अन्जना र विपेशले दिलाए नेपाललाई सात पदक


पोर्चुगलको काल्दास दा राइन्हा शहरमा जारी २१औं विश्व केम्पो च्याम्पियनसिपमा नेपाली खेलाडीहरूले ऐतिहासिक सफलता हात पार्दै सात वटा पदक जित्न हात पारेका छन् । यो सफलता नेपाली केम्पो इतिहासकै सबैभन्दा ठूलो उपलब्धिका रूपमा रहेको भन्दै केन्पोका पदाधिकारीले खुसी मनाएका छन् ।

नेपालको प्रतिनिधित्व गरेका विपेश थापाले केम्पो केओ फाइटिङ विधामा उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थान हासिल गर्दै काँस्य पदक जितेका छन् । यसअघि उनले एक रजत र दुई काँस्य पदक जितिसकेका थिए । हालसम्म विपेश थापाले यस प्रतियोगितामा १ रजत र ३ काँस्य गरी कुल चार पदक आफ्नो नाममा दर्ता गराईसकेका छन् । काभ्रेको मण्डनदेउपुर–८ की खेलाडी अञ्जना शाहीले पनि प्रतियोगितामा शानदार प्रदर्शन गर्दै १ रजत र २ काँस्य पदक जितेकी छन् ।

अन्जना शाहीले तीन र थापाले चार गरी नेपालको कुल पदक संख्या हालसम्म सात पुगेको छ । यो संख्या नेपालका लागि विश्व केम्पो च्याम्पियनसिपको इतिहासमा कीर्तिमान हो ।

नेपाल केम्पो संघले यो उपलब्धिलाई सम्पूर्ण नेपाली खेलकुद जगतका लागि गौरवपूर्ण क्षणको रूपमा वर्णन गरेको छ । संघका अनुसार, यो सफलता खेलाडीहरूको कठोर परिश्रम, प्रशिक्षकहरूको निरन्तर मार्गदर्शन र विश्वभर रहेका नेपाली समुदायको उत्साहजनक समर्थनको संयुक्त परिणाम हो ।

तपाईको प्रतिक्रिया