
पनौती – पनौती नगरपालिका वडा न ८ ले बालअधिकार संरक्षण र बालमैत्री समाज निर्माणमा आफूलाई थप सशक्त बनाउने निर्णय गरेको छ। वडाले यही असार १८ गते ‘बालमैत्री वडा’ घोषणाको चौथो वार्षिकोत्सव भव्य रूपमा मनाउने र असार १९ गते क्षेत्रभित्र रहेका होटल, पसल तथा कलकारखानाहरूमा प्रहरी टोलीसहित बालश्रम अनुगमनमा जाने निर्णय गरेको छ ।
वडा कार्यालयमा सोमवार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो। बैठकमा वडा अध्यक्ष वेद प्रसाद बन्जरा, वडाका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू, वडा सदस्यहरू, वडा सचिव, सुरक्षाकर्मी, सञ्चारकर्मीहरू तथा बालबालिकाका प्रतिनिधिहरूको समेत उपस्थिती थियो।
वडा अध्यक्ष बन्जराले बालमैत्री घोषणालाई व्यवहारमा उतार्न स्थायी प्रतिबद्धता आवश्यक हुने भन्दै बालअधिकार हननको रोकथाममा सबैको साझा प्रयास अपरिहार्य भएको बताए। उनले भने, “हामी सिर्फ घोषणामै सीमित रहनु हुँदैन, कार्यान्वयन र परिणाममुखी पहल नै साँचो सम्मान हो।”
बैठकमा सहभागी बालप्रतिनिधिहरूले समेत विद्यालय, समुदाय र घरभित्रका बालबालिकाको अवस्था सुधार्न शिक्षा, संरक्षण र अभिभावक सचेतनाका कार्यक्रमलाई अझ प्रभावकारी बनाउन आग्रह गरेका थिए।
वडाले आगामी दिनमा बालमैत्री समाज स्थापनाका लागि थप कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी गराइएको छ।
यो निर्णयले पनौती–८ लाई ‘बालमैत्री वडा’ को नमूना मोडलतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया