
बनेपा – जिल्लाको बनेपामा तिज बनेपा महोत्सव २०८२ यहि भाद्र ९ गते सोमबार देखि हुने भएकाछन् । औद्योगिक व्यापार, परम्परागत कला संस्कृति, कृषि, घरेलु, पर्यटन प्रवद्र्धनको निमित्त महिलाहरुको महान पर्व हरितालिका तिजको पावन अवसरमा तिज बनेपा महोत्सव २०८२ हुने भएको छ । सुमांगल शान्तिनगर टोल विकास संस्था, बनेपा नगरपालिका–८, काभ्रेको आयोजनामा भदौ ९ गतेदेखि भदौ २२ गते सम्म महोत्सव संचालन हुने बुधबार पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको छ । बनेपा–प्राधिकरण चोक, इलाका प्रहरी कार्यालय अगाडि सुमांगल शान्तिनगर टोलमा महोत्सव हुन लागेको हो ।
महोत्सवको लागि आवश्यक प्रक्रिया सबै पूरा गरी सकिएको र अब तत्कालै स्टल निर्माण लगायत अन्य कार्यको तयारीमा तिव्र भई रहेको आयोजक सस्थाको अध्यक्ष दिलिप प्रधानले बताए । महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, विभिन्न प्रकारका लत्ताकपडाहरु, खाद्यान्न, अटोमोबाइल, जुत्ताहरु, कषि तथा हस्तकलाका सामाग्रीहरु, कृषि औजारका सामाग्रीहरुको प्रदशनी, सांस्कृक्तिक, व्यापार तथा पर्यटकीय सामाग्रीहरुको स्टलहरु रहनेछन् ।
आयोजक समितिका सचिव भरत तिमल्सिनाले महोत्सवमा बिक्री हुने सामानहरु विशेष छुटको व्यवस्था हुने जनाए । साथै मनोरन्जनका लागि महोत्सवमा बालउद्यान, रोटे पिङ, ड्रागन, नाउ, मिनी बन्जी जम्प, बाटर बल्व, मिकी माउस, टेम्पालिङ, स्करपियो आदि रहने उनले जनाए । साथमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको हास्यव्यङ्ग्य तथा गीत गायनको बेजोड प्रस्तुति प्रत्येक दिन रहने उनले जनाए ।
महोत्सवमा १०० भन्दा बढी स्टलहरु राखिने स्टलको साइन अनुसार न्यून शुल्क लिएर स्थानीय व्यापारीहरुलाई स्टल उपलब्ध गराइने जनाएको छ ।
महोत्सवलाई व्यवस्थित बनाउन विद्यार्थीहरुका लागि ५० र सर्वसाधरणका लागि ७० प्रवेश शुल्कको व्यवस्था गरिएको छ भने वृद्धवृद्धाहरुको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया