पनौती नगरपालिकामा क्षेत्रभित्र सञ्चालित साधारण निर्माणमुखी रोडाढुङ्गा उद्योग सञ्चालनका कारणबाट स्थानीय भूमि एवं नागरिकहरूको बस्ती जोखिममा परेको गुनासोका सम्बन्धमा खानी क्षेत्रका विषयमा आगामी दिनहरूमा गर्नुपर्ने कार्य तथा स्थानीय नागरिकहरूको गुनासोको दिगो व्यवस्था गर्न गर्नुपर्ने कार्यका विषयमा स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक भएसँगै यसले नयाँ बहसको थालनी गरेको छ ।
खानी क्षेत्रका नागरिकहरूको राय सोही क्षेत्रमा बसोबास गरिरहन असुरक्षित महसुस भएकोले वैकल्पिक बस्ती ब्यबस्थापन र बस्ती स्थानान्तरणको सवाल मुख्य रुपमा उठाइएका छन् । पनौती नगरपालिकाले पनौती वडा नं २ का वडाअध्यक्षको संयोजकत्वमा बनेको समितिले तीन महिना लगाएर तयार पारेको प्रतिवेदन सार्वजनिक गरेसँगै खाानी क्षेत्र संचालन गर्ने, स्थानीयको जनताको जग्गा खरिद गर्ने वा कृत्रिम ताल सहितको मेघा परियोजना संचालनको विकल्प समेत खुल्ला गरेको छ ।
विद्यमान नीतिगत तथा कानुनी व्यवस्था समेतका आधारमा अध्ययन गरी राय सहितको प्रतिवेदन पेश गर्न पनौती नगरपालिका वडा न २ का अध्यक्ष पुरुषोत्तम अधिकारीको संयोजकत्वमा कार्यदल गठन भएकोमा कार्यदलले स्थलगत अध्ययन, स्थानीय नागरिकहरू र ब्यबसायीहरुसंग सँग छलफल, घरधुरी सर्वेक्षण समेत गरि सर्वेक्षणबाट देखिएका विषयवस्तुहरूलाई समेटेर विभिन्न समयमा कार्यदलको बैठक पश्चात प्रतिवेदन सार्वजनिक गरिएको छ ।
पनौती नगरपालिका वडा नम्बर २ साविक कुशादेवी गा.वि.स.को वडा नम्बर ४,५,६,७, र ८ को भूभागलाई समेटेर घोषणा भएको हो । यो क्षेत्र कृषि र पशुपालनमा अग्रणी छ । यो वडामा अर्ध शहरी रूपमा रहेको कुशादेवी बजार क्षेत्र लगायत ग्रामिण तथा दुर्गम क्षेत्रहरू समेत पर्दछन । पनौती नगरपालिका वडा नम्बर २ मा सञ्चालनमा रहेका खानीहरूको इतिहास हेर्दा खानी दर्ताको प्रक्रिया बि. सं २०५८ सालबाट सालबाट सुरुवात भएको देखिन्छ । तत्कालिन अवस्थामा स्थानीय निकाय सञ्चालनको लागि दलीय संयन्त्रहरूको व्यवस्था थियो । दलीय संयन्त्रको सिफारिस एवं स्थानीय नागरिकहरू संग स्थलगत सर्जमिन र सहमति समेतका आधारमा खानी सुरु भएको देखिन्छ । यस क्षेत्रमा ऐतिहासिक फूलचोकी र महाभारत क्षेत्रहरू समेत पर्दछन् ।
पर्यावरणीय रुपमा महत्वपूर्ण यस क्षेत्र फूलचोकी र महाभारत जङ्गलसँग जोडिएर रहेको रोसी खोलाको मुहान क्षेत्र पनि हो । काभ्रे जिल्लाका तीनवटा नगरपालिकालाई समेटेर सञ्चालन भइरहेको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको मुख्य मुहान क्षेत्र पनि यसै वडाभित्र पर्दछ । यो वडा प्राकृतिक रुपमा रमणीय दुर्लभ पशुपंक्षी, चराचुरुङ्गी, जनावर, वनस्पति र विविध किसिमका सिमाली लगायत बिभिन्न जडीबुटी पाइने क्षेत्र पनि हो । यस क्षेत्रमा सयौं वर्ष पुराना काठहरु पनि रहेका छन । यो क्षेत्र संरक्षित रुपमा रहेको क्षेत्र पनि हो ।
२०८१ साल पौष २६ गते पनौती नगरपालिकाले कार्यदल गठन गरेको देखिन्छ । कार्यदलमा पुरुषोत्तम अधिकारी, वडा अध्यक्ष, संयोजक मोहन बजगाई, पनौती–२ सदस्य प्रेम प्रसाद आचार्य, पनौती–२ सदस्य, चन्द्र प्रसाद हुमागाँई, पनौती–२ सदस्य, सुदर्शन तिमिल्सिना, पनौती–२ सदस्य, गणेश बहादुर शाही, पनौती–२ सदस्य, माधव के.सी., पनौती–२ सदस्य, बालकृष्ण हुमागाई, पनौती–२ सदस्य, राजेन्द्र प्रसाद पौडेल, रोशी खोला रोडा ढुङ्गा उद्योग प्रा.लि, रविन कार्की, कार्की रोडा ढुङ्गा उद्योग प्रा.लि, निर्मल गिरी, डायमन्ड स्टोन एण्ड माइनिङ्ग प्रा.लि, ठाकुर गौतम, काठमाण्डौ रोडा ढुङ्गा उद्योग, श्रीराम आचार्य, कोहिनुर रोडा ढुङ्गा उद्योग, इन्द्र कुमार श्रेष्ठ, पनौती रोडा ढुङ्गा उद्योग र विष्णु बहादुर थापा, खानी विज्ञ सदस्य रहनु भएको छ । सदस्य सचिवमा भने केशव बञ्जारा अधिकृत छैटौँ, पनौती नगरपालिका हुनुहुन्छ । कार्यदलले पनौती नगरपालिकामा सञ्चालित साधारण निर्माणमुखी रोडाढुङ्गा उद्योग सञ्चालनका कारणबाट स्थानीय भूमि एवं नागरिकहरूको बस्ती जोखिममा परेको गुनासाको अवस्था अध्ययन गरेको छ । खानी क्षेत्रका विषयमा आगामी दिनहरूमा गर्नुपर्ने कार्यबारे राय सुझाव समेत दिएको छ । स्थानीय नागरिकहरूको गुनासोको दिगो व्यवस्था गर्न गर्नुपर्ने कार्यका विषयमा स्थलगत अध्ययन गरेको छ । कार्यदलको बैठक पटक पटक गरेर छ पटक बसेको छ ।
खानी क्षेत्रका नागरिकहरूको राय सोही क्षेत्रमा बसोबास गरिरहन असुरक्षित महसुस भएकोले वैकल्पिक बस्ती ब्यबस्थापन र बस्ती स्थानान्तरणको सवाल मुख्य रुपमा उठाइएका छन् । सो कार्यको लागि वातावरण निर्माण गर्ने र पनौती नगरपालिका वडा नम्बर २ को खानी रहेको क्षेत्रलाई खानी क्षेत्र घोषणाको लागि नगरपालिकामा सिफारिस गर्ने निर्णय गरेको छ ।
बैठकमा खानी व्यवसायी र स्थानीय नागरिकहरू सँग भएको संयुक्त छलफलमा सम्भव भएसम्म खानी व्यवसायीहरूले जग्गा खरिद गर्नुपर्ने विषय उठेको थियो । खानी व्यवसायीहरूको तर्फबाट थप लगानी गर्न सक्ने अवस्था नभएको जिकिर गरिएको थियो । जग्गा खरिदको लागि नयाँ व्यक्ति प्रवेश गराउनुपर्ने भएकोले वर्तमान अवस्थामा व्यवसायिक वातावरण नभएको कुरा व्यवसायीले राखेका छन् । सोको लागि खानी क्षेत्र घोषणा गरी आवश्यक प्रक्रिया अगाडि बढाउन नगरपालिकामा सिफारिस भएको छ ।
खानी क्षेत्रको स्थायी ढङ्गले समस्या समाधानको लागि बस्ती स्थानान्तरण खानी क्षेत्रको घोषणा लगायतका विषयवस्तुहरू आइरहँदा र सर्वेक्षण अनुसार सबै नागरिकहरू उक्त क्षेत्रमा बसोबास गर्न अनिच्छुक रहेको, वैकल्पिक अवस्था हुँदा अन्यत्र बसोबास गर्न तयार रहेको, आफूहरू असुरक्षित रहेको विषय प्रश्नावलीमा तथ्याङ्क सङ्कलनका क्रममा देखिएको आधारमा र व्यवसायीहरूको तर्फबाट थप लगानी गर्नको लागि व्यवसाय मैत्री वातावरण आवश्यक छ भन्ने बिषय उठिरहेकोले यो समितिको मुख्य काम खानी क्षेत्रको दीर्घकालीन रुपमा समस्या समाधानको लागि स्थलगत अध्ययन समेत गरी विद्यमान कानुनी र नीतिगत विषयहरूको अध्ययन गरी प्रतिवेदन पेश गर्नुपर्ने भएकोले नागरिकहरूको तर्फबाट उक्त क्षेत्रको लागि गर्नुपर्ने कार्यहरू र व्यवसायीहरूको तर्फबाट व्यवसायी मैत्री वातावरण तथा व्यवसायीहरूले गर्न सक्ने न्यूनतम कार्यहरू समेत समेटेर आ–आफ्ना सुझावहरू पेश गर्ने र ती सुझावहरुलाई समेटेर प्रतिवेदन तयार पारेर नगरपालिकामा पेस गरिएको छ ।
खानी दर्ताको प्रक्रियाको सन्दर्भमा खानी दर्ताको सम्पूर्ण अधिकार खानी तथा भूगर्भ विभागको क्षेत्राधिकार भित्र पर्दछ । खानी सञ्चालनको लागि अनुसूची १२ बमोजिमको ढाँचामा निवेदन, माईनिङ स्किम, वातावरणीय प्रभाब मुल्यांकन प्रतिबेदन, खानी सञ्चालन हुने कित्ताहरुको नापी नक्सा, जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी, जग्गाको मन्जुरीनामा र सधियारको सहमति, तिरो तिरेको प्रमाण, कन्सल्टेन्सीको सहमतिपत्र र सम्बन्धित कागजात, घरेलु दर्ता प्रमाणपत्र र मूल्य अभिवृद्धि कर समेत, प्यान दर्ता, कम्पनी दर्ताको प्रमाणपत्र, प्राविधिक कर्मचारीको बायोडाटा, खानि रहेको वडाको सिफारिस पत्र लगायतका कागजपत्रहरू नगरपालिकामा पेश भए पश्चात नगर कार्यपालिकाको बैठकको निर्णय समेतका आधारमा नगरपालिका बाट खानी तथा भूगर्भ विभागमा सिफारिस गर्ने ब्यबस्था छ ।
खानी विभागमा सिफारिस पेश भएपश्चात ती कागजपत्रहरूको जाँच गरी खानी विभागले प्रक्रिया पूरा भएको व्यवसायीलाई खानी सञ्चालनको लागि अनुमति दिन शर्त सहित नगरपालिकालाई सिफारिस गर्ने प्रावधान छ । सोही बमोजिम खानी दर्ता हुने गरेको छ । खानी दर्ताको प्रमुख अधिकार खानी तथा भूगर्भ विभागमा रहने र त्यहाँ बाटै सम्पूर्ण प्रक्रियाहरूको छानबिन गरी सम्बन्धित वडाको सिफारिस र नगरकार्यपालिकाको बैठकको निर्णय समेतका आधारमा विभागमा गइसकेपछि खानी दर्ता हुने ब्यबस्था छ । खानी दर्ता गर्दा कति अवधिसम्मको लागि अनुमति प्रदान गर्ने भन्ने व्यवस्था हुन्छ । सो अवधिसम्म नियमअनुसार रोयल्टी लगायतका राजस्वहरू सङ्कलन गरी खानी नवीकरण गर्ने अधिकार नगरपालिकामा रहेको छ ।
खानी मार्फत संकलन हुने राजश्वको सम्बन्धमा खानीले बुझाउनुपर्ने रोयल्टी आर्थिक ऐन बमोजिम नगरपालिकालाई बुझाउने व्यवस्था छ । रोयल्टी सङ्कलनका सम्बन्धमा खानीले पेश गर्ने बिक्री खाता अनुसार बिक्री परिमाणका आधारमा रोयल्टी निर्धारण हुन्छ । खानी मार्फत सङ्कलन हुने राजस्व प्रदेश सरकारमा ४०% र स्थानीय तहमा ६०% रहने व्यवस्था छ ।
खानी तथा भूगर्भ विभागको प्राविधिक सहमती बमोजिम साविक जिल्ला विकास समितिबाट उत्खनन् अनुमती प्राप्त खानीहरु पनौतीमा कोहिनुर रोडा ढुङ्गा उद्योग प्रा.लि. सानास्तर, काठमाडौं रोडा ढुङ्गा उद्योग प्रा.लि.,सानास्तर, डाईमण्ड स्टोन प्रा.लि.,सानास्तर, भालेश्वर रोडा ढुङ्गा उद्योग प्रा.लि.,सानास्तर, उडुवादेवी रोडा ढुङ्गा उद्योग प्रा.लि.,सानास्तर तथा रोशीखोला रोडा ढुङ्गा उद्योग प्रा.लि. ,मझौलास्तर । पनौती रोडा ढुङ्गा उद्योग प्रा.लि.,मझौलास्तर र रुसीखोला ढुङ्गा रोडा उद्योग प्रा.लि., सानास्तरका रहेका छन् । खानी तथा भूगर्भ विभागको प्राविधिक सहमती बमोजिम नगरपालिकाबाट उत्खनन् अनुमती प्राप्त खानीहरुमा कार्की रोडा ढुङ्गा उद्योग प्रा.लि.,मझौलास्तर, ओम हिमाल रोडा ढुङ्गा उद्योग प्रा.लि.,मझौलास्तर रहेका छन् ।
कस्तो रहेको छ ? खानी क्षेत्रको अवस्था ।
खानी क्षेत्रको अवस्था र समस्याको समाधानको लागि कार्यदलको तर्फबाट खानी क्षेत्रको स्थलगत अध्ययन गरिएको थियो । स्थलगत अध्ययनमा कार्यदलका संयोजकको नेतृत्वमा खानी ब्यबसायी सहित कार्यदलका सदस्यहरुको सहभागिता रहेको थियो । स्थलगत अध्ययनका क्रममा स्थानीय नागरिकहरु संग छलफल तथा अन्र्तक्रिया समेत गरिएको थियो । स्थानीय नागरिकहरुको जग्गाको अवस्था तथा समस्या समाधानको लागि नागरिकहरुको धारणा संकलन गर्ने उद्येश्यले तयार गरिएको सर्बेक्षण फाराम बितरण गरि जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी सहित पेश गर्न नागरिकहरु लाई अनुरोध गएिकोमा तथ्यांक संकलनको अवस्था देहाय बमोजिम रहेको छ । तथ्यांक संकलन बाट प्रााप्त फाराम संख्या ः १२४ गर्दा सो क्षेत्रमा जम्मा जग्गाको क्षेत्रफल ः २७९४.७६ रोपनी जग्गा खानीका लागि हुन सक्ने देखिएको छ ।
नागरिक स्तरबाट प्राप्त अपेक्षाहरु
क) बस्ती स्थानान्तरण÷व्यवस्थापन
ख)जग्गा बिक्रि
ग) खानी बन्द
घ) खानी क्षेत्र घोषणा
अधिकाशं नागरिकहरुको राय खानी र बस्ती संगसंगै हुन सक्दैन र यसको ब्यबस्थापन हुनुपर्छ भन्ने रहेको देखिन्छ । स्थललत अध्ययन गर्दा छलफलका क्रममा नागरिकहरुले बसोबासका लागि जोखिम महसुुस गरिरहेको जानकारी गराएका थिए । तथ्यांक संकलनको क्रममा केही नागरिक सम्पर्कमा आउन नसकेको हुँदा जम्मा जग्गाको क्षेत्रफल केहि बढन सक्ने देखिन्छ ।
क) ढुङ्गाखानी समस्या समाधानका लागि नागरिक स्तरको सुझाब
१) बस्तिमुनि ढुङ्गाखानि संचालित हुँदा बस्ति पुर्ण जोखिम भएकोले खानिनै यथावत रहने स्थितिमा बस्ति स्थानान्तरण गर्नुपर्ने ।
२) बस्ति स्थानान्तरणको लागि हाल संचालित उद्योगहरुले आ–आफ्नो क्वायरि एरियाको जग्गा तत्काल खरिद गरि सहयोग गर्नुपर्ने । यदि त्यसो हुन नसके वडा र नगरको संयोजकत्वमा खानि बन्द गर्नुपर्ने ।
३) समयावधि पूरा भएका खानिहरुलाई पुन अनुमति दिँदा हाल संचालन भएको खानिको अन्तिम बिन्दुदेखि सिमा नाप गरि क्वायरि एरिया तोक्नुपर्ने र सो क्यायरि क्षेत्र भित्रका जग्गा तत्काल खरिद गरे पश्चात मात्रै खानि संचालनको अनुमति दिनेुपर्ने ।
४) क्वायरि एरिया भन्दा बाहिरको जग्गा र बस्तिको जिम्मा नगरपालिकाले लिनु पर्ने ।
५) यदि कुनै किसिमको निष्कर्ष निस्कन नसक्दा त्यहाका स्थानियलाई सुरक्षित बसोबासको लागि घडेरी उपलब्ध नगरपालिकाले गराउनु पर्ने ।
६) खानि क्षेत्र घोषणा गरि सरकारलेनै उद्योगले ओगटेको भन्दा बाहेकको जग्गाको जिम्मा लिनुपर्ने ।
७) कुनै किसिमको सहमति र निराकरणमा जान नसक्दा पुर्ण रुपमा खानि बन्द गरि बस्ति सुरक्षित बनाउनु पर्ने ।
८) जलाधार क्षेत्र घोषणा गरि कृतिम ताल निर्माण गरि पर्यटनलाई स्थापित गर्ने ।
९) सम्पुर्ण नियम परिधि उद्योगले निर्वाह गर्नुपर्ने सामाजिक दायित्व जनताका माग लिखित रुपमा त्रिपक्षिय हस्ताक्षर सहित पुर्ण पालना गराउनु पर्ने ।
१०) हाल कार्यरत समितिलाई ढुङ्गा खानिलाई नियमन गर्न निरन्तरता सहित अधिकार दिनुपर्ने ।
११) खानि संचालकले समितिको निर्णयको खिलाफ कुनै काम गर्न नपाईने ।
१२) नीति नियम परिधि मापदण्ड पालना गराउन समितिले आवहान गरेका हरेक कार्यक्रममा संचालकको उपस्थिति अनिवार्य हुनुपर्ने ।
१३) अन्य विषय नियम दायित्व खानि संचालक संगको संयुक्त बैठकबाट लिखित निर्णय गराई पालना गराईने ।
१४) वडा नं २ बाट नै बैकल्पिक बाटोको ब्यबस्था नगरपालिका वडा र खानी संचालकको त्रिपक्षिय अग्रसरतामा सञ्चालन गर्ने ।
१५) प्रतिबेदन तयार भईसकेपछी भेला डाकी सबै तयारीका साथ खानी सञ्चालक र नगरपालिकाको समस्या समाधानमा कुन कती र कसरी ब्याख्यात्मक कार्ययोजना सहित लिखत तयार गरि माइन्युटिङ सहित वडा, नगर,खानी संचालक,स्थानीय बासी समिति, साथै सम्पुर्ण स्थानीयबासीको हस्ताक्षर सहित पारित गर्नुपर्ने ।
ख) ढुङ्गाखानी समस्या समाधानका लागि ब्यबसायी स्तरको सुझाब
यस पनौती नगरपालिका वडा नं. २ मा संचालनमा रहेका खानी तथा क्रशर उद्योगीहरुसँग यस क्षेत्रलाई खानी क्षेत्र घोषणा गर्दा हुने यस क्षेत्रको विकास र स्थानिय बासिन्दाहरुलाई गर्नुपर्ने व्यवस्थापनको सम्बन्धमा राय सुझाव माग भएकोले यस क्षेत्रमा उद्योग संचालन गर्ने व्यवसायीहरुबाट निम्न बमोजिम राय सुझाव गरिएको जानकारी गराउँदछौं ।
१. यस क्षेत्रमा उद्योग संचालन गर्ने सम्पुर्ण उद्योगीहरुको विगतमा आएको बाढी पहिरोबाट केही पूर्ण क्षती र केही आशिंक क्षती भई हालसम्म उद्योग सुचारु रुपमा संचालन गर्न नसकिएको व्यहोरा तहा समक्ष अवगत रहेकै छ ।
२. खानी उद्योगीहरुले क्ष्भ्भ् मा उल्लेखीत क्वेरी क्षेत्रमा पर्ने घरजग्गा खानीका कारण प्रभावित भएमा सोको व्यवस्थापन गर्ने जिम्मेवारी सम्वन्धित खानी व्यवसायीको रहनेछ । हाल संचालनमा रहेका खानी व्यवसायीले आवश्यकता भन्दा बढी जग्गा खरिद गरि व्यवसाय संचालन गरिरहेता पनी विगतमा आएको अविरल वर्षाका कारण सम्पूर्ण उद्योगी व्यवसायी अत्यन्तै प्रभावित भई ठूलो आर्थिक व्ययभार खेप्नु परेको अवस्था रहेको छ साथै केही उद्योगहरुको खानी विभागबाट खानीको स्विकृत अवधी समाप्त भई र थप कागजात पेश गरि समयावधी थप गर्ने प्रक्रियामा रहेको हुँदा निजहरुको उद्योग संचालनको लागि सहजीकरणको माग राखेका छन् ।
त्यस क्षेत्रमा स्थायी बसोबास गरिरहनु भएका बासिन्दालाई व्यक्ति तथा चौपाया व्यवस्थापनको लागी सुरक्षित स्थानमा घर घडेरी व्यवस्था गर्न नगरपालिका र प्रदेश सरकारले आवश्यक पहल गर्नु पर्ने देखिन्छ ।
४. खानी क्षेत्र घोषणा गरि सहज आवागमन व्यवस्था गर्न सकिएमा नयां उद्योगी व्यवसायी यस क्षेत्रमा खानी संचालन गर्न आउन सक्ने प्रवल सम्भावना रहेको देखिन्छ ।
५. हाल संचालनमा रहेका खानी व्यवसायी अत्यन्तै पिडाग्रस्त अवस्थामा रहेकाले थप घर जग्गा खरिद गरि खानी विस्तार गर्न सक्ने अवस्थामा नरहेको यहाँहरुमा जानकारी नै छ तर यति भन्दैमा सँगै साधमा रहेका प्रभावित स्थानिय व्यक्तिको व्यवस्थापन गर्ने जिम्मेवारी व्यवसायीको सदैव रहने नै छ ।
६. खानी क्षेत्र घोषणा गर्दा तहाँ रहेका स्थानिय व्यक्तिहरुको घर जग्गाको मुल्य निर्धारण गर्नुपर्ने देखिन्छ र उक्त कार्य अत्यन्त वैज्ञानिक तवरबाट प्रदेश सरकार, स्थानिय सरकार, स्थानीय व्यक्ति र उद्योगीहरुको सहभागितामा गरिनु उपयुक्त हुने देखिन्छ ।
७. हाल वडा नं. २ र १२ मा यस क्षेत्रका अधिकांश खानीहरु संचालनमा रहेकाले सो बाट नगरपालिकामा प्राप्त हुने आय श्रोतबाट उक्त क्षेत्रको विकास निर्माण र बाटोको स्थायित्वका लागि बजेट विनियोजनको सुनिश्चितता गर्नुपर्ने देखिन्छ ।
८. हाल संचालनमा रहेका उद्योगहरु बिगत दिनमा गएको अविरल बर्षा र बाढी पहिरो र अव्यवस्थित सडकका कारण आंशिक तथा पूर्ण रुपमा प्रभावित रहेको हँुदा अत्यावश्यक बाहेकको थप आर्थिक व्ययभार लिई उद्योग संचालन गर्ने हालको अवस्थामा नरहेको जानकारी गराउँदछौ ।
९. यस क्षेत्रलाई खानी क्षेत्र घोषणा गर्न यस क्षेत्रमा बसोबास गरिरहेका स्थानिय बासिन्दा र स्थानिय क्षेत्रमा जग्गा मात्र रहेका जग्गावालाहरुलाई बर्गीकरण गरि २ चरणमा निजहरुको व्यवस्थापन गरिनु आवश्यक देखिन्छ ।
क. स्थायी रुपमा बसोबास गरिरहेकाहरुलाई सुरक्षित स्थानमा आवासको लागी जग्गा व्यवस्थापन ।
ख. खानी क्षेत्रमा जग्गा मात्र रहेका व्यक्तिहरुको जग्गा खरिद विक्रीको लागी जग्गाको मुल्य निर्धारण तथा खरिद विक्रीको लागी पहल अगाडी बढाउने ।
१०. रोशी क्षेत्रको सडकको धुलो व्यबस्थापन गर्नको लागी नगरपालिका र कर संकलन केन्द्र वा अन्य बैंकल्पिक संस्था मार्फत प्रतिदिन खानी तथा क्रशरबाट सामान ढुबानी गर्ने गाडीको प्रतिदिन प्रति ट्रिपको रु. २५ देखि रु ३० प्रति दिन भुक्तानी गर्ने गरि हालको लागी खानी संघको ट्रिपर मर्मत संभार गरि सो मार्फत धुलो व्यवस्थापन गर्न पानी हाल्ने र नियमित उक्त गाडीको मर्मत संभार खर्च सोही खर्चबाट गराउनु उपयुक्त देखिन्छ ।
तपाईको प्रतिक्रिया