
पनौती । पनौती नगरपालिकाको अठारौं नगर सभा सम्पन्न भएको छ । नगर सभाले बजेट तथा कार्यक्रम सम्बन्धी संशोधन प्रस्ताव, हालसम्मको प्रगति विवरण अनुमोदन सहित विभिन्न आठ वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो ।
नगर सभामा नगर प्रमुख रामशरण भण्डारीले नगर सभा सदस्यहरुले उठाएका विषयलाई सम्बोधन गर्नुभयो । बाढीपहिरोबाट क्षति भएका संरचना पुर्ननिर्माणका लागि धेरै रकम खर्चनु परेकाले सोचे अनुसार विकास निर्माणका काम गर्न नसकिएको उहाँले बताउनुभयो । स्वास्थ्य, शिक्षा, रोजगारी, उद्यमशीलतालाई प्राथमिकतामा राखेर नगरपालिकाले काम गरिएको उहाँले दाबी गर्नुभयो ।
उपप्रमुख गिता बञ्जाराले चालु आर्थिक वर्षको लागि स्वीकृत बजेट तथा कार्यक्रम संशोधन सम्बन्धी प्रस्ताव पेश गरेकी गर्नुभयो । उहाँले बाढीपहिरोबाट क्षति भएका संरचना निर्माण, अति आवश्यक योजना समयमै निर्माण सम्पन्न गर्नका लागि बजेट संशोधन गर्नुपरेको उल्लेख गर्नुभयो ।
नगर सभामा चालु आर्थिक वर्ष २०८२÷२०८३ को हालसम्मको प्रगति विवरण अनुमोदन सम्बन्धी प्रस्ताव वडा नम्बर ३ का वडा अध्यक्ष विष्णुप्रसाद सापकोटा, चालु आर्थिक वर्षको आम्दानी खर्च अनुमोदन सम्बन्धी प्रस्ताव वडा नं. ९ का वडा अध्यक्ष सहकुल कुमार हुमागाँई, वडा नं. ११ का वडा अध्यक्ष विपेन्द्र लामाले शिक्षक दरबन्दी थप सम्बन्धी प्रस्ताव, वडा नं. १२ का वडा अध्यक्ष जयराम केसीले आर्थक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधयेक, वडा नं. ७ का वडा अध्यक्ष सविन ताम्राकारले विज्ञापन विधयेक, वडा नं. ४ का वडा अध्यक्ष दिपकप्रसाद दाहालले नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन विधयेक सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभयो ।
सत्रौं नगरसभा पश्चात हालसम्म पनौती नगर कार्यपालिकामा भएका निर्णयहरु अनुमोदन सम्बन्धी प्रस्ताव वडा नं. २ का वडा अध्यक्ष पुरुषोत्तम अधिकारीले राख्नुभयो । धन्यवाद प्रस्ताव वडा नम्बर १० का वडा अध्यक्ष मोहन बहादुर भण्डारीले राख्नुभयो ।

तपाईको प्रतिक्रिया