खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छाड्न आदेश

काभ्रेपलाञ्चोक जिल्ला अदालतले खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले सुनारलाई धरौटीमा छोड्न आदेश दिएको जिल्ला अदालतकी श्रेस्तेदार इन्दिरा कार्कीले जानकारी दिइन् ।

सुनारलाई अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा विद्युतीय कारोबारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरिएको थियो ।

सुनारको पक्षमा वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, महेन्द्र तामाङ, चक्रमान विश्वकर्मा, बाल्मिकी आउजी, नारायण बुढ़ापृथी, गणेश बराइली र रामबहादुर मिजारले बहस गरेका थिए।

सरकारी पक्षको सहायक सरकारी वकिल निष्ठा कर्माचार्यले बहस गरेका थिए ।

सुनार आज अदालतमा उपस्थित भएपछि थुनछेक बहस र आदेश भएको जिल्ला अदालतका काभ्रेका श्रेष्तेदार इन्दिरा कार्कीले जानकारी दिइन्।

अधिवक्ता मनिषा गौतमले आफूमाथि अपशब्द प्रयोग गरेको भन्दै सुरूमा साइबर ब्युरोमा उजुरी दिएकी थिइन्। ब्युरोले उनलाई गृह जिल्लाबाटै कानुनी प्रक्रियामा अगाडि बढाउन भनेको थियो । त्यसपछि उनी काभ्रे पुगेकी थिइन्।

तपाईको प्रतिक्रिया