारी प्रेस बिज्ञप्तिको पुर्ण पाठ

काभ्रेपलाञ्चोक जिल्लाको दक्षिणी भेगमा प्राकृतिक सुन्दरताले भरिपूर्ण बेथानचोक गाउँपालिका वडा नं. २, ढुंखर्क स्थित पावन श्रीकृष्ण प्रणामी मन्दिरको आयोजनामा यही वि.सं. २०८२ साल चैत २७ गतेदेखि २०८३ साल वैशाख ३ गतेसम्म (10–16 April, 2026) सञ्चालन हुने “श्री १०८ श्रीमत्तारतम सागर पाठ सप्ताह ज्ञान महायज्ञ तथा श्रीकृष्ण प्रणामी धर्म जागनी महा–महोत्सव” आयोजना गरिएको जानकारी यहाँहरू समक्ष प्रस्तुत गर्न पाउँदा हामी मूल समारोह समिति अत्यन्त हर्षित छौं।

महोत्सवमा श्रीकृष्ण प्रणामी धर्मका धर्माचार्य, वर्तमान सतगुरु स्वरूप अनन्तश्री विभूषित जगतगुरु आचार्य श्री कृष्णमणि महाराजश्रीबाट नवनिर्मित मन्दिरको कलश अनावरण गरिने कार्यक्रम तय गरिएको छ। साथै विभिन्न परमहंस पीठका गाधिपति एवं सन्त–महात्मा तथा गुरुजी महाराजहरूको आगमनले महोत्सवलाई अझ गरिमामय र आध्यात्मिक बनाउने विश्वास लिइएको छ।

यस धार्मिक महोत्सवको मुख्य उद्देश्य वैदिक सनातन धर्मको संरक्षण, आध्यात्मिक चेतनाको विकास, नैतिक मूल्य–मान्यता तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्नुका साथै समाजमा आध्यात्मिक जागरण फैलाउनु रहेको छ। साथै यस क्षेत्रलाई धार्मिक, सांस्कृतिक तथा पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यका साथ यो महोत्सव आयोजना गर्न लागिएको हो।

यस धर्म महामहोत्सव अन्तर्गत सात दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन हुनेछन्। सञ्चालन हुने कार्यक्रमहरूलाई बुँदागत रूपमा यहाँ प्रस्तुत गरिएको छ :
• २०८२ साल चैत २६ गते बिहान ११ बजे श्रीकृष्ण प्रणामी मन्दिर, बनेपा–९ नयाँवस्तीबाट कार्यक्रमस्थल ढुंखर्कसम्म मोटरसाइकल र्‍याली
• २०८२ साल चैत २७ गते बिहान १० बजे १०८ कलश शोभायात्रासहित १०८ ब्रह्ममुनि गुरुजनहरूबाट श्री तारतम सागर पाठ पारायण
• २०८२ साल चैत २८ गते (शनिबार) रक्तदान कार्यक्रम
• २०८२ साल चैत ३० गते श्रीकृष्ण प्रणामी धर्मका धर्माचार्य, वर्तमान सतगुरु स्वरूप अनन्तश्री विभूषित जगतगुरु आचार्य श्री कृष्णमणि महाराजश्रीबाट नवनिर्मित मन्दिरको कलश अनावरण
• २०८३ साल वैशाख १ गते व्रतबन्ध कार्यक्रम
• श्रीमद् तारतम सागरको दिव्य कथा वाचन तथा प्रवचन
• भजन–कीर्तन तथा सत्सङ्ग कार्यक्रम
• दैनिक वैदिक अनुष्ठान, अन्नप्राशन, चौरासी पूजा, गुन्यौचोली आदि
• दैनिक तारतम मन्त्र प्रदान तथा आत्मजागनी कार्यक्रम
• कार्यक्रम अवधिभर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
• धार्मिक तथा सांस्कृतिक झाँकी प्रदर्शन
• स्थानीय कला–संस्कृति झल्कने सांस्कृतिक कार्यक्रमहरू
• धर्म, संस्कार र समाज जागरणसम्बन्धी विशेष कार्यक्रमहरू

यश सप्ताह ज्ञान महायज्ञमा प्रमुख संरक्षकको रूपमा नेपालको केन्द्रीय धाम श्री नवतनधामका गाधिपती बाबाजी श्री १०८ अमृतराजजी महाराजबाट आशीर्वचन प्रदान गरिनेछ। साथै महन्त स्वामी श्री १०८ पुरुषोत्तम महाराजजीको मुखारविन्दबाट श्रीमद् तारतम सागरको दिव्य कथा वाचन तथा आध्यात्मिक प्रवचन साथै अन्तरास्ट्रिय स्तरका कलाकारहरुबाट भजनकिर्तन हुने कार्यक्रम रहेको छ। उहाँका प्रेरणादायी प्रवचनबाट भक्तजन तथा धर्मप्रेमी महानुभावहरूले धर्म, ज्ञान र आध्यात्मिक मार्गदर्शन प्राप्त गर्ने विश्वास गरिएको छ।

यस महा–महोत्सव आयोजना हुन लागेको ढुंखर्क क्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्व पनि उल्लेखनीय रहेको छ। काभ्रेपलाञ्चोक जिल्लाका साविक ढुंखर्क, च्याम्राङवेसी, च्यासिखर्क, महाकाल भुग्देउ र चलाल गणेशस्थान गाविसहरू समेटिएर हालको बेथानचोक गाउँपालिका गठन भएको हो। यस गाउँपालिकाको केन्द्र ढुंखर्क काठमाडौँबाट करिब ४३ किलोमिटर दूरीमा अवस्थित छ।

ढुंखर्क क्षेत्र निजानन्द सम्प्रदायका सुन्दरसाथहरूको बाहुल्यता रहेको धार्मिक क्षेत्रका रूपमा परिचित छ। श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका संस्थापक परमहंस ब्रह्मलिन गुरुजी श्री १०८ युगलदासजी महाराजको वि.सं. १९५३ सालमा जन्म भएको थियो। उहाँले श्रीकृष्ण प्रणामी धर्ममा दीक्षा ग्रहण गरी वाणी–चर्चाको ज्ञान प्राप्त गर्नुभएको थियो। त्यसपछि आफ्नै पुख्यौली थलो ढुंखर्कबाट धर्म प्रचार–प्रसार सुरु गर्नुभएको पाइन्छ, जससँगै यस क्षेत्रमा धर्म जागनी अभियानको इतिहास सुरु भएको मानिन्छ।

यस क्षेत्रमा कमलकृष्ण बजगाईं, रमनदास अधिकारी, दिलदास तिमल्सिना, कमलदास आचार्य सन्त राजदास लम्साल तथा जुगलदाश तिमल्सिना लगायतका धर्मप्रचारक गुरुजनहरूको महत्वपूर्ण योगदानले श्रीकृष्ण प्रणामी धर्मको जागनी अभियानलाई अझ मजबुत बनाएको छ।

लामो समयदेखि यश स्थानमा सुन्दरसाथहरूले वि.सं. २०४८ सालमा श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिति ढुंखर्क गठन गरी अष्टमी, चतुर्दशी तथा बार्ह मेलाहरू घर–आँगन तथा सार्वजनिक स्थानहरूमा धार्मिक कार्यक्रम सञ्चालन गर्दै आएका थिए। त्यसपछि वि.सं. २०६२ सालमा ढुंखर्क इकाई समिति गठन भई मन्दिर निर्माणको पहल सुरु गरिएको थियो। स्थानीय महानुभावहरूको सहयोगबाट १ रोपनी ९ आना जग्गा खरिद गरी वि.सं. २०६३ साल चैत शुक्ल पूर्णिमाका दिन पण्डित श्री कृष्णप्रसाद सापकोटाको करकमलबाट मन्दिरको शिलान्यास गरिएको थियो। वि.स २०६९ साल चैत शुक्ल पूर्णिमाका दिन श्री राज्जी पद्रावनी गरेर नियमित सेवापुजा संचालन गरिदै आएको छ।

हाल यस क्षेत्रका सुन्दरसाथहरूलाई अभिभावकत्व प्रदान गर्दै श्रीकृष्ण प्रणामी समाज नेपालका प्रवक्ता पण्डित श्री कृष्णप्रसाद सापकोटा, पण्डित श्री तुलशीप्रसाद कोईराला, श्रीमद्भागवताचार्य श्री प्रह्लादराज शास्त्री, शास्त्री श्री घनश्याम अधिकारी, शास्त्री श्री सुदर्शन तिमल्सिना, विदुषी उषा माता, विदुषी नारायणी माता, पण्डित श्री युगलप्रसाद अधिकारी, भगवती अधिकारी, साहित्याचार्य श्री जनार्दन शास्त्री महाराज, पण्डित श्री पुरुषोत्तम खतिवडा तथा मनोज पराजुली लगायत गुरुजनहरूले मार्गदर्शन गरिरहनु भएको छ।

हाल यहाँ दुईतले सत्सङ्ग भवन सहितको सुन्दर श्रीकृष्ण प्रणामी मन्दिर निर्माण भइसकेको छ, जहाँ नन्दकुमारी (राधा) तिमल्सिनाज्यूले पुजारीका रूपमा सेवा गर्दै आउनु भएको छ। मन्दिरमा धार्मिक कार्यक्रमका साथै सत्सङ्ग, स्वास्थ्य शिविर, गोष्ठी, तालिम तथा विभिन्न सामाजिक कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएका छन्।

यस क्षेत्र बेथानचोक नारायणस्थान, तिनतले झरना, मुक्तेश्वर महादेव, भिम देवा नेवा समाज, क्षेत्रपाल थानीमाङ्कल, लक्ष्मीनारायण मन्दिर, शिव–पार्वती गुफा, कपेर माङ्काल तथा तिलेश्वर महादेव जस्ता धार्मिक तथा प्राकृतिक सम्पदाले समृद्ध रहेको छ, जसले यस स्थानलाई धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गरेको छ।

अतः यस पावन धार्मिक महोत्सवमा देश तथा विदेशबाट आउने लाखौँ भक्तजन, धर्मप्रेमी महानुभाव, स्थानीय बासिन्दा तथा सञ्चारकर्मी मित्रहरूलाई कार्यक्रम अवधिभर उपस्थित भई धार्मिक लाभ लिन तथा कार्यक्रमको प्रचार–प्रसारमा सहयोग पुर्‍याइदिन हार्दिक विनम्रतापूर्वक अनुरोध गर्दछौँ। प्रणाम

प्रेरक :
श्रीकृष्ण प्रणामी धर्माचार्य अनन्तश्री विभूषित जगतगुरु कृष्णमणि महाराज

आयोजक :
श्रीमत् तारतम सागर १०८ पाठपारायण एवं श्रीकृष्ण कथा ज्ञान महायज्ञ मूल समारोह समिति
बेथानचोक–२, ढुंखर्क, काभ्रेपलाञ्चोक

गीता शर्मा
कार्यक्रम संयोजक

तपाईको प्रतिक्रिया