नमोबुद्धका हजार विद्यार्थीलाई न्यायो कपडा

नमोबुद्ध, काभ्रेपलाञ्चोक — रोटरी क्लब अफ काठमाडौं हाइटले अफ“गिफ्ट वार्म्थ (न्यानो कपडा उपहार)” कार्यक्रम अन्तर्गत नमोबुद्ध नगरपालिका वडा नं. १ देखि ४ सम्मका ११ वटा सामुदायिक विद्यालयका १,००० जना विद्यार्थीहरूलाई स्वेटर वितरण गरेको छ। उक्त कार्यक्रम “नेपाल स्कुल सपोर्ट इनिसिएटिभ – ब्याक टु दि स्कुल डिजास्टर सपोर्ट प्रोजेक्ट” अन्तर्गत सञ्चालन गरिएको हो।

यो परियोजना सन् २०२४ मा काभ्रेपलाञ्चोक र सोलुखुम्बु जिल्लामा आएको भीषण बाढी र पहिरोपछि सुरु गरिएको हो। प्राकृतिक विपद्का कारण धेरै विद्यालयहरू क्षतिग्रस्त भएका थिए भने हजारौं विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको थियो। विपद्पछिको अवस्थामा विद्यार्थीहरूलाई पुनः विद्यालय फर्काउन र उनीहरूको शिक्षा निरन्तरता सुनिश्चित गर्न रोटरी क्लब अफ काठमाडौं हाइटले स्थानीय तथा अन्तर्राष्ट्रिय साझेदारीमार्फत यो अभियान सञ्चालन गरेको हो।

यस परियोजनामा रोटरी क्लब अफ कोलम्बिया सेन्टर, रोटरी क्लब अफ क्रानब्रुक सनराइज, रोटरी क्लब अफ क्रानब्रुक (रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ५०८०, अमेरिका–क्यानडा) तथा रोटरी क्लब अफ टिमिन्स–पोर्कुपाइन (रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ७०१०, क्यानडा) को आर्थिक तथा प्राविधिक सहयोग रहेको छ। स्थानीय रूपमा यो परियोजना रोटरी क्लब अफ काठमाडौं हाइट (आरआई डिस्ट्रिक्ट ३२९२) को समन्वयमा नमोबुद्ध नगरपालिका, सोलुदुधकुण्ड नगरपालिका, संस्कृति फार्म्स एण्ड रिसर्च सेन्टर, द स्मल वर्ल्ड लगायतका साझेदार संस्थाहरूसँग सहकार्यमा कार्यान्वयन भइरहेको छ।

कार्यक्रमबारे जानकारी दिँदै रोटरी क्लब अफ काठमाडौं हाइटका २०२६–२७ का अध्यक्ष–निर्वाचित तथा परियोजनाका प्रमुख रोटेरियन श्रीकृष्ण धिताल ले भन्नुभयो:

“यस परियोजनाको उद्देश्य न्यून आय भएका तथा विपद् प्रभावित पृष्ठभूमिका विद्यार्थीहरूलाई समान र न्यायोचित अवसर प्रदान गर्नु हो। जलवायुजन्य विपद्का कारण बालबालिकाको शिक्षा प्रभावित हुनु हुँदैन।”

परियोजनाको पहिलो चरण सफलतापूर्वक सम्पन्न भइसकेको छ भने अब दोस्रो चरणमा विद्यालयहरूलाई स्टेसनरी तथा खेलकुद सामग्री वितरण, फलफूलका बिरुवा रोपण, तथा दिवा खाजा (डे–मिल) सहयोग कार्यक्रम सञ्चालन गरिने जनाइएको छ, जसले विद्यार्थीहरूको पोषण अवस्था सुधार गर्नुका साथै सिकाइ क्षमतामा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

यस परियोजना सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा पनि विस्तार गरिनेछ, जसबाट दुर्गम तथा बढी प्रभावित क्षेत्रका विद्यार्थीहरू समेत लाभान्वित हुनेछन्।

समग्रमा, नेपाल स्कुल सपोर्ट इनिसिएटिभ अन्तर्गत २,५०० भन्दा बढी विद्यार्थीहरू लाभान्वित हुने अनुमान गरिएको छ। यसले विपद्पछिको शैक्षिक पुनर्स्थापनामात्र नभई दीर्घकालीन रूपमा बालबालिकाको स्वास्थ्य, पोषण र समुदायको जलवायु सहनशीलता वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

यो पहलले शिक्षा, विपद् व्यवस्थापन, जलवायु अनुकूलन र सामुदायिक विकासमा रोटरीको निरन्तर प्रतिबद्धता, अन्तर्राष्ट्रिय सहकार्य तथा स्थानीय नेतृत्वको प्रभावकारी उदाहरण प्रस्तुत गरेको छ।

तपाईको प्रतिक्रिया