जेष्ठ चालकलाई एक लाखको सम्मान सहचालकलाई २५ हजार

पनौती÷नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पनौती नगर कमिटीले संगठनमा आवद्ध भई निरन्तर सक्रिय सदस्य जेष्ठ मजदुर चालक गोविन्द श्रेष्ठलाई एक लाख रुपैयाको विशेष सम्मान गरेको छ । हरेक बर्षको फागुपुर्णिमाको दिन पारेर सम्मान गर्ने परपम्रा अनुसार दुर्घटना नगराउने तथा निरन्तर पेशामा सक्रिय चालक श्रेष्ठलाई जेष्ठ मजदुर चालक सम्मानबाट सम्मान गरिएको हो । हरेक वर्ष संगठनले उत्कृष्ट चालक र परिचालकलाई सम्मान गर्दै आएको छ । उत्कृष्ट परिचालक देवशरण श्रेष्ठलाई नगद २५ हजार सहित सम्मान गरियो । मेडल सहित सम्मानित हुनेहरुमा उत्कृष्ट चालकहरु पूर्णबहादुर साउद, राम परियार, राजकुमार कार्की, दिपक गिरी, विजय श्रेष्ठ रहेका छन् । त्यस्तै परिचालकहरुमा गणेश आचार्य, रमेश विक, दिपक सापकोटा र रामसुन्दर श्रेष्ठ रहेका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पनौती नगर कमिटीको १७ औं अधिबेशन संगठनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष नवराज घिमिरेको प्रमुख आतिथ्यता तथा संगठनका नगर कमिटी अध्यक्ष सुनिल धाँजुको अध्यक्षतामा सम्पन्न भयो ।
प्रमुख अतिथी घिमिरेले मजदुरहरुका तमाम समस्याका बाबजुत स्वरोजगार तथा अधिकारका निमित्त राज्यसँग असहमति रहेका विविध विषयमा जानकारी गराएको भए पनि सम्बोधन हुन नसकेकाले आन्दोलनको पुर्व तयारी गरिरहेको बताउनुभयो । मजदुरहरुले प्राप्त गर्ने सवारी लाईसेन्सका आधारमा ऋण जारी गर्न सरकारसँग माग गरेको छ । विभिन्न क्षेत्रका ब्यक्तिहरुले धितो राखेर ऋण पाउने र आत्मनिर्भर हुने बाटो देखाईरहँदा मजदुरहरुले पनि सवारी अनुमतिपत्र राखेर ऋण लिएर स्वरोजगार हुन पाउनु पर्ने माग उठाएको उहाँले बताउनुभयो ।
कार्यक्रममा जिफन्टका नेता एवं जिल्ला समन्वय समिति काभ्रेका पुर्व प्रमुख उद्धव केसी, काभ्रे पुण्यवती यातायात प्रालीका अध्यक्ष राजेशसुन्दर सैँजु, नेकपा एमाले पनौती नगर कमिटी अध्यक्ष सुरेश हुमागाई, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका बरिष्ठ सई विष्णु थापाले मन्तव्य राख्नुभयो ।

तपाईको प्रतिक्रिया