सुरेश रजकको सम्झनामा दीप प्रज्वलन

काठमाडौको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा निधन भएका पत्रकार सुरेश रजकको सम्झनामा नेपाल पत्रकार महासघं काभ्रे शाखाको आयोजनामा बनेपा चारदोबाटोमा दीप प्रज्वलन सहित श्रद्धाञ्जली सभा आयोजना गरेको छ । काभ्रेपलाञ्चोक सहित नेपालका सबै शाखा र केन्द्रले श्रद्धाञ्जली सभाको आयोजना गरेको हो । श्रद्धाञ्जलीसभामा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, पुर्व अध्यक्ष भोजराज तिमल्सिना, ईश्वरी ओझा, महेश पौड्याल, मोतिराम तिमल्सिना, महासंघका पदाधिकारी लगाएत सञ्चारकर्मीहरुको उपस्थितीमा पत्रकार सुरेस रजकको फोटोमा माल्यार्पण गर्दै दीप प्रज्वलन गरियो ।
कार्यक्रममा अध्यक्ष न्यौपानेले चैत १५ गते पत्रकार रजकको रहस्यमय तरिकाले हत्या भएको उल्लेख गर्दै दोषीमाथी कडा कारबाहीका लागि एक हप्ताको अल्टिमेटम दिइएपनि त्यो अवधिमा सत्यतथ्या बाहिर नआएपछि महासंघ दोस्रो चरणको आन्दोलनमा उत्रिएको बताउनुभयो । सरकारले दोषीको खोजी, पहिचान र कारबाही गर्नमा ढिलाई गरिरहेको र सामान्य घटनामा समेत तत्कालै छानविन समिति बनाउने सरकारले पत्रकार जिउँदै जलिरहँदा पनि छानविन समिति समेत बनाउन नसकेको भन्दै आक्रोश पोख्नुभयो ।
प्रेस स्वतन्त्रता हनन्मा संलग्नहरूमाथि कानुनी कारबाही गर्न, रजकका परिवारका साथै क्षति पुगेका सञ्चार गृहलाई यथोचित क्षतिपूर्ति र घाइते पत्रकारको निःशुल्क उपचारका लागि सरकारले कुनै चासो नदेखाएकाले नेपाल पत्रकार महासंघले आफ्ना माग पूरा गराउन सरकारलाई थप दबाब दिनुपर्ने अवस्था सिर्जना भएको अध्यक्ष न्यौपानेले उल्लेख गर्नुभयो । कार्यक्रम सञ्चालन नेपाल पत्रकार महासघंका कोषाध्यक्ष केशबराज पौडेलले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया