आर्थिक गणनाको महत्व सिकाउँदै तथ्याङ्क समन्वय कार्यालय

बनेपा÷आर्थिक गणनाको महत्वको बारेमा जानकारी दिने उदेश्यले धुलिखेलमा अन्तरकृया कार्यक्रमको आयोजना गरिएको छ । २०८२ सालको फागुन महिनादेखि गरिने नेपालको दोश्रो आर्थिक गणनाको महत्वको बारेमा तथ्याङ्क समन्वय कार्यालय काभ्रेपलाञ्चोकले सरोकारवालासँग अन्र्तक्रिया गोष्ठीको आयोजना गरेको छ ।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य मञ्जुकुमार कोँजुको प्रमुख आतिथ्यता तथा राष्ट्रिय तथ्याङ्क कार्यालयका राष्ट्रिय लेखा तथ्याङ्क महाशाखा, आर्थिक तथ्याङ्क महाशाखा उपप्रमुख तथ्याङ्क अधिकारी डा.शरदकुमार शर्माको अध्यक्षता गोष्ठी सम्पन्न भएको हो । कोजुले आर्थिक गणना मुलुकको आर्थिक समृद्धीका लागि अत्यावश्यक रहेको बताउँदै त्यसमा खटिने गणकहरुले गर्ने व्यवहार, सोध्ने प्रश्नावली तथा त्यसका सकारात्मक विषयमा बुझाउन आवश्यक हुने बताउनुभयो ।
डा.शरदकुमार शर्माले राष्ट्रिय तथ्यांक कार्यालयले गणना र सर्वेक्षण गरिरहने भए पनि आर्थिक गणना नेपालमा दोश्रो पटक र विशेष महत्व रहेको दाबी गर्नुभयो । उहाँले गणक, उत्तरप्रदायक तथा अन्य क्षेत्रका सरोकारवाला ब्यक्तिहरु जिम्मेवार बनाउन सकिँदा मात्रै तथ्याङ्क सहि आउन सक्ने भन्नुभयो । उहाँले तथ्याङ्क लिएका ब्यक्ति तथा फर्महरुका सबै विवरण गोप्य हुने जानकारी दिनुभयो ।

कार्यक्रममा धुलिखेल उद्योग बाणिज्य संघका अध्यक्ष कोमलसुन्दर श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने लगायतले आफ्नो धारणा राख्नुभयो ।
कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालय आर्थिक गणना शाखाका निर्देशक डा.वेदप्रसाद ढकालले आर्थिक गणना र प्रश्नावलीका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।
जिल्ला तथ्याङ्क अधिकारी दीपक कोईरालाले साधारण तथ्याङ्क र आर्थिक तथ्याङ्क बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो । तथ्याङ्क परिभाषा र आवश्यकता, तथ्याङ्कका सरोकारवाला, आर्थिक तथ्यांक, आर्थिक तथ्यांक संकलनमा देखिएका समस्या, चुनौती, सरोकारवाला निकायको भूमिकाका बारेमा कोईरालाले कार्यपत्र मार्फत जानकारी गराउनुभयो ।
सो कार्यक्रममा २०७५ सालमा गरिएको आर्थिक गणनामा काभ्रेपलाञ्चोक जिल्लामा १४ हजार २ सय ८२ वटा प्रतिष्ठानमा ५४ हजार ५ सय ७५ जना संलग्न रहेको देखिएको थियो । जसमा पुरुष ३२ हजार ६ सय ५० र महिला २१ हजार ९ सय २५ जना थिए । पालिकागत रुपमा पनि तथ्यांक सार्वजनिक गरिएको थियो । सबै भन्दा कम खानिखोलामा ४ सय ६० र सबै भन्दा धेरै बनेपामा ४ हजार ३ सय ५९ वटा प्रतिष्ठान रहेका थिए ।

कार्यक्रममा तथ्याङ्क समन्वय कार्यालय काभ्रेका अधिकृतद्धय दिपेन्द्र धामी र खगेन्द्र पौड्याल, तथ्यांक कार्यालयका सुपरिवेक्षक सन्तोष कार्की लगायतले आर्थिक गणना र तथ्यांकका सन्र्दभमा जानकारी गराएका थिए । सहभागिहरुले आर्थिक गणना तथा सरकारी कार्यालयहरुले प्रदान गर्ने सेवालाई अझै प्रभावकारी बनाउन सुझाव दिएका थिए ।

तपाईको प्रतिक्रिया