
बनेपा/आइतबार दिउँसो १ः३० बजे पनौती नगरपालिका वडा नं. ३, डिहीगाउँमा स्थानीय विश्वनाथ घिमिरेको घरमा दिउँसै चोरी भयो ।
बा २ ज ३९०७ नं. को ट्याक्सी लिएर आएको चोरको समूहले उक्त घरबाट ५ तोला भन्दा बढी सुन र केही नगद समेत चोर्यो । चोरीपछि स्थानीयले प्रहरीले तत्कालै चोर पक्राउ गर्ने र चोरिएको धनमाली फिर्ता हुने विश्वास लिएका थिए । घण्टा वित्यो, दिन बित्यो तर चोरको पत्ता लागेन । एकाएक तेत्रो ट्याक्सी सहित कता फरार बन्यो त चोरको समूह ? यो बहसको विषय बनेको छ । के काभ्रेपलाञ्चोक प्रहरी कमजोर बनेकै हो त ? आइतबारदेखि आज बुधबारसम्म आइपुग्दा किन चोरसम्म पुग्न सकेन प्रहरी ? राजमार्ग, सहायक मार्गमा अहिले स्थानीयले समेत सि.सि. क्यामेरा जडान गरेका छन् । अरनिको राजमार्गमा पनि सि.सि. क्यामेरा छ ।
यत्तिको ठूलो जनशक्ति रहेको र काठमाडौं नजिकैको जिल्ला काभ्रेपलाञ्चोकमा ट्याक्सी लिएर आएका चोरको समूहले घर चोरी गरेर फरार हुँदा समेत प्रहरीले नियन्त्रणमा लिन नसक्नु असाध्यै दुःखदायी कुरा हो । सुरक्षा दृष्टिकोणले पनि यसरी चोर नपक्रिँदा अरु ठाउँमा पनि चोरी हुने सम्भावना बढेर जान्छ । यो चोरीमा अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, बनेपा, काभ्रेका प्रमुख डि.एस्पी रामेश्वर त्वाँतीले चोरको र ट्याक्सीको खोजी भैरहेको उल्लेख गर्नुभयो । उहाँले ट्याक्सी चालकका परिवार सम्पर्कमा आएको र प्रहरीले चोर पक्रन प्रयास गरिरहेको उल्लेख गर्नुभयो । प्रहरीका अनुसार उक्त ट्याक्सी चालक यसअघि पनि चोरी कार्यमा संलग्न रहेको पाइएको उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया