
चौरीदेउराली गाउँपालिकाका वडा नं ५ को अग्रणी किसान भमीकुमारी तिवारीको हातमा बर्षाैपछि कलम र कापी परेको छ । अधिकाशं समय हँसिया, कुटो र कुदोलो हुने उहाँको हातमा किताब कापी परेपनि उहाँको दैनिकीमा उर्जा भरिएको छ । केही सिकौ भन्ने हुटहुटी थपिएको छ ।
यो कुनै विद्यालय र विश्वविद्यालय हैन मध्यपहाडी जिल्ला काभ्रेपलाञ्चोकको चौरीदेउरालीमा संचालन भएको कृषक पाठशाला हो । हातमा किताब र कापी साथमा मौसमीपात्रो भएका उहाँहरुको ध्येय भनेको शुद्ध बिउ उत्पादनमार्फत आत्मनिर्भर बन्नु नै हो । उहाँजस्ता २७ जना किसान मंसिर १९ देखि संचालनमा आएको कृषक पाठशालमा अध्ययन गरिरहेका छन् ।
स्वस्थ्य गहुँको बिउ उत्पादनमा कसरी सफलता हात पार्न सकिन्छ भनेर गाउँका अरु साथीसँगै आएर पढ्नुहुन्छ । दैनिक रुपमा उहाँहरु आफुले सिकेको कुरा लेख्नु हुन्छ । सहजकर्तासँग निरन्तर परामर्श गरिरहनुहुन्छ । एउटा गहुँको बोटबाट कति उत्पादन हुन्छ भन्ने ज्ञानसँगै त्यसलाई समुदायसम्म पु¥याउने कला पाठशालाले सिकाएको अर्का सहभागी कृषक टेकप्रसाद चौलागाईले भन्नुभयो । सुरुमा हामीले बर्षौदेखि खेती गरिरहेका हो नी गहुँ छर्न पनि के सिकाएको होला जस्तो लागेको थियो’ उहाँले थप्नुभयो ‘व्यावसायिक रुपमा गहँुखेतीका लागि यो निक्कै आवश्यक पो रहेछ, यसले अरुबालीमा पनि प्रयोग गर्ने आधार सृजना गरिदियो ।’

‘खनजोतदेखि बाली भित्राउने अवधिसम्म पाठशालामा सिकाईन्छ । खाद्यवस्तु, शत्रुजीव र मित्रजीवका फाईदा र बेफाईदाको बारेमा पढाईहुन्छ’ उहाँले भन्नुभयो । ३० बर्ष खेतबारीमा काम गर्दा थाहा नपाएको कुरा एउटा कृषक पाठशालाले सिकाएको उहाँहरुको अनुभव छ । राजकुमार सापकोटाले गुणस्तरीय बिउ उत्पादनमा कृषक पाठशाला निक्कै सहयोगी बनेको बताउनुभयो । उहाँले मध्यपहाडी भेगमा पनि उत्कृष्ट बिउ उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण पाठशाला बनेको बताउनुभयो । किसानकै खेतबारीमा गएर बाली उत्पादन अवधिभर सामूहिक रुपमा किसानहरुलाई सिकाइने कृषक पाठशाला किसानमाझ प्रभावकारी बन्दै गएको आफूले अनुभव गरेको सहजकर्ता अञ्जना चौलागाईले उल्लेख गर्नुभयो ।
कृषिमा अधुनिक खेती प्रणाली भित्रिरहेको समयमा जिल्लाकै विकट सो गाउँपालिकाका किसानहरु कृषक पाठशालामार्फत् प्राविधिक ज्ञान बटुलिरहेको कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले उल्लेख गर्नुभयो । पाठशालाले समग्र कृषिको विकासमा मद्धत पु¥याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
किसानहरुकै खेतबारीमा गएर बिउ छर्नेदेखि भित्राउने समयसम्म देखापर्ने समस्याहरुमा केन्द्रित भई खोज र प्रयोगका आधारमा बाली उत्पादन गरिने अभ्यासले किसानहरुमा प्राविधिक ज्ञान बढ्दै लगेको छ भने बिउमा आत्मनिर्भर बनाउने ढोका खोलेको उहाँले स्पष्ट पार्नुभयो ।
बारीदेखि बजारसम्मका बारेमा किसानलाई पाठशालामा सिकाई हुने हुँदा कृषकहरु पाठशालामा बढी आकर्षित हुन थालेको कृषि विकास कार्यालय काभ्रेका अधिकृत लक्ष्मी आचार्यले उल्लेख गर्नुभयो । उहाँले निरन्तर रुपमा बाली छरदेखि भित्राउने समयसम्मको सम्पुर्ण ज्ञान किसानलाई दिने बताउनुभयो ।
किसानहरुलाई व्यवहारिक प्रयोगात्मक र खोजपूर्ण तरिकाहरु अपनाएर बाली अवधिभर गरिने अवलोकन, विश्लेषण र समूह छलफल गराई तत्काल आएका समस्याहरुको समाधान गर्न पाठशालाले कृषकलाई दक्ष थलो बनेको उहाँले विश्वास व्यक्त गर्नुभयो । पाठशालामा विभिन्न फरक फरक रुपमा बाली उत्पादनको विधि समेत प्रयोग गरिने बताउनुभयो । प्राङ्गारिक र रासायनिक पदार्थ प्रयोग गरेर उत्पादन गरिएका खाद्यान्नमा हुने अन्तर समेत पाठशालाबाट किसानले सिक्ने उहाँले उहाँले बताउनुभउयो ।
पाठशालामा कृषि प्राविधिकको सहयोगमा किसानहरुले आफैं रोग, किराको पहिचान गर्नेदेखि बालि उत्पादनसँग सम्बद्ध समस्याहरुमा केन्द्रित भई सामूहिक खोज गर्ने हुँदा किसानहरुमा प्राविधिक र प्रविधिको ज्ञान बढ्दै गएको अनुभव मिलेको कृषक लक्ष्मी चौलागाईले बताउनुभयो ।
पाठशालामा किसानहरु भौतिक रुपमै उपस्थिति भएर सिकाई हुने हँुदा किसानहरु खेती गर्न अब्बल हुँदै गएका छन् । कृषक समूहमा गरिने अभ्यासले समूह बाहिरका किसानहरु समेत लाभान्वित हुँदै आएको र आफूहरुले सिकेको सिपलाई समुदायस्तरमा लगेर सिकाउने गरिएको छ ।
लक्ष्मी चौलागाईले कुन जातको बिउ लगाउँदा राम्रो हुने ज्ञान सिकेको उल्लेख गर्दै समस्या आएमा जैविक र रासयनिक बिषादीको प्रयोग गर्ने थाहा पाउने बताउनुभयो । चौरीदेउरालीमा मात्र हैन काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका विभिन्न स्थानीय तहमा जिल्ला कृषि विकास कार्यालय काभ्रेले कृषक पाठशाला संचालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया