२०७२ सालको भुकम्पअघि भान्साकोठाको निदालभरी स्थानीय जातको काक्रोको बीउ हुने मण्डनदेउपुर–९ काभ्रेपलाञ्चोकका राजनप्रसाद सापकोटा अहिले काक्रो रोप्नु पर्ने बेला भएपछि बजार जानुहुन्छ । एउटा काक्रो काट्दा गाउँभरी बास्ना फैलने तीन किलोसम्मको फल्ने काक्रो अहिले लोप नै भएको उहाँले गुनासो गर्नुभयो ।
परम्परागत रूपमा आफ्नै घरमा धेरै किसिमका बीउ आफैंले जोगाएर राख्ने र नपुग बीउ छिमेकी, आफन्त र साथीभाइहरूको बाट साटासाट गरेर लगाउने चलन हराएको सापकोटाको दुखेसो छ । सहर वरपर तथा सुगम क्षेत्रका कृषकहरूमाझ घरमा बीउ राख्नुको सट्टा बजारबाट खरिद गरेर लगाउने चलन बढेपछि बीउ राख्ने चलन हराएको सापकोटाले उल्लेख गर्नुभयो ।
उन्नत जात तथा हाइब्रीड बीउ र प्रविधिको विस्तारसँगै घरमा जोगाएर राख्ने परम्परागत बीउ संरक्षणनै संकटमा परेको उहाँले उल्लेख गर्नुभयो । उहाँमात्रै हैन बीर हराएकोमा दाङ तुलसीपुरका शान्ता शर्मालाई पिरलो परेको छ । कालो धानको बीउ नै पाउन छाँडेको र अबको पुस्ताले त्यसको अनुभव गर्न नपाउने उहाँले उल्लेख गर्नुभयो ।
गाउँबाट मानिस क्रमशः सहरमा बसाई सर्न थालेपछि बीउको रैथाने जातका बीउ क्रमशः लोप हुनु सुरू भएको उहाँको अनुभव छ । सिमेन्टका घर बन्न थालेपछि पनि बीउ जोगाउने कुरा कम भएको उहाँले बताउनुभयो ।
बरिष्ठ कृषि प्रसार अधिकृत कूलप्रसाद दवाडीले उन्नत जात र हाइब्रीड बीउको उपलब्धताले उत्पादन वृद्धिमा टेवा पुगेपनि नेपालको हकमा केही अपवाद बाहेक बजारमा उपलब्ध हाइब्रीड बीउ आयातित भएकाले रैथाने जात लोप हुने अवस्थामा पुगेको बताउनुभयो ।
बजारबाट बीउ खरिद गरेर लगाउने बढ्दो चलनले एकातिर कृषकहरू बीउमा परनिर्भर बन्दै गईरहेका छन् भने अर्कोतिर रैथाने बीउका साथै बीउ छनोट र भण्डारण गर्ने परम्परागत ज्ञान, सीप र प्रविधि पनि हराएर गईरहेको उहाँले बताउनुभयो ।
नेपाल सरकारको तथ्याङ्कले पनि वर्षेनी बीउको आयात बढिरहेको र कृषकहरूको खेतबारीबाट रैथाने बीउ क्रमशः लोप हुँदै गएको देखाँउछ । यो क्रम नरोकिए भविष्यमा सहरी क्षेत्रमा मात्र होइन, गाँउघरका कृषकहरूको भान्सामा पनि के पाक्छ भन्ने कुरा बजारले निर्धारण गर्ने उहाँले बताउनुभयो । सरकारको तथ्याङ्कमा एक बर्षमा दुई अर्ब १८ करोडको बीउ आयत भएको देखिएको छ । बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रले एक बर्षमा सो परिणाममा बीउ आयत हुने उल्लेख गरेको हो ।
चितवनमा मनसुली धान विस्तार भएपछि कृषकहरूले ‘दुधराज’ र अछामे मसिनो चामलको भात र आँपझुत्ते धानको चिउरा लोप नै हुने अवस्थामा पुगेको कृषि प्रसार अधिकृत कृष्ण धितालले बताउनुभयो ।
कञ्चनपुरका राना थारूहरूले भात खाएर चुठीसकेपछि पनि हातमा बास्ना आईरहने रहिमुनमा धान अहिले सम्झनामा मात्रै छ । नेपालमा यस्ता रैथाने बीउको यकिन तथ्याङ्क समेत कुनै निकायसँग छैन । न त सरकारसँग त्यसको अभिलेख छ, न त कृषकहरूसँग बीउ ।
कुनै पनि रैथाने बीउहरू कृषि अनुसन्धान केन्द्रमा विकास गरिएका नभएर हाम्रा पूर्खाहरूले हजारौं वर्षसम्म गरेको निरन्तर कृषिकर्मको प्रतिफल भएको उहाँले स्पष्ट पार्नुभयो ।
नेपालको विविधतायुक्त हावापानी तथा भौगोलिक बनावटः धार्मिक, सांस्कृतिक तथा जातीय विविधता र कृषकहरूले पुस्तौंदेखि परम्परागत विधि तथा तौरतरिका अपानाई गुणस्तरीय बीउ तथा विरूवाको छनोट, एकआपसमा बीउ तथा विरुवा साटासाट र विस्तार गर्दै खेती गरिने प्रचलनले गर्दा हजारौं जातका रैथाने बीउहरूको विकास भएका थिए । तर त्यसको संरक्षणमा कुनै पनि निकायले चासो दिन नसक्दा कृषकसँग भएको अमूल्य सम्पत्ति मेटिएको छ ।
कृषिवन स्रोत केन्द्रका किरण खरेलले पहिलेका कृषकहरु धान काट्नु र कोदो टिप्नुभन्दा पहिला राम्रोसँग पाकेका, पुष्ट दाना भएका र रोग नलागेका बाला छनोट गरेर टिप्ने अनि लामो र सर्लक्क परेको काँक्रो र ठूलो फर्सी बीउका लागि छुट्याउने गरेपनि हाईब्रीड बीउ लगाउने चलन बढे पनि बीउ छनोट र भण्डारण सम्बन्धि ज्ञान क्रमशः हराउँदै गएको बताउनुभयो ।
उहाँले कृषि अनुसन्धान र विकास, खाद्य सुरक्षा, पोषण विविधता र पर्यावरणीय हिसाबले रैथाने जातहरूको विशेष हुने उहाँले स्पष्ट पार्नुभयो ।
रैथाने जातहरू विभिन्न किसिमका रोग तथा कीरा सहने, सुक्खा वा खडेरी तथा बढी पानी सहने, खान मीठो तथा स्वादिलो मात्रै नभएर कतियप जातहरूमा औषधीय गुण हुने गरेको उहाँले उल्लेख गर्नुभयो । धानमा लामो समयसम्म अध्ययन गर्नुभएका प्रसार अधिकृत धितालले बारा तथा रौतहट जिल्लामा पानी बढी जम्ने खल्ला खेतमा हुने भठी, सिलहट र बालुवा बढी भएको खेतमा फल्ने र दुध जस्तै सेतो भात हुने दुधिसारोजातहरु हराएको बताउनुभयो ।
छठ पर्वमा नभई नहुने बाला बाहिर ननिस्किकन नै पाक्ने साठी जातको धान अहिले पनि भएपनि संरक्षणको आवश्यकता रहेको उहाँले बताउनुभयो । चोटपटक, दुर्घटना अरु कारणले हातखुट्टा मर्किएको अवस्थामा अनदी चामलको लट्टे mबनाएर खाने चलन गण्डकी क्षेत्रमा रहेपनि मासिन थालेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ मा ‘गाँउपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार’ अन्तर्गत एकल अधिकार भित्र ‘कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवर्धन’ र प्रदेश तथा संघसँगको समन्वयमा जैविक विविधता अभिलेखन तथा रैथाने प्रजातीको संरक्षण र प्रवद्र्धन गर्ने कुरा समावेश गरिएको छ । यसबाट के स्पष्ट छ भने पालिका क्षेत्रमा भएका रैथाने बीउ पहिचान, अभिलेखीकरण, संरक्षण र प्रवद्र्धनकार्य सम्बन्धित पालिकाले नै अगुवाई गर्नुपर्ने भएपनि कसैले गरेको देखिदैन ।
तपाईको प्रतिक्रिया