दुध बेच्ने किसानलाई ‘ तेल र जिरा’

आफूले नियमित रुपमा दुध बेच्दा सहकारीले दसैको उपहार स्वरुप ‘तेल र जिरा’ दिन्छ भन्ने कमैले सोचेका हुन्छन् । मण्डनदेउपुर नगरपालिका वडा नं ६ सिपाघाटमा रहेको सिपाघाट दुग्ध उत्पादक सहकारी संस्थाले नियमित रुपमा दुध बेच्ने किसानलाई तेल र जिरा उपहार दिएको छ । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका र सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिकाका किसानले सो सहकारीमा दुध ल्याएर बिक्री गर्ने गरेका छन् ।
दुध बोकेर डेरीमा खन्नाएपछि एक लिटर तेल र एक किलो जिरा पाएपछि सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिकाको किसान निर्मला दनुवार औधी खुसी हुनुभएको छ ।
नियमित दुध बेचेवापत सहकारीले भुटुन र जिरा पाएकोमा औधि खुसी भएको बताउनुभयो । दनुवारले यसरी सहकारीले प्रोत्साहन गरेकोमा पशुपालनमा आकर्षण बढाउने उल्लेख गर्नुभयो ।
नियमित रुपमा दुध बेच्दा सहकारीले प्रोत्साहन स्वरुप तेल र जिरा दिएकोमा खुसी लागेको र किसानको कदर भएको मञ्जु दनुवारले बताउनुभयो । सहकारीले तेल र जिरा दिएपछि अहिले पशु नपाल्ने महिलाले पनि पशु पाल्नु पर्ने भनेको उल्लेख गर्नुभयो । धेरै दुग्ध उत्पादक सहकारीले दुध बेचेको आधारमा दसैको अवसरमा बोनसपनि दिने गरेका छन् । प्रदेश सरकारले पनि दुधमा अनुदान कार्यक्रम सुरु गरेको छ ।
दसै सबैलाई आउँछ कर्मचारीले एक महिना बराबरको भत्ता पनि पाउँछन् तर दुख गर्ने किसानले केही नपाउने देखेपछि दुध बेच्ने किसानलाई ‘ तेल र जिरा’ उपहार दिएको सहकारीका व्यवस्थापक उत्तममणी ढकालले उल्लेख गर्नुभयो ।
सहकारीले यो बर्ष प्रति किसान एक लिटर तेल र एक किलो जिरा सहयोग गरेको बताउनुभयो । सहकारीमा दुध बेच्ने अधिकाशं महिलाहरु रहेको र दसैमा तेल र मसलाको चिन्ता गरेपछि सानो सहयोग गरेको उल्लेख गर्नुभयो । सहकारीमा नियमित रुपमा दुध बेच्ने एक सयभन्दा धेरै किसानलाई सो सहयोग गरेको उहाँले स्पष्ट पार्नुभयो । ‘ यो ठुलो सहयोग हैन तर दुध बेचेर पनि उपहार पाईन्छ भनेर किसानको मनोवल बढाउन उपहार दिएको छौ’ उहाँले स्पष्ट पार्नुभयो ।
केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष अम्बरबहादुर कुँबरले मुलुकभर आबद्ध सहकारी संस्थाले फरक फरक रुपमा उपहार दिने गरेको बताउनुभयो । दुध उत्पादनमा कृषकको आकर्षण बढाउन यस्ता कार्यले सहयोग गर्ने उहाँले स्पष्ट पार्नुभयो । धेरैले दुध बोक्ने क्यान, दुध दुहुने बाल्टी पनि सहयोग गर्ने गरेको उहाँले बताउनुभयो । केही सहकारीले धेरै दुध बेच्ने किसानलाई गोल्ड मेडलबाट सम्मान समेत गरेका छन् ।
तर दसैमा समेत किसानले दुधको भुक्तानी नपाउँदा चिन्ता व्यक्त गरेका छन् । सरकारले संचालन गरेको डिडिसी र निजी क्षेत्रले संचालन गरेका उद्योगले अझैपनि किसानको करोडौ रुपियाँ दुधको भुक्तानी गरेका छैनन् ।

तपाईको प्रतिक्रिया