
पनौती÷ पनौती–काठमाडौँ एक्सप्रेस उपभोक्ता समूह पनौती काभ्रेपलाञ्चोकले सुरक्षित, भरपर्दो र व्यवस्थित यातायात सेवा प्रदान सुरु गरेको २१ बर्ष भएको छ ।
२०६२ सालमा स्थापना भएदेखि नै पनौतीबाट काठमाडौँ उपत्यकाका विभिन्न सरकारी तथा निजी कार्यालयमा कार्यरत कर्मचारीहरूलाई सहज र सुरक्षित सार्वजनिक यातायात सुविधा उपलब्ध गराउँदै आएकोमा सो कार्यको प्रशंसा गरिएको छ ।
काभ्रेपलाञ्चोकबाट काठमाडौंजाँदा यात्रुहरूको सहजता, नियमित सेवा तथा गुणस्तरीय यातायात प्रणालीको व्यवस्थापनको उदेश्यले स्थापना भएको संस्थाले २१ वर्षदेखि यात्रुहरूको सुविधाका लागि निरन्तर काम गर्दै आएको सो अवसरमा जानकारी दिइएको थियो । सो समूहले यात्रुहरूलाई सुरक्षित, भरपर्दो र व्यवस्थित यातायात सेवा प्रदान गर्न खेलेको भूमिकाको सबै पक्षबाट प्रशंसा गरिएको छ ।
काठमाडौँ एक्सप्रेस उपभोक्ता समूह नेपालको २१औं वार्षिक साधारण सभा तथा बनभोज कार्यक्रम पनौती नगरपालिका–९, शारदा देविस्थानको बतासे हिल्समा भएको छ ।
समूहका अध्यक्ष मदन कृष्ण सैँजुको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूण्यवती यातायात प्रालि पनौती शाखाका प्रमुख सनिल सुन्दस सैँजुको प्रमुख आतिथ्यता रहेको थियो ।
यस्तै, समूहका संस्थापक अध्यक्ष विरवहादुर थापा, पूर्व अध्यक्ष तथा सल्लाहकारहरू दिलिप कुमार ताम्राकार, भवनाथ हुमागाइ, राजाराम कर्माचार्य तथा समुहका सदस्य एंव नेपाल राष्ट्र बैंकका उपनिर्देशक लक्ष्मी नारायण ताम्राकार, नेपाल स्वतन्त्र यातायात मजदुर संगठन पनौती रुट एकाईका नवनिर्वाचित अध्यक्ष शेषनाथ घिमिरे विशिष्ट अतिथि थिए ।
बार्षिक साधारण सभामा संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष किशोर प्रसाद कर्माचार्यले प्रस्तुत गरेका थिए भने सचिव तिर्थराज दाहालले सचिवको प्रतिवेदन पेस गर्नुभयो ।
उत्कृष्ट चालक वेद प्रसाद घिमिरे र सहचालक राजु पोखरेललाई सम्मान गरिएको थियो । यात्रुहरूको सुरक्षा, सेवाको नियमितता तथा अनुशासनलाई उच्च प्राथमिकता दिँदै उत्कृष्ट सेवा प्रदान गर्नुभएको भन्दै समूहले नगद सहित खादा, माला र कदरपत्रले सम्मान प्रदान गरेको थियो ।
त्यसैगरी, विगत ६ बर्ष देखि समूहको विभिन्न क्रियाकलापहरुमा निस्वार्थ भावनाले निरन्तर सहयोग गर्दै आएका पनौती न.पा. ७ निवासी सुजित श्रैष्ठ लाई पनि संस्थाको निरन्तर सेवा र योगदानको उच्च मूल्याङ्कन गर्दै नगद खादा, माला र कदर पत्र सहित सम्मानित गरियो ।
पनौती–काठमाडौं एक्सप्रेस,सुरक्षित, भरपर्दो र व्यवस्थित यातायात सेवा
2025-03-16T20:17:04+05:45

तपाईको प्रतिक्रिया