
जिल्लाको डाँडापारि महाभारत गाउँपालिका वडा नं ५ का कफी उत्पाद किसानहरुलाई उत्पादन र प्रशोधन प्रविधि सम्बन्धी तालिम दिइएको छ । बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहयोगमा कृषि विकास कार्यालय धुलिखेलको सहयोग तथा महाभारत साना किसान कृषि सहकारी संस्था लिको समन्वयमा ‘समुदायमा आधारित एक वडा एक उत्पादन’ कार्यक्रम अन्तर्गत किसानलाई तालिम दिएको हो ।
मंगलबार तालिम समापन कार्यक्रममा बोल्दै बागमती प्रदेश सभा सदस्य रत्न प्रसाद ढकालले किसानहरुले गर्दै आएको कृषि उत्पादनमा थप विकास गर्दै लैजाने उद्धेश्यले ‘एक वडा एक उत्पादन’ कार्यक्रमलाई अगाडी सारेको बताउनुभयो । जसअन्तर्गत काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्रमा भौगोलिक हिसाबले कफी उत्पादनको सम्भावना धेरै रहेको र किसानहरुले पनि नगदे बालीको रुपमा खेती गर्दै आएको कारण कार्यक्रम अगाडी बढाएको बताउनुभयो ।
महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले महाभारत गाउँपालिकाको पहिलो आवश्यकता बाटो र विजुली रहेकोमा त्यसलाई पूरा गरेर अहिले नागरिकको जीवनस्तर माथि उठाउन उत्पादनमा जोड दिएको बताउनुभयो । त्यही योजना अनुसार अहिले गाउँकार्यपालिकाको निर्णयबाट पालिकाको वडाहरुमा कुन क्षेत्रमा के उत्पादनको सम्भावना छ भनेर गरेको माटो परीक्षणको आधारमा वटा नं ५ मा कफी उत्पादन र वडा नं १ र २ मा बाख्रापालनको सम्भावना देखिएपछि त्यही अनुसार काम गरिरहेको बताउनुभयो ।

कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख कुलप्रसाद दवाडीले महाभारत गाउँपालिकामा गत वर्षबाट समुदायमा आधारित एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन हुँदै आएकोमा यसवर्ष किसानहरुले गर्दै आएको कफी उत्पादनको क्षेत्रमा उत्पादन गुणस्तर र उत्पादकत्व बृद्धिका लागि कफी प्रशोधन प्रविधि तालिम प्रदान गरेको बताउनुभयो । जिल्लाको डाँडापारिको महाभारत गाउँपालिकामा कफी उत्पादनको योजना सम्झौता गरेर काम गरिसकेको र खानीखोला गाउँपालिकामा सम्झौता गर्ने चरणमा रहेको उहाँले बताउनुभयो ।
महाभारत गाउँपालिका कृषि शाखाका प्रमुख खिम डाँगीले विगत तीन वर्षदेखि बार्षिक १÷१ लाख कफीको विरुवा वितरण गरी उत्पादनमा सहयोग गर्दै आएको बताउनुभयो । अझ त्यसलाई विस्तार गर्नका लगि गाउँपालिका र प्रदेश सरकारसंगको साझेदारी कार्यक्रम अन्तर्गत क्षेत्र विकास गर्न विरुवा रोप्ने, प्रविधि हस्तान्तरण र सिंचाईका लागि आवश्यक सहयोग गर्ने काम अगाडी बढाएको बताउनुभयो ।
केन्द्रिय कफी उत्पादक सहकारी संघका अध्यक्ष तुलसीराज धितालले काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्रमा कफी उत्पादन राम्रो भएको बताउनुभयो । अरु ठाउँमा छहारी विना नफलेको कफी महाभारतमा विना छहारीको कफी फलेको र गुणस्तर पनि रहेको भन्दै अझ यसको तत्कालिन फल लिएर आम्दनी गर्ने मात्रै नहेरी दीर्घकालिन रुपमा उत्पादन गर्न छहारीको व्यवस्थापन, सिंचाईको सुविधा र लाग्न सक्ने रोग नियन्त्रणको काममासमेत जोड दिन आग्रह गर्नुभयो ।

वडा नं। ५ का वडा अध्यक्ष विजय राना मगरले किसानहरुको चाहना अनुसार कफी उत्पादनको कामलाई अभियानकै रुपमा अगाडी बढाएकोमा त्यसमा सिंचाईको आवश्यक भएको कारण पालिका र प्रदेश सरकारलाई सहयोग गर्न आग्रह गर्नुभयो । डाँडापारिको कफीको अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको र यहाँको कफी गुणस्तर पनि भएकाले पछिल्लो समयमा वडाका सबैजसो किसानहरुले अरु खेती छोडेर कफीमा नै केन्द्रित भएको उहाँले बताउनुभयो ।
महाभारत साना किसान कृषि सहकारी संस्था लि। का अध्यक्ष हस्त बहादुर दर्लामीले समुदायको किसानहरुको माग, चाहना र आवश्यकताको आधारमा सामग्री वितरण तथा प्रशोधन प्रविधिको विषयमा ज्ञान र सीप हस्तान्तरण गर्ने अभियानमा रहेको बताउनुभयो । सो क्रममा कृषि विकास कार्यालयको आयोजना, महाभारत गाउँपालिकाको समन्वय र महाभारत साना किसान कृषि सहकारी संस्थाको सहयोगमा ९० जना किसानलाई तिन दिने कफी उत्पादन र प्रशोधन प्रविधि तालिम प्रदान गरेको छ ।
नगद आम्दानीको माध्यम कफी खेती हुन थालेपछि अहिले महाभारत गाउँपालिकाका किसानहरु कफी खेतीतर्फ आकर्षित हुन थालेका छन् । यस वर्ष मात्रै ४० हजार कफीको विरुवा वितरण गर्ने र गरिरहेको खेतीलाई प्रविधिमैत्री बनाएर गुणस्तर कफी उत्पादनमा जोड दिने काम भईरहेको छ । त्यसको लागि किसानलाई पलपर मेशिसन, सुकाउनका लागि त्रिपाल वितरण र कफीमा देखिने रोगको समस्या समाधानका लागि वेला वेलामा तालिम दिने काम गरिरहेको गाउँपालिकाले जनाएको छ । यस वर्ष सो वडामा प्रदेश सरकारको ३० लाख रुपैया, गाउँपालिका र किसानको दश÷दश लाख गरी ५० लाख लागत साझेदारीमा कफी प्रशोधनमा प्रविधिको प्रयोग र सामग्री वितरणको काम भईरहेको छ ।


तपाईको प्रतिक्रिया