आमा सुरक्षा अनुदान रोकियो, सुत्केरीको सुविधा खोसियो

हरेक बर्ष दुई हजारभन्दा धेरै शिशु जन्माउने शीर मेमोरियल अस्पताल बनेपामा रहेको लोकप्रिय ‘आमा सुरक्षा’ कार्यक्रम बन्द हुने भएको छ । सुरक्षित आमा सुरक्षा कार्यक्रमले सामान्य रुपमा सुत्केरी हुने र चिरफार गरेर सुत्केरी गराउने आमाहरुलाई सहयोग गर्दै आएको छ । बेडदेखि उपचारसम्म र उपचारदेखि घरसम्मको एम्बुलेन्स सेवा दिएर आमा र शिशु जोगाउन यो कार्यक्रमले विशेष भुमिका खेलेको थियो ।
सामान्य सुत्केरीमा पाँच हजार रुपियाँसम्म र शल्यक्रियामा ३० हजार रुपियाँसम्म लाग्नेमा सरकारले २०६८ सालदेखि आमा सुरक्षा कार्यक्रम संचालन गरेर सुत्केरी आमालाई प्रोत्साहन गर्दै आएको थियो । तर एकाएक त्यस्तो लोकप्रिय कार्यक्रम बन्द हुनेभएपछि बार्षिक दुई हजार नयाँ बच्चा जन्माउने आमाहरु प्रत्यक्ष मारमा परेका छन् ।
संघीय सरकारले बनेपा नगरपालिका मार्फत आमा सुरक्षा कार्यक्रमलाई अनुदान दिदै आएकोमा २०८२ साल कात्तिक १ गते सो कार्यक्रम हुन नसक्ने जानकारी बनेपा नगरले गराएपछि शीर मेमोरियल अस्पतालमा सो सेवा बन्द हुने भएको हो । यो कार्यक्रम २०६८ देखि संचालित थियो ।
बुधबार अस्पताल परिसरमा पत्रकार सम्मेलन मार्फत आमा सुरक्षा कार्यक्रम बन्द हुने पत्र प्राप्त भएको जानकारी दिईयो । आमा सुरक्षा कार्यक्रमलाई निरन्तरता दिन आवश्यक अनुरोध गर्ने र सरकारले निर्णय आउनुभन्दा अघि शीर मेमारियल अस्पतालले ‘शीर मदर कियर’को सेवाको प्रारम्भ गर्ने घोषणा गरेको छ ।
शीर मेमोरियल अस्पतालका कार्यकारी अधिकृत डा.हेक्टर गायरेसले शीर मदर कियरको सेवा दिने बताउनुभयो । यसअघि लाखौलाई अस्पतालले सेवा दिएको छ । रकम अभावमा उपचार नपाएर कोही मर्नु नपरोस् भनेर अस्पतालले छुट र निशुल्क सेवा प्रदान गरिरहेको छ । यो योजनामा अस्पतालले जननल वार्डमा ५० प्रतिशत, औषधिको खरिदमा पाँच प्रतिशत छुट दिने उल्लेख गर्नुभयो ।
नेपाल सरकारले सुत्केरी हुन शीर मेमोरियल अस्पतालमा भर्ना हुनेमध्येबाट ५० प्रतिशत अस्पतालले, १८ प्रतिशत बिरामीले ३२ प्रतिशत सरकारले व्यहोर्दै आएकोमा अब अनुदान रकम नआउँदा समस्या बढ्ने अस्पतालको एन्जेला बस्नेतले उल्लेख गर्नुभयोे । उहाँले काभ्रेपलाञ्चोक, रामेछाप,सिन्धुपाल्चोक, दोलखा र भक्तपुरका बिरामी यसबाट प्रत्यक्ष प्रभावित हुने बताउनुभयो । शीरमा प्रसुती सेवा लिनेमध्ये ५० प्रतिशत बनेपा नगरपालिकाका छन् ,
अहिले जिल्ला जिल्लामा र स्थानीय तहमा प्रसुती सेवा र बर्थिङ सेन्टर पुगेपनि नेपालकै पुरानो र विश्वासिलो भएकाले शीर मेमोरियल अस्पताल प्रसुतीको सेवामा निक्कै अब्बल मानिदै आएको छ । आर्थिक अवस्था कमजोर भएका विपन्न नागरिकले पनि आर्थिक अभावमा सुत्केरी हुन नसक्ने अवस्थाको अन्त्य अस्पतालले गराएको छ । तर सरकारले दिने अनुदान कटौती भएपछि त्यसले दीर्घकालिन रुपमा असर भने पार्ने नै देखिन्छ ।
सूरुवातका ती कमजोर वर्षदेखि नै र सेभेन्थ डे एड्भेन्टिस्ट चर्चको स्वयंसेवकीय तथा आर्थिक सहायताको साथमा संचालन भइरहेको शीर मेमोरिएल अस्पताल हाल १५० शैया सहितको तीन तले भवनमा विरामीहरूको बहिरंग र अन्तरंग सेवाकोसाथमा उपचार गरिरहेको छ ।
हड्डी सम्बन्धी, प्रसुति सम्बन्धी, स्त्री रोग सम्बन्धी, तथा बालरोग सम्बन्धी उपचारमा विज्ञता राख्ने दाबी अस्पतालको रहेको छ । मेडिकल, जनरल सर्जरी, डेन्टल, अप्थालमोलोजी, युरोलोजी, आइसीयु, २४ घण्टा इमरजेन्सी रुम, र एम्बुलेन्स सेवा साथै फिजियोथेरापी सेवाहरू पनि उपलब्ध गराउने गरेको छ ।
एक्सरे, अल्ट्रासाउन्ड, ल्याब, इसीजी, र इन्डोस्कोपी पनि उपलब्ध छ । साप्ताहिक रूपमा प्रदान गरिने बाह्य क्लिनिकहरूले शीरले उपलब्ध गराउने स्वास्थ्य उपचारबाट दुर्गममा रहेका समुदायहरूलाई लाभ प्रदान गरेको छ ।
अमेरिका, नेदरल्याण्ड, अष्ट्रेलिया र जापानबाट आएका व्यवसायिक स्वास्थ्य टोलीहरूद्वारा शीरमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरी जलेका पीडितहरूलाई सर्जिकल उपचार, पाठेघर खस्ने, र ओठ तथा तालु चिरिएका विरामीहरूको उपचार गराएको छ ।
शीर मेमोरियल अस्पतालमा १४ बर्षमा कम्तिमा २८ हजारले यो सेवा पाएकोमा मातृ र शिशु मृत्युदर कम गराउन उल्लेख्य भुमिका खेलेको दाबी गरिएको छ । शीर मेमोरियल जस्ता अस्पतालको कारणले सन् १९९७ मा एक लाखमध्ये ५३९ को मृत्यु हुने गरेकोमा सन् २०२१ मा १२१ मा झरेको छ ।
संघीय सरकारले उपलब्ध गराएको अनुदान रोकिएपछि एकातिर महिलाले पाउने सहुलिय नपाउने भएका छन् भने शीर मेमोरियल अस्पतालले पनि आर्थिक रुपमा भार पर्ने अस्पतालको वित्त प्रमुख सुर्यप्रभा शाक्यले उल्लेख गर्नुभयो । शाक्यका अनुसार यो अवधीमा २८ हजार महिलाहरुलाई सुत्केरी सेवा प्रदान गरिएको छ । ‘दैनिक ८–१० जना महिलाहरु सुत्केरीका लागि अस्पताल आईपुग्छन । आर्थिक वर्ष २०८१÷२०८२ मा १ हजार ५ सय ४८ जनाले सेवा पाएका छन्’–शाक्यले भनिन–‘जस मध्ये ७ सय ६७ जना सामान्य र ७ सय ७४ जनाको अप्रेसन गरिएको छ ।’ ९६ लाख ८५ हजार संघीय सरकारले भुक्तानी उपलब्ध गराउनु पर्ने थियो । पहिले २५ प्रतिशत विरामीको मात्रै अप्रेसन गर्नु पर्नेमा हाल ५० प्रतिशत विरामीहरुको अप्रेसन गर्नु पर्ने अवस्था हुन थालेको डा.एन्जिला उल्लेख गर्नुभयो । । कार्यक्रम पुकार श्रेष्ठले संचालन गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, अस्पतालका विभागिय प्रमुखहरु, सल्लाहकार तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
बनेपा नगरपालिकाले शीर मेमोरियल अस्पताल बनेपालाई अनुदान रकम उपलब्ध नहुने पत्र पठाएको थियो । बनेपा नगरपालिका उपप्रमुख बिमला सापकोटाले १८ बर्षदेखि उपलब्ध गराउँदै आएको अनुदान नरोक्न अनुरोध र पत्राचार गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया