मेरो पहिलो भारत भ्रमणको अनुभव

कृष्णचन्द्र बञ्जारा
एकबारको जुनिमा रेल चढ्ने खुबै रहर थियो । अनि रेलमा चढ्दा गाडीमा जस्तो घाच्याक घुचुक हल्लाउला कि नहल्लाउला ? भारतको रेल चढ्दा चोरी खुब हुन्छ भन्ने सुनिएको थियो । हाम्रै सामान कसैले चोरीदियो भने के गर्ने होला ? यो सबैकुरा आफैले भोग्न र देख्न किन भ्रमणमा ननिस्कने ? लगायतका अनेकौ प्रश्नहरु बोकेर सन् २०२५ को फ्रेबुअरी २२ तारिखमा हामी काठमाण्डौबाट भारत तर्फ यात्रामा निस्कियौ । यो यात्रामा हामीले पहिलो विदेश भ्रमणको अनुभव हासिल गर्न लागेका थियौ । पहिलो पटक रेल चढ्ने रहर पुरा गर्नु त छँदै थियो । सँगै यात्रामा निस्किएका हामी चारै सँग पुरानो अनुभव नभएकोले यात्रा अवधिभर देखिएका र भोगिएका कुराहरु सबै नयाँ नौलो र पहिलो अनुभव हुनेवाला थियो ।

सोही दिनको बिहान हामी काठमाडांै कलंकीबाट बिहान साँढे १० बजे भैरहवाको बसमा चढ्यौं । म, मेरो भाई देविचन्द्र बञ्जारा र भाइको मिल्ने साथीहरु श्रीराम भट्ट र सन्दीप थापासँग भेट भएको थियो । संयोग पनि कस्तो भयो भने हामीले टिकट काटेको बस र साथीहरु आगमन एकै पटक भएको थियो । त्यसैले हामी एक मिनेट पनि नरोकिई तुरुन्तै भैरहवा तर्फको गन्तव्यमा हुइकियौ ।

यो यात्रा अवधीमा हामीले रेल चढ्ने मात्रै रहर बोकेका थिएनौ । त्यहाँका धार्मिक तिर्थहरुमा सकेसम्म घुम्ने चाहना पनि सँगै पोको पारेका थियौ । हामीले पुग्नै खोजेका धार्मीक तिर्थहरुमा हालै भिडभाडका कारण भागदौड मच्चीएको समाचार आएको थियो । हामी पुग्ने समयमा त्यस्तो नहोस भन्ने कामना गर्र्दै हामी अगाडी बढ्यौ ।
हामी यो यात्रामा भारतको उत्तर प्रदेशमा रहेको प्रयागराज, काशी र गोरखपु सम्म पुग्ने छौ । यो सबै गन्तव्यमा घरबाट निस्किएर करिव एक हजार किलोमिटर टाढा पुग्नेवाला थियौ । यतिधेरै टाढा सम्म जमिनै जमिन गरिएको यो पनि पहिलो नै अनुभव हुनेवाला थियो ।


काठमाडांैबाट हामी चढेको गाडी करीव १ बजे सिधै मलेखुमा पुगेर खाना खाने ठाउँमा रोकियो । यहाँ थपिथपी भेज खाना खाएको २ सय ५० पर्ने रहेछ । यहाँको तरकारी अचार मिठै थियो । भात भने हिजै पकाएर तातो बनाएर राख्या हो कि भन्ने अनुमान गरियो । ठिकै छ पेट त भर्नै पर्याे भनेर मज्जाले खाईयो ।
खाना साना खाएर चितवनसम्म सरर अगाडी बढेको गाडी बुटवल तर्फ लागेपछी भने घच्याकघुचुक गर्न थाल्यो । धुलोधुवालाई हेर्दा हामीले काठमाडौको कलंकीबाट गंगबु तर्फको बाटोलाई सम्झायो । तर यताको तुलनामा खाल्डाखुल्डी भने उतै कम थियो । यहाँबाट बुटवल सम्मै यस्तैबाटो छ भन्ने सुनेपछी यो राजमार्ग आसपासका घरका बासिन्दाहरुको दैनिकी कति कष्टकर होला भन्ने लाग्यो ।


करिव ६ बजे दाउन्ने भन्ने ठाउँको जंगलमा हामी चढेको गाडी जाममा फस्यो । अगाडी बाटो निमार्ण गर्ने मेशिन बिग्रिएपछी यहाँ आवत जावत गर्ने दुई तर्फी बाटो नै बन्द भएको थियो । करीव दुई घण्टा यतै छटपटी गरेरै बित्यो । घुम्न भनेर किनेको नयाँ जुत्ता यहाँकै धुलोेले हेर्न नहुने बनायो ।
दुई घण्टाको जाम पछि यहाँ सम्म आउदा खासै नजागेका ड्राइभर दाई र सहचालक भाई स्लो मोसन बाट एकैपट फास्ट मोसनमा जागा भए । सहचालकले अगाडीका गाडीहरुको ग्यापलाई हेर्दै ड्राइभरलाई संकत दिने र अगाडीको गाडी छिचोल्दै बढ्ने क्रम सुरु भयो । काठमाडौंबाट यहाँ सम्म आउदा एउटा पनि गाडी ओभरटेक नगरेको गाडीको यो फास्ट मोसनले हाम्रो पनि दिक्दारीलाई हटाउन मद्दत गर्याे । हामी भन्दा अगाडिका करीव दुई सय अगाडीलाई छिचोल्दै हामी चढेको गाडी अग्र स्थानमा पुग्यो । त्यसपछी पनि आफनो लेन छाडेर बाटो छेकेका सवारी चालकहरु हाँस्दै रिसाउँदै चालक अघि बढिरहे ।


रातको करीब ११÷१२ बजे हामी चढेको गाडी बल्ल भैरहवा पुग्यो । त्यहाँस्थित देवकोटा चोकमा ओर्लदा हामी निकै रमाएका थियौ । तर मध्य रातमा भारत तर्फको यात्रा त्यहाँबाट सुरु गर्ने कि नगर्ने भन्ने दुविधामा प¥यौ । त्यहाँबाट सिधै रिजर्भ जाने हो भने हामी लगी दिन्छौ भन्ने सवारी चालहरु हामीलाई फकाउन आएका थिए । हामीले भने उनिहरुको कुरा नसुनी बिहान भए पछि मात्रै भारत तर्फको यात्रा गर्ने निधो गर्याै । साथी श्रीरामले उहाँको चिनजानको साथीसँग सम्पर्क गर्नु भयो । उहाँ निकै सहयोगी र मिलनसार हुनुहुदो रहेछ । रातको समयमा पनि अटो लिएर हामीलाई देवकोटा चोकमै भेट्न आउनु भयो । हामीलाई बस्ने र भारत भ्रमणमा सहज होस भनेर सिमको व्यवस्था गर्ने सम्मको काम हँसिलो र रमाईलो पारामा गरिदिनु भयो । करीव १ बजे सम्म हामीले अलमल गर्याै र बिहान पाँचै बजे उठ्ने गरी अर्लाम सेट गरेर सुत्यौ ।
केहि बेरको सुताई पछि बिहान पाँच बजे उठ्दा शरिर पुरै हलुका र फ्रेस थियो । मौसम चिसो चिसो कुल कुल थियो । अबचाहि बल्ल भारत तर्पm पाइला टेकिने र त्यहाँबाटा यात्रा चालुहुने भएकोले मन उत्साहित पनि थियो । न्यू थापा मल्टी स्टोर भैरहवामा खाजाहरु किनेर हामी अगाडी बढ्यौ ।


भौरहवाबाट सुनौली नाका हुदै प्रवेश गर्न सामान्य परिचयपत्र देखाउदा हुने रहेछ । एकै छिन लाईन बसेर हामीले कतिजना आएको भनेर संख्या टिपायौ र परिचय पत्र देखाएर अगाडी बढ्यौ । सिमा नाकाको गेट छाडेर भारत तर्फ लाग्ना साथ हामीलाई बिचौलीयाहरुले दिमाग खराब गर्न थाले । नेपालमा जस्तो सबैलाई विश्वास गरेर सल्लाह , सुझाव माग्न ठिक रहेनछ भन्ने पहिलो ज्ञान नै सुरुबाटै प्राप्त भयो । किनभने उनीहरुले सरकारी गाडी पाइदैन भनेका थिए । हामीले सरकारी गाडी चढेरै यात्रा गर्याै । उनस्हरु जहाँ बस स्टेशन छैन भनेका थिए । त्यहाँ नै हामीले बस स्टेशन भेटायौ । हामीले सल्लाह मागेका प्रत्येक मान्छेका फरकफरक कुरा अनि अन्यौललाई छिचोलेर सन २०१९ देखि २० सम्ममा बनेको र त्यहाँका विधायक अमनमणि त्रिपाठी तथा नगर पञ्चायत अध्यक्ष शिवम त्रिपाठीले शिलान्यास गर्नु भएको बस स्टेसनमा पुगेर अगाडी बढ्न बिहान ६ बजे देखि १० बज्यो । यहाँबाट भारत तर्फ अगाडी बढ्न चाहने अन्य नेपालीहरु पनि यसरी अलमलीएको पायौ । केही निजी गाडीहरु रिजर्भ गरेर अगाडी बढि सकेका थिए । केही अन्य रुटका गाडीहरु चढेर अगाडी बढि सकेका थिए । हामी भन्दा अगाडी नै यो बस स्टेशनमा आएर सरकारी गाडी नै चढ्ने भनेर कुरिरहनु भएको पोखराबाट आउनु भएको भगवती शर्मा बाँस्तोला भेटिनु भयो । छोरा साथमा लिएर यात्रामा निस्कनु भएको उहाँले यहाँ अन्य गाडीहरु भन्दा सरकारी गाडी विश्वाशिलो र सहज हुने बताएपछि हामी पनि उहाँले जस्तै सरकारी गाडी नै कुर्ने निधोमा पुगेका थियौ ।
कुर्दा कुर्दै एकै गन्तव्य तर्फ जाने एक गाडी जती नेपाली दाजुभाई दिदी बैनि भेला भएका थियौ । गाडी चढेपछी सबै जनालाई सरसर्ती हेर्दा एकदुई जना बाहेक सबै नेपाली देखेर उत्साहित भइयो । सुनौली बाट हामी जान चाहेको झूसी प्रयागराजसम्मको साधारण गाडीको भाडा पाँच सय पचास भारतीय रुपैयाँ पर्दाे रहेछ । गाडी चढेर केहि बेरमा नै भाडा उठाउनेलाई सो रकम तिर्याै । उहाँले हामीलाई डिजीटल मेसीनबाट प्रिन्ट भएको बिल दिनु भयो । यदि हामीले एसी वाला गाडीमा चढेका थियौ भनेचाहि ६ सय ९८ भारु तिर्नु पर्ने रहेछ ।
‘मलाई बगाउला कि फूल बगाउने गंगाले…..’
गाडी अगाडी बढेको केहि बेर पछि एक जना दाजुले यहि बोलको गाना निकाल्नु भयो । अनि उहाँको स्वरमा क्रमश अन्यले स्वर थप्दै जानु भयो । गाडीमा कोहि पनि मोबाईलमा घोत्लिएका थिएनन । सबै जना ताली बजाउने, स्वरमा स्वर थप्ने, जयजय कार गाउने र बाहिरको दृश्यमा रमाउदै गाडीमा अगाडी बढिरहेका थियौ । बाहिर त्यति सफा घामको किरण छाएको नभए पनि घमाईलो भने थियो । टाढाटाढा तुवालोले ढाकेको देखिन्थ्यो । तापक्रम हामीले सोचेको भन्दा निकै कम थियो । हल्का गर्मी भएपनि पसिना छुटाउने खालको भने थिएन ।
‘नाच फुरुरु फूल लगाएकी राधिका….’
यो बोलको गीतले गाडीमा थप रमालो माहोल सीर्जना गर्याे । केहि दिदीहरु हल्एिएकै गाडीमा पनि नाँच्न थाल्नु भयो । यसरी रमाईलो गर्दै सुनौली देखि प्रयागराज सम्मको करिव ४ सय २४ किलो मिटरको यात्रामा निस्किएका हामी दिउँसो करिब १ बजे रिशभ ढावामा रोकियौ । यो ढावा नौधवा, पिपरामनी, महाँराजगंजमा लिलाजी चौधरीले सञ्चालन गर्नु भएको सामान्य ढावा रहेछ । अरु बेलामा सामान्य ग्राहकहरुलाई सेवा दिदै आएको यो ढावाले आजभोली ३÷४ हजार जनालाई सेवा दिन भ्याइ नभ्याई रहेछ । अधिकांश सरकारी गाडीहरु यहि ढावाको अगाडी रोकिने हुँदा यस ढावाको आम्दानी पनि निकै राम्रो रहेको अनुमान गरियो । यहाँको खाना, दाल तरकारी, रोटीको स्वाद त राम्रै थियो । तर खाना खादा नेपालको जस्तो दाल तरकारी थपी थपी खाने बानीले भने यहाँ काम गरेन । दाल तरकारी खाना जे थपे पनि थपे अनुसार शुल्क थपिदै जाने व्यवस्थाको सामना गरेरै हामीले पेट भर्ने कार्यक्रम गर्याै ।
खाना खाने क्रममा काठमाण्डौ बाट एकै दिनमा हामी चढेको गाडी भेटाउन आउनु भएको एक जना दाजु सँग चिनजान भयो । उहाँ काठमाडौ बाट भैरहवा सम्म बिहान ८ बजेको हवाई जहाज चढेर आउनु भएको रहेछ । हामी अलमलीने अवधीमा उहाँको यात्रा हामी चढेको गाडीमा बिहानकै अबधीमा भ्याई सक्नु भएको रहेछ । केहि दिन अगाडी पनि यहि यात्रामा आउनु भएको उहाँ आप्mनो चाहना पुरा नभएपछि दोहो¥याएर आउनु भएको रहेछ । हाम्रो पहिलो यात्रा भएको कारण केहि असल सुझाव दिनु भएको उहाँलाई अहिले चढिरहेको बस बाट ओर्लिए पछि उहाँलाई पक्षाउने निधो ग¥र्याै ।
उहाँ भारतको प्रयागराज, उत्तर प्रदेशमा अंग्रेजी महिना जनवरी १३, २०२५ देखि सुरु भएको महाकुम्भ मेलाका लागि केहि दिन अगाडी आउनु भएको रहेछ । तर त्यतिबेला उहाँ आउने समयमा मेलामा ठ्याक्कै भागदौड मच्चिएछ । त्यतिखेर करिव ३० जनाको मृत्यु समेत भएको रहेछ । जसका कारण गंगा, यमुना र सरस्वती नदिको त्रिवेणी संगममा स्नान गर्ने चाहना पुरा गर्न सक्नु भएको रहेनछ ।


एक सय ४४ बर्ष पछि पाप पखाल्ने र धर्म कमाउने धार्मिक अवरको रुपमा आयोजना भएको मेलामा यस पटक स्नान गर्न छुट्यो भने अर्काे पटक त भ्याउने कुरै भएन । त्यसैले अघिल्लो पटक भागदौडका कारण फर्कनु भएको उहाँ पुनः आउनु भएको रहेछ । उहाँलाई भेटेर हामीलाई पनि उहाँँसँगै त्रिवेणी घाटमै पुगेर स्नान गर्ने उत्प्रेरणा मिल्यो ।
काशीगंज भन्ने ठाउँमा करिव ७ बजे हाम्रो गाडी रोकीयो । त्यहाँ हामीले ति काठमाडौबाट एकै दिनमा आउनुभएको दाईसँगै मिठो मट्का चियाको स्वाद लियौ । यो काठमाडौमा पाइने अन्य चियाहरु भन्दा निकै स्वादिलो थियो । त्यहाँ मैले ति दाज सँग उता ओर्लिएपछि सँगै जानु पर्छ है भनेर कानेखुसी गरेँ । उहाँले सहमती जनाउनु भयो । त्यहाँबाट अन्तिम गन्तव्यमा करिब ११ बजे हामी उत्रियौ । अनि ति दाई जताजता लाग्छन त्यतै त्यतौ पछ्याउन थाल्यौ । महाकुम्भ मेला भएको ठाउँ सम्म त करिब ५ किलोमीटर हिडेर पुगियो तर संगममै पुग्न भने करिब २५ किलोमिटर नै पो हिडियो कि भन्ने हामीले अनुमान लगायौ ।
संगम पुग्नु अगाडी कल्प वृक्ष दरबार हुदै हामी समुन्द्र मन्थनद्धारमा पुग्यौ । जसले यो कुम्भ मेला भएको स्थान समुन्द्र मन्थनसँग जोडिएको छ भन्ने कुरा चित्र मार्फत दर्साउथ्यो । मान्यताहरुका अनुसार जब समुन्द्र मन्थनको क्रममा अमृत कलश बाहिर आयो तब त्यो कलशलाई लिन देवता र राक्षसहरु बिच घमासान तानातानी र संघर्ष भयो । त्यो संघर्षलाई कम गर्न भगवान विष्णुले मोहिनी रुप धारण गर्नु भयो । संर्घषकै क्रममा विष्णुले अमृत कलशलाई खोसेर भगवान इन्द्रको छोरा जयन्तलाई दिनु भयो । जयन्तले कौवाको रुप धारण गरेर अमृत कलशलाई लिएर भागे । सोहि क्रममा यो महाकुम्भ मेला भइरहेको ठाउँमा केहि थोपा अमृत छचल्कीएर खसेका कारण यो ठाउँ पवित्र संगम स्थलको रुपमा चर्चीत रहेको कुरा यहाँ उल्लेख रहेछ ।
सोहि संगम स्थलमा हामी करिव रातको साँढे एक बजे पुग्यौ । त्यहाँ पुग्दा हामी लगायत सबैजना निकै उत्साहित थिए । रातको समय भएपनि संंगम स्थल बत्तिहरुले झलमल्ल थियो । त्यहाँ पुगपछि हामीले हाम्रा यात्राका सबै कठिनाईहरु बिर्सियौ । कुम्भमा नुहाउदै गर्दा निकै धेरै धार्मिक उर्जा प्राप्त भएको महसुस गरीयो । कुम्भको पानी न्यानु थियो । मुनी बालुवा र माटो भएका कारण केहि धमीलो भएता पनि पानी निरन्तर बगिरहेको हुदा केही डर वा घिन भने लागेन । निकै बेर डुबुल्की मारौ , प्रार्थना गरौ भन्ने मनमा लागिरहेको थियो । तर हाम्रा कपडाहरु सम्हालेर बस्नु भएका साथीहरुलाई पालो दिनु पर्ने र नुहाएर पुजा पनि गर्नु पर्ने भएकोले छिटै स्नान गरेर निस्कियौ । त्यसो त संगम भरी रहेका प्रहरीहरुले सिठी बजाएर हतार गर्न अनुरोध गरिरहेका कारणले पनि छिटोछिटो स्नान गरेर निस्कियौ । पुजा पाठ प्रार्थना गर्याै ।
हामी पुगेको समयमा अन्य दिनहरु भन्दा निकै कम भिडभाड भएको पाइयो । यहाँ आएर सफलता पूर्वक करिव ६६ दशमल ३० करोडले सहभागीता जनाउने मध्ये एक हुन पाएकोमा निकै भाग्यमानी महसुस गरियो । यसरी हामीले हाम्रो सबैभन्दा पहिलो तार्गेट सफलता पूर्वक पुरा ग¥यौ । त्यसपछि गाडी चढेर काशी नाथ मन्दीर र त्यहाँको गंगा किनारामा भ्रमण ग¥यौ ।

फर्कने क्रममा हामीले शुरुमै कल्पना गरेको रेल चढ्ने धोको पनि पुरा गर्ने निधो ग¥यौ । काशीबाट गोरखपुर चल्ने रेल चढ्दा निकै आनन्द महसुस भएको थियो । रेल चढ्दा गाडीमा जस्तो हल्लाउने भन्ने कुरा नहुने रहेछ । सामान्य डिब्बा छाडेर सिट र एसी वालामा हामीले रहर पुरा गर्न चाहेकोले चोरीचकारीको पनि चिन्ता नहुने रहेछ । करिब पाँच घण्टा मज्जाले ओछ्यानै सुतेजसी यात्रा गरेर ओर्लदै गर्दा सोहि रेलको टिकट काट्दाको तनाव पूर्ण क्षणलाई सम्झीयौ । जहाँ हामीले सरकारले तोकेको भन्दा बढी शुल्क तिर्नु परेको थियो । टिकटमा कम शुल्क लेखिएको थियो । हामीले बढी शुल्क तिर्नु परेको थियो । केहि बेर झगडा पनि गरीयो । तर केहि सिप हाम्रो लागेन । यो हाम्रो यात्राको सबैभन्दा तितो अनुभव थियो ।

तपाईको प्रतिक्रिया