जेलबाट निस्किए कांग्रेस नेता आलम

जिल्ला अदालत रौतहटले इँटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा गरेको जन्मकैदको फैसला उल्ट्याउँदै उच्च अदालत वीरगञ्ज इजलासले नेपाली कांग्रेसका पूर्व सांसद मोहम्मद आफताब आलमलाई सफाइ दिएको छ ।

उच्च अदालत वीरगञ्ज इजलासका न्यायाधीशहरू डा. खुसीराम थारू र अर्जुन महर्जनको इजलासले सुनुवाइपछि नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई सफाइदिने फैसला सुनाएको हो ।

पूर्वसांसद आलम र उहाँका भाइ महताबसहित अन्य सहयोगीहरूविरुद्ध घाइतेलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेको आरोपमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोटसम्बन्धी कसुर गरी तीनवटा मुद्दामा थुनछेक बहसपछि २०७६ कात्तिक २९ गते जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । त्यसैगरी, जिल्ला अदालत रौतहटले २०८१ वैशाख १३ मा पूर्वसांसद आलमसहित महताब आलम, शेष सेराज र बद्री सहनीविरुद्ध जन्मकैदको फैसला सुनाएको थियो ।

जिल्ला अदालतको फैसलाविरुद्ध पूर्वसांसद आलमले दिएको पुनरावेदन निवेदनमा न्यायाधीशहरू डा. खुसीराम थारू र अर्जुन महर्जनको इजलासमा भएको सुनुवाइ सकिएकाले बुधबारको फैसलामा पूर्वसांसद आलमले सफाइ पाउनु भएको हो ।

२०६४ चैत २७ गते पहिलो संविधानसभाको चुनावको अघिल्लो दिन रौतहटको राजपुरस्थित आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा विस्फोट भई त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित अन्य केही व्यक्ति घाइते भएका थिए भने घाइतेहरूलाई जिउँदै नजिकको इँटाभट्टामा जलाएर हत्या गरिएको आरोप लागेको थियो ।

उच्च अदालत वीरगञ्ज इजलासका रजिष्ट्रार दिपक भण्डारीले भन्नुभयो, ‘‘मुख्य तीनवटा आधारमा जिल्ला अदालत रौतहटको फैसललाई उल्टी गर्दै जन्मकैद पाएका चारै जनालाई सफाइ दिइएको हो । तीन आधारमा पहिलो आधार २०६४ चैत २७ गते भएको वारदात (घटना)को वस्तुनिष्ट प्रमाणले पुष्टि हुन नसकेको, दोस्रो आधारमा विस्फोटनमा घाइते भनिएका पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओशी अख्तरलाई टयाक्टरमा हाली राजापुर इँटाभट्टामा लगी पोलेको भन्ने ठोस सबुत प्रमाण वादीले पेश गर्न नसकेको र तेस्रो आधार विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदनबाट मृतकहरुलाई पोलेको अभियोग दाबी पुष्टि हुन नसकेको रहेको छ ।’’

आलम काठमाडौँ नख्खु कारागार र अन्य रौतहट कारागारमा रहेकाले आजको फैसलाको पत्र पठाई सकिएको र साँझसम्म छुटिसकेको हुनुपर्ने भण्डारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया