बनेपामा एमालेको शक्ति प्रर्दशन

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को जनपरिचालन कार्यक्रम अन्तर्गत मंगलबार देशभरका ७ सय ५३ पालिकामा जनप्रदर्शन आयोजना गरेको छ । सबै महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा जनप्रर्दशन कार्यक्रमको आयोजना भएको एमालेले उल्लेख गरेको छ ।
संविधानको रक्षा र प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दा बोकेर आधारभूत तहमा जाने एमालेले निर्णय गरे अनुसार पालिका स्तरमा जनपरिचालनका कार्यक्रम आयोजना गरेको हो । एमाले सचिवालय र केन्द्रीय कमिटी बैठकले वडा तहसम्मै जनपरिचालन गर्ने निर्णय गरेको थियो । सोही अन्तरगत बनेपामा बृहत अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ ।
प्रतिनिधि सभा पुनस्र्थापनाका लागि जनदबाब सिर्जना गर्न र पार्टीको पक्षमा माहौल सिर्जना गर्न आधारभूत तहमा फर्किने नीति लिएको एमालेले मंगलबार पालिका तहमा आफ्नो शक्ति केन्द्रित गरेको छ । एमालेले गत कात्तिक २२ गतेदेखि नै जनपरिचालनलाई तीव्रता दिएको छ । कात्तिक २२ गते ६ हजार ७४३ वडामै प्रदर्शन र भेला गरेको एमालेले कात्तिक २९ गते जिल्ला जिल्लामा प्रदर्शन गर्ने तयारी गरेको छ । मंसिर ६ गते भने काठमाडौंमा विशाल प्रदर्शनको तयारी गरेको एमालेले उल्लेख गरेको छ । आगामी मंसिर २७ गते पनि एमालेले शक्ति प्रदर्शनको तयारी गरेको छ । एमालेको ११ औं महाधिवेशन मंसिर २७, २८, २९ गते काठमाडौंमा गर्दैछ । उद्घाटन सत्रको दिन मंसिर २७ गते पनि ठूलो आमसभाको तयारी गरेको छ ।
प्रतिगामी षडयन्त्र भएको भन्दै एमालेले देशैभर जनपरिचालन गर्ने निर्णय अनुसार मंगलबार पालिका स्तरीय कार्यक्रमहरुको आयोजना गरेको छ । बनेपामा एमालेले एक खालको शक्ति देखाएको छ । एमालेको बनेपामा नवराज मानन्धरको नेतृत्वपछि चलायमानसँगै रचनात्मक कार्यमा अघि बढेको देखिन्छ । बनेपामा भएको कार्यक्रममा महासचिव शंकर पोखरेलले विशेष महत्व दिएर उपस्थित हुनुभएको छ ।
महासचिव शंकर पोखरेलले नेपालमा हाल देखिएका राजनीतिक अस्थिरता र जेनजी आन्दोलनका पछिल्ला घटनाहरू ‘योजनाबद्ध षड्यन्त्रको परिणाम’ भएको बताउनुभएको छ ।
उहाँले नेपाल अझै बलियो र सक्षम राष्ट्र बन्न नसक्दा पटक–पटक प्रतिगमनको दुष्चक्रमा फसिरहेको बताउनुभयो । ‘नेपाल बलियो र सक्षम राष्ट्र बन्न सकेको छैन । त्यसैले देश पटक–पटक प्रतिगमनको दुष्चक्रमा फस्ने गर्छ,’ उहाँले भन्नुभयो, ‘नेपाली समाजमा भ्रम सिर्जना गर्नेहरूले भ्रमकै खेती गरेर भदौ २३ र २४ का घटना गराए ।’
महासचिव पोखरेलका अनुसार, राजावादी शक्तिहरूले सो घटना चैत १५ गते नै गर्न चाहेका थिए, तर त्यतिबेला नसकेर पछि मात्रै उक्त योजना भदौमा कार्यान्वयन भएको हो । उहाँले माओवादी केन्द्र र अन्य शक्तिहरू पनि सो षड्यन्त्रको प्रतीक्षामा रहेका दाबी गर्नुभयो । ‘म्याजिक नम्बर भएको ३२ सिटे माओवादी केन्द्र पनि त्यस अवसरको पर्खाइमा थियो,’ उहाँले भन्नुभयो, ‘जेलमा रहेका रवि लामिछानेको पार्टी पनि सो दिनको प्रतिक्षामा थियो ।’
महासचिव पोखरेलले भदौ २३ र २४ का घटनामा विभिन्न विदेशी शक्ति र संस्था समेत संलग्न रहेको दाबी गर्नुभयो । ‘बाहिर देखिएका पात्र हेर्ने हो भने राजावादी, माओवादी, रास्वपा, बारबरा फाउन्डेसन र ओरिजिनल तिब्बतियन ब्लड ग्रुपलगायतका विदेशी शक्तिहरू भदौ २३ र २४ का घटनामा संलग्न थिए,’ उहाँको भनाइ छ, ‘वैधानिक सत्तालाई कमजोर बनाएर देशमा अस्थिरता ल्याई आफ्नो अनुकूल लाभ लिने योजनाअनुसार नै केपी ओली नेतृत्वको सरकार ढालिएको हो ।’
उहाँले राज्यका सबै निकायले सन्तुलनमा रही काम गर्न नसक्दा देश अस्थिर हुँदै गएको बताउनुभयो । ‘राष्ट्रको सही गन्तव्यका लागि सबै निकाय सन्तुलित हुनुपर्छ, तर नेपालमा त्यो अवस्था बनेको छैन,’ उहाँले भन्नुभयो ।
महासचिव पोखरेलले माओवादी देशको लागि सधैँ समस्या भएर उभिएको बताउनुभयो । ‘माओवादी समाधान होइन, यो देशको समस्या हो । जेन्जी आन्दोलनमा पनि माओवादीले आफ्नो हिस्सा माग्यो, भदौ २३ र २४ का घटनामा आफ्ना पुराना लडाकुहरू प्रयोग ग¥यो ।’
उहाँले देशलाई स्थायित्व र विकासको मार्गमा लैजान कम्युनिष्ट आन्दोलन र समाजवादकै मार्ग उपयुक्त रहेको बताउनुभयो । ‘देशलाई सही बाटोमा फर्काउन प्रतिनिधि सभा पुनःस्थापना आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘यो सरकारले चुनाव गराउन सक्दैन, यो सरकार त्यसका लागि बनेको पनि होइन ।’
पोखरेलले अहिलेका केही राजनीतिक दल र नेताहरूले चुनावको नाममा देशलाई फेरि अस्थिरताको दिशामा धकेल्न खोजिरहेका टिप्पणी गर्नुभयो । ‘फेरि आक्रमणको डरले केही दल र नेताहरू चुनावको पक्षमा उभिएका छन्, तर यो सरकार चुनाव गराउन बनाइएको होइन,’ उहाँले जोड दिनुभयो ।

महासचिव पोखरेलले भदौ २३ का दिन विद्यालय ड्रेसमा विद्यार्थीहरूलाई माइतीघर मण्डलामा लैजाने कार्यसमेत योजनाबद्ध रूपमा भएको दाबी गर्नुभयो ।‘त्यो दिन विद्यालयका विद्यार्थीहरूलाई बोर्डिङ स्कुलहरूले माइतीघरमा ल्याएर छाडियो, त्यो किन गरियो?’ उहाँले प्रश्न गर्नुभयो, ‘पानी बाँड्न गएका सुधन गुरुङ कसरी जेन्जी आन्दोलनका वार्ताकार बने ? त्यो काम बारबरा फाउन्डेसन र फ्रि तिब्बत अभियानमार्फत भएको अब सार्वजनिक भइसकेको छ ।’
उहाँले एमालेलाई अब निर्णायक राष्ट्रिय शक्ति बनाउने लक्ष्यका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो । ‘अब एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनु जरुरी छ,’ उहाँले निष्कर्ष निकाल्नुभयो, ‘त्यही शक्तिले मात्र देशलाई वर्तमान संकटबाट निकास दिन सक्छ । कोही निराश र हतास हुनुपर्ने छैन, अब जनताका बीचमा गएर जनताका कुरा सुन्ने हो आफ्ना कुरा भन्ने हो ।
कार्यक्रमका विशिष्ट अतिथी एमालेका पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गोकुल बाँस्कोटाले लोकतन्त्रको स्थिरताले समेत सार्थकता पाउन नसकेको बताउनुभयो । संसद पुनस्र्थापना एमालेको प्रमुख शर्त भएकाले यतिखेर एमालेका नेता कार्यकर्ताहरुको ध्यान र प्रर्दशन त्यसकै लागि भएको उहाँको दाबीछ ।

नागरिक सर्वाेच्चताका लागि एमाले सधै लडिरहेको बताउँदै काभ्रेलस् जनप्रिय नेता बाँस्कोटाले सार्वभौमिकता सहितको सर्वोच्चताका लागि एमालेले निरन्तर राजनीतिक आन्दोलनमा सक्रिय सहभागिता जनाईरहेको बताउनुभयो ।
‘जननिर्वाचित सरकार भंग गरिएको छ । यो सफ्ट ‘कु’ हो’–उहााँले भन्नुभयो, ‘सबैसँग मित्रता छ, कसैसँग शत्रुता छैन । देशभित्र चलखेल भयो ।’ टुटेको कडी प्रतिनिधिसभा विघटन हो, त्यो पुनस्र्थापना पछि नेपालको राजनीतिले ट्रयाक लिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
हरेक नेताले आफ्नो आफ्नो वडामा निर्वाचनमा विजय गराउने गरी संगठन र कमिटी बलियो बनाउने गरी सक्रिय हुनु पर्ने बताउँदै एमाले निर्वाचनबाट भाग्दैन तर साधारण वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो ।
सरकार निर्वाचन तर्फ नभई अन्य क्षेत्रमा अल्झिएको बताउँदै उहाँले प्रतिनिधि सभा पुनस्र्थापनापछि मात्रै निर्वाचन हुने स्पष्ट पार्नुभयो । भदौ २३ गतेको आन्दोलनका मागलाई भड्काउँदै भदौ २४ गतेको विध्वंस मच्चाईएको बताउनुभयो । प्रतिवद्धता सहितको आन्दोलनलाई ध्यान दिनु पर्ने बताउँदै नेता बाँस्कोटाले मसिंर ६ गतेको राजधानीको सभालाई विशाल बनाउन अनुरोध गर्नुभयो ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य रेशम लामा, प्रदेश कमिटी सदस्य अशोक ब्याञ्जु, जिल्ला कमिटी अध्यक्ष राजन भुर्तेल, प्रदेश कमिटी सदस्य कुमार तिमल्सिना, प्रदेश कमिटी सदस्य तथा बनेपा इन्चार्ज हरिशरण दाहाल लगायतले एमालेको नीति, धारणा र आगामी योजनाका बारेमा धारणा राख्नुभयो ।
नगर कमिटीले आयोजना गरेको कार्यक्रम अध्यक्ष नवराज मानन्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव पवन केसीले गरेका थिए भने स्वागत उप सचिव विक्रम प्रजापतिले गर्नुभयो । कार्यक्रममा केन्द्रिय सल्लाहकारहरु, विभिन्न जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
बनेपालाई एमालेमय बनाउँछौ ः मानन्धर
एमाले बनेपा नगर कमिटीका अध्यक्ष नवराज मानन्धरले बनेपालाई एमालेमय बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।
देशको विषम परिस्थितिमा यो कार्यक्रम आयोजना गरेको कार्यक्रममा ऐतिहासिक बनेकोमा उहाँले धन्यवाद ज्ञापन गर्नुभयो । स्वागत मन्तव्यमा के भने मानन्धरले गएको भदौ २३ र २४ गते जुन घटना भयो, त्यस घटनामा ज्यान गुमाउने हुने सम्पूर्ण ती हाम्रा जेन्जी छोराछोरीहरू प्रति र सुरक्षाकर्मीहरूप्रति भावपूर्ण श्रद्धा सुमन अर्पण गर्दछु ।
आन्दोलनका क्रममा घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँहरूको उपचार राज्यले गरोस् भन्ने जोडदार माग गर्दछु ।
अहिले राष्ट्रिय राजनीति विषम मोडबाट गुज्रिरहेको र परिवर्तनका उपलब्धिहरूलाई अपहरण गरी नेपाली जनतामा त्रासको माहोल खडा गरी, जनतालाई निराश बनाई, दलहरूप्रति अनेकौं आरोपहरू सिर्जना गरी जनतामा भ्रम छरेको छ । यो सबको बावजुद पनि, हामी नेकपा एमाले, यहाँ जम्मा भएका छौं, आफ्नो देशप्रतिको चिन्ता, आफ्नो पार्टीप्रतिको मायाले हो, यस्तो विषम परिस्थितिमा, पार्टी पंक्ति एक हुनुपर्छ भन्ने, नेकपा एमाले बनेपा नगर कमिटीको आग्रह हो। ।
नेताहरू व्यक्तिगत स्वार्थमा अल्झिनु हुन्न, समृद्ध नेपाल, शान्ति, लोकतन्त्र, परिवर्तन, राष्ट्रियता एवं राष्ट्रिय एकताको अभिभारा, नेकपा एमालेको काँधमा आएको छ, यो पार्टी कमजोर हुँदा कसरी हिंसाका पक्षधरहरु सलबलाएर अधिनायकवादले कसरी शिर उठाउन थाले ? मुलुक अराजक र प्रतिगमनको भुमरीमा फस्यो, राष्ट्रिय एकता खलबलिने गरी, जेन्जीको नाममा देशको ऐतिहासिक धरोहरहरू कसरी जले, त्यसकारण म सम्पूर्ण आदरणीय मेरा नेता गणहरूमा एकता नै बल हो भन्ने कुरालाई बुझी, नेकपा एमाले बलियो बनाउने कुरामा तपाईहरु अगाडि बढ्नुहुन्छ, भन्ने आश गरेको छु। सुखी नेपाली र समृद्ध नेपालको अभिभरा नेकपा एमालेले मात्रै पूरा गर्न सक्छ। त्यसका लागि एमाले भित्रको एकता र एमालेको नेतृत्व नै अहिलेको आवश्यकता हो ।
यो ऐतिहासिक कार्यक्रममा हामीलाई विश्वास गरेर सहभागी हुनुहुने, सम्पूर्ण कमरेडहरुप्रति हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछु, यो ऐतिहासिक कार्यक्रममा सहभागी हुनुहुने, नेकपा एमालेका महासचिव कमरेड शंकर पोखरेल, पोल्टी ब्युरो सदस्य कमरेड गोकुल बास्कोटा, प्रदेश कमिटीका नेता कमरेडहरू, जिल्ला कमिटीका नेता कमरेडहरू लगायत सबैलाई हार्दिक धन्यवाद पनि दिन चाहन्छु ।

तपाईको प्रतिक्रिया