काभ्रेका १३ स्थानीय तह यसअघि कांग्रेस र कम्युनिस्टको किल्ला जस्तै थिए । १३ स्थानीय तहका १३५ वडाका निर्वाचनमा कुन वडाको कुन वुथबाट कुन दलले कम र धेरै मत ल्याउने पहिल्यै निश्चित जस्तै हुन्थ्यो तर यो पटकको निर्वाचनमा कांग्रेस र कम्युनिस्टको किल्लाभित्र रास्वपाले जबरजस्त ईन्ट्री मारेको छ । त्यसमा राप्रपा नेपाल र उज्यालो पाटीका उम्मेदवारले रास्वपालाई पछ्याईरहेका छन् । उनीहरुको मतले विजयी हुने उम्मेदवार पराजित हुन र पराजित हुने उम्मेदबार विजयी हुन पनि सक्ने देखिन्छ । काभ्रेमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढ्दै गएको छ । एमालेका प्रत्यक्षतर्फका उम्मेदवारले घरदैलो कार्यक्रम सुरु गरिसकेका छन् । कांग्रेसले चुनावी माहौल तताउँदै छ । रास्वपा आक्रमक प्रचारशैलीमा लागेको देखिन्छ । नेपाली कम्युनिस्ट पार्टीले उम्मेदवारलाई गाउँगाउँ खटाएर मतदातासँग मत माग्न थालिसकेको छ । राप्रपा नेपालका उम्मेदवारले आफ्नो राजसंस्थाको पुनःस्थापनाको मुद्धा बोकेर हिडेको छ । उज्यालो नेपालका उम्मेदवार आफ्ना कुरा राख्न मतदातासँग पुगेका छन् । नेकपा संयुक्तका उम्मेदवारले आफ्नो रफ्तार समातिसकेका छन् ।
दुईवटा प्रतिनिधिसभा सदस्य रहेको काभ्रेमा ठुलादेखि साना राजीतिक दलले निर्बाचन परिणाम आफ्नो पोल्टामा पार्न प्रचार प्रसारको गतिविधि बढाउँदै गएका छन् । जिल्लामा छ स्वतन्त्रसहित ४२ जना उम्मेदवार चुनाबी प्रतिस्पर्धामा रहेका छन् ।
नेपाली काँग्रेसले निर्वाचन क्षेत्र नं. १ र २ मा चुनावी कार्यक्रम सुरु गरेको छ । उम्मेदवार गुणराज मुक्तान र मधु आचार्यका चुनावी कार्यक्रम निरन्तर रुपमा अघि बढेका छन् । कांग्रेस दुबै क्षेत्रमा विभाजित देखिएको छ । अमिलो मन लगाएर नेता कार्यकर्ता निर्वाचनमा लागेको विश्लेषण सुनिएको छ । यो क्षेत्रमा संसदीय फाँटमा नयाँ अनुहार मुक्तान हुन् भने आचार्य यसअघि पनि उम्मेदबार बनेका व्यक्ती हुन् ।
नेकपा (एमाले) ले पनि प्रतिनिधिसभाका दुई वटै निर्बाचन क्षेत्रमा आफ्नो उम्मेदवारलाई जिताउन वडा–वडामा र टोल–टोलमा छलफल, भेला गरिरहेको उक्त पार्टीका प्रचार विभाग प्रमुख श्यामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘उम्मेदवार पनि गाउँ–गाउँ गई घरदैलो कार्यक्रम गरिरहेका छन् । क्षेत्रीय समन्वय समितिको बैठक बसी निर्बाचन परिचालन कमिटी बनाउने र प्रचार प्रसारका थप कार्यक्रम बनाउने काम भइरहेको छ ।’ पालिकाले पनि आफ्नो तालिका बनाएर प्रचारको काम सुरु गरेको छ । उम्मेदवार मतदातासँग अघि बढेका छन् । एमालेबाट १ मा उम्मेदवार बनेका अमित लामा युवाबीच सुपरिचत नाम हो भने २ नं बाट उठेका अशोक व्याञ्जु धुलिखेल नगरका पूर्व नगरप्रमुख हुन् । उनी स्थानीय तहका विज्ञ मानिन्छन् ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टीले पनि मतदाता भेटघाट, पार्टीको आन्तरिक भेला, जनबर्गीय संगठनको बैठक लगायत गतिविधि बढाउँदै लगेको सो पार्टीका नेता रमेश ढकालले बताउनुभयो । उहाँका अनुसार दुबै क्षेत्रका उम्मेदवारले घरदैलो कार्यक्रम सुरु गरेका छन् । सो पार्टीले क्षेत्र नं १ मा दिनानाथ गौतम र क्षेत्र नं २ मा बसुन्धरा ह्ुँमागाईलाई उम्मेदवार बनाएको छ । गौतम चौरीदेउराली गाउँपालिकाका पुर्व अध्यक्ष र हुँमागाई बागमती प्रदेशका पुर्व मन्त्री ह्ुन् ।
निर्वाचन आचार संहिताले पनि फागुन ४ गतेपछि मात्रै खुल्ला रुपमा प्रचार प्रसारका गतिविधि बढाउने भनेकाले अहिले पार्टीको आन्तरिक गतिविधि मात्र भइरहेको दलहरुले दाबी गरेका छन् । यसअघिका निर्वाचनमा कांगे्रस र कम्युनिस्टका आधार ईलाका भनिएको ठाउँमा रास्वपाको जबरजस्ती ईन्ट्री देखिएको छ । काभ्रे १ मा रास्वपाका मधुुकुमार चौलागाई र क्षेत्र नं २ मा वदनकुमार भण्डारीको आक्रमक प्रचारशैली अरु दलका लागि टाउको दुखाई बन्न सक्छन् । उनी विजयी हुने धेरै आधारहरु रहेको राजनितीक विश्लेषक बताउँछन् । बनेपामा करिब चार दशक कांग्रेसको राजनीति गरेका ईन्द्रनारायण भैलले बनेपा, पाँचखाल र मण्डनदेउपुरमा जनतामा मत परिर्वतनको तिव्र आकाक्षा देखिएको बताउनुभयो । उहाँले उम्मेदवारकै वडामा पनि रास्वपाले लिड गर्न सक्ने आंकलन गरिएको बताउँछन् । कम्तिमा ४५ हजार मत ल्याएर विजयी हुन सक्ने अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो ।
चार दलबीच नै मुख्य प्रतिस्पर्धा
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा काभ्रेपलाञ्चोकको प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा दलहरुबिच कडा चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । यस पटकको निर्वाचनमा यो क्षेत्रमा विशेष गरी नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवारबिच कडा प्रतिस्पर्धा हुने अनुमान गरिन थालिएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ को समानुपातिक तर्फको मतको आधारमा यो क्षेत्रमा नेकपा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो, रास्वपा तेस्रो र नेपाली कम्युनिस्ट पार्टी चौथो पार्टी हो । तर अहिलेको माहौल रास्वपा तिर देखिएको चर्चा पनि छ र
प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा एमालेले ५४ वर्षीय केन्द्रीय सदस्य अशोककुमार ब्याञ्जु श्रेष्ठ, कांग्रेसका ६१ वर्षीय केन्द्रीय सदस्य मधुप्रसाद आचार्यले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, रास्वपाका तर्फबाट ३३ वर्षीय बदनकुमार भण्डारी र नेकपाको तर्फबाट ५५ वर्षीय बसुन्धरा हुमागाईले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस पटक काभ्रेपलाञ्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा एमाले चुनावी परिणाम आफ्नो पक्षमा पारेर यस क्षेत्रमा विजयीको चौथो स्वाद चाख्ने योजनामा छ । एमालेले यो क्षेत्रमा लगातार चार पटक विजयी भएको हो । संविधान सभा निर्वाचन २०७० मा एमालेका विदुर सापकोटा, पहिलो संविधान सभा निर्वाचनमा बागमती प्रदेशभरबाट एमालेले जितेको एक मात्र सिट यही क्षेत्रको हो ।
यसअघि पार्टीबाट टिकट पाएर दुई पटक विजयी बन्नुभएका एमालेका केन्द्रीय सदस्य गोकुलप्रसाद बास्कोटालाई पछि सार्दै पार्टीले केन्द्रीय सदस्य तथा धुलिखेल नगरपालिकाका नगर प्रमुख ब्याञ्जुलाई टिकट दिएको हो । करिब २८ वर्ष स्थानीय तहमा काम गर्नुभएका ब्याञ्जु स्थानीय तहका विज्ञ हुन् । तर टिकट खोसिएको भन्दै कार्यकर्ता तह मै नैराश्यता छाएको छ ।
यसअघिका दुई पटकका निर्वाचनमा यो क्षेत्रमा विजयी भएको पार्टीलाई पुनः विजयी गराएर विजयीमा ह्याट्रिक गर्नुपर्ने चुनौती ब्याञ्जु र एमाले काभ्रेपलाञ्चोकमा देखिएको छ । ब्याञ्जुले नयाँ पुस्ता, नयाँ समाजले परिकल्पना गरेको र नयाँ पुस्ताले अघि सारेको र आजको आवश्यकता अनुसारको राजनीतिक प्रणालीलाई सुधार र समृद्ध गर्नका लागि मेरो उम्मेदवारी रहेको बताउनुभयो । यसअघिका दुई वटा निर्वाचनमा पराजय बेहोरेको कांग्रेस यस पटक क्षेत्र नम्बर–२ मा विजयी भएर पराजयको पुरानो घाउँमा मल्हम लगाउने रणनीतिमा रहेको छ । गोकुल बाँस्कोटाले टिकट नपाएपछि कांग्रेस हौसिएको छ ।
यो क्षेत्रमा कांग्रेस प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा हालका उम्मेदवार आचार्य र ०७९ मा पूर्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागाँई एमालेका उम्मेदवार गोकुलप्रसाद बाँस्कोटासँग पराजित हुनुभएको थियो । आचार्यले युवाहरूको भावना अनुसार मुलुकमा सुशासन कायम गर्न, भ्रष्टचारमुक्त समाजको निर्माणमा योगदान गर्न, सबै क्षेत्रमा अनावश्यक रूपमा भएको दलियकरणको अन्त्य गर्न र जनतलाई प्रत्यक्ष सेवा पु¥याउनका लागि आफुले उम्मेदवारी दिएको बताउनुभयो ।
पछिल्लो समय आफ्नो पार्टीप्रति देखिएको नागरिकको समर्थनलाई चुनावी परिणाममा परिणत गरेर राष्ट्रिय स्वतन्त्र पार्टी विजयी हुने लक्ष्यका साथ चुनावी अभियानमा लागेको छ । रास्वपाले यस क्षेत्रमा ३३ वर्षीय युवा बदनकुमार भण्डारीलाई उम्मेदवार बनाएर युवा पुस्ताको मत आफुतिर तान्न तल्लिन देखिएको छ । उम्मेदवार भण्डारीले मुलुकमा सुशासन कायम गर्नुपर्ने भ्रष्टचारको नीति गत अन्त्य गर्नुपर्ने, जेनजीको माग सम्बोधन गर्नुपर्ने, जनहितमा आवश्यक नीति बनाउनुपर्ने र जनहितमा नभएका नीतिलाई अन्त्य गर्नुपर्नेछ त्यसका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । उहाँ जित सन्मुख रहेको दाबी गर्नहुन्छ । कुनै पनि पालिकामा दोश्रो हुनु पर्दैन अनि मत कसरी पराजित ह्ुन सक्छु उहाँले आफ्नो तर्क पेस गर्नुभएको छ ।
यसैगरी, यस क्षेत्रमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी मिलेर बनेको नेकपाको तर्फबाट बसुन्धराले उम्मेवारी दिनुभएको हो । लामो समयसम्म एमालेमा सक्रिय राजनीति गर्नु भएका हुमागाई एमालेबाट छुट्टिएर एकीकृत समाजवादी हुँदै हाल नेकपाबाट उम्मेदवार बन्नुभएको हो । हुमागाई यसअघि बागमती प्रदेशको कृषि मन्त्रीको रूपमा काम समेत गर्नुभएको थियो ।
हुमागाईले देशमा सुशासन कायम गर्न, समृद्ध राष्ट्र, सुखी नेपाली बनाउन, जनताले खोजेको परिवर्तन खोजेको छ र नयाँ पुस्ताको माग सम्बोधन गर्नका लागि र किसान, मजदुर र सर्वहारा जनताको पक्षमा काम गर्नका लागि आफुले उम्मेदवारी दिएको बताउनुभयो । प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा राजनीतिक दल र स्वतन्त्र रूपमा उम्मेदवारी दिनुभएका उम्मेदवारहरू राजनीतिक दलहरूभित्र देखिएका असन्तुष्ट नेता तथा कार्यकर्तालाई आफुतिर आकर्षित गरेर चुनावी परिणाम आफ्नो पक्षमा पार्ने होडबाजीमा लाग्नुभएको छ ।
अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा क्षेत्र नम्बर–२ मा समानुपातिकतर्फ एमालेले ३४ हजार ७०५ मत, कांग्रेसले २६ हजार ५५६ मत, रास्वपाले १६ हजार ८२६ मत, माओवादी केन्द्रले सात हजार ९२६ मत र एकीकृत समाजवादीले छ हजार १४३ मत प्राप्त गरेका थिए । अघिल्लो पटकको प्रत्यक्षतर्फको निर्वाचनमा एमालेका गोकुल बास्कोटाले ४५ हजार ३४५ मत ल्याएर विजयी हुनु भएको थियो भने कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाई ३९ हजार ४८२ मत ल्याई पराजित हुनुभएको थियो ।
कम्युनिस्ट र कांग्रेसको किल्लामा ‘ रास्वपा’ जबरजस्त ईन्ट्री
2026-02-02T07:40:32+05:45

तपाईको प्रतिक्रिया