
काभ्रेपलाञ्चोक जिल्लामा खाना पकाउने ग्यासको अभाव नरहेको जिल्ला प्रशासन कार्यालयले दाबी गरे पनि बजारमा भने उपभोक्ता खाली सिलिण्डर बोकेर ग्यास खोज्दै हिँड्ने दृश्य अझै देखिन थालेको छ। प्रशासन र उद्योगीले अभाव नभएको बताइरहँदा वास्तविकतामा भने उपभोक्ता ग्यास नपाएर पसल–पसल धाउन बाध्य भएका छन्।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सोमबार प्रहरी, पत्रकार, उद्योग वाणिज्य संघका प्रतिनिधि तथा ग्यास उद्योगीहरूसँगको छलफलपछि सूचना जारी गर्दै जिल्लामा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको अभाव नरहेको जनाएको थियो। प्रशासनले बजारमा ग्यास आपूर्ति नियमित रहेको र अनावश्यक हल्ला नफैलाउन आग्रहसमेत गरेको छ।
तर प्रशासनको उक्त दाबीपछि पनि धुलिखेल, बनेपा लगायतका बजार क्षेत्रमा उपभोक्ता खाली ग्यास सिलिण्डर बोकेर ग्यास खोज्दै हिँडिरहेको दृश्य सामान्यजस्तै देखिन्छ। यसले प्रशासन र उद्योगीहरूले गरेको दाबीमाथि प्रश्न उठाएको छ।
पर्याप्त आपूर्ति भएको उद्योगीको दाबी
काभ्रेमा ग्यास आपूर्ति गर्ने उद्योगीहरूले भने बजारमा ग्यासको कुनै अभाव नभएको दाबी गरेका छन्। उद्योगबाट नियमित रूपमा ग्यास पठाइरहेको र आपूर्ति प्रणाली सामान्य रहेको उनीहरूको भनाइ छ।
एक ग्यास उद्योगीले भन्नुभयो, “उद्योगबाट ग्यासको आपूर्ति नियमित भइरहेको छ। बजारमा देखिएको समस्या वितरण प्रणाली वा अनावश्यक त्रासका कारण हुन सक्छ।”
त्रासका कारण बढ्यो माग
स्थानीय व्यवसायीहरूका अनुसार ग्यास अभाव हुन सक्ने त्रासका कारण उपभोक्ताले एकै पटक धेरै सिलिण्डर संकलन गर्न खोज्दा बजारमा असहज अवस्था देखिएको हो।
बनेपाका एक ग्यास डिलरले भन्नुभयो, “केही दिनयता उपभोक्ताले एकै पटक ग्यास खोज्न थालेका छन्। त्रासका कारण माग बढ्दा अस्थायी समस्या देखिएको हो।”
उपभोक्ता भने समस्यामा
उद्योगी र प्रशासनले अभाव नभएको दाबी गरे पनि उपभोक्ताले भने बजारमा सहज रूपमा ग्यास नपाइरहेको गुनासो गरेका छन्। धुलिखेलका एक स्थानीयले भन्नुभयो, “हामी बिहानैदेखि खाली सिलिण्डर बोकेर पसल–पसल धाइरहेका छौँ, तर ग्यास पाउन गाह्रो भइरहेको छ। अभाव छैन भने ग्यास कहाँ गयो ?”
यसरी उपभोक्ता स्वयं सडकमा ग्यास खोज्दै हिँड्नुपर्ने अवस्थाले प्रशासन र उद्योगीहरूको दाबीलाई चुनौती दिएको देखिन्छ।
अनुगमन प्रभावकारी नभएको गुनासो
सर्वसाधारणले जिल्ला प्रशासन कार्यालयले गर्ने बजार अनुगमन प्रभावकारी र पारदर्शी नभएको गुनासो पनि गरेका छन्। बजारमा ग्यासको अभाव देखिँदा पनि त्यसको वास्तविक अवस्था सार्वजनिक हुन नसकेको भन्दै उपभोक्ताले सम्बन्धित निकायलाई थप सक्रिय हुन आग्रह गरेका छन्।
उद्योगीहरूले पर्याप्त ग्यास पठाएको दाबी गरिरहँदा बजारमा देखिएको अभावको वास्तविक कारणबारे स्पष्ट खोजी हुनुपर्ने आवश्यकता देखिएको छ। कागजमा ग्यास अभाव नभएको भनिए पनि व्यवहारमा भने उपभोक्ताले ग्यास पाउन कठिनाइ भोग्नुपरेको अवस्था कायमै रहेको छ।

तपाईको प्रतिक्रिया