
जस्ताको टहरामा टिप्पर छिर्दा तीन जनाको मृत्यु भएको छ । काठमाडौंको शंकरापुर नगरपालिका –६ सलम्बुटारस्थित बेवारिसे बालबालिकाहरुको आश्रयस्थलमा टिप्पर छिर्दा तीन जनाको मृत्यु भएको हो । द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) ले सञ्चालन गरेको आश्रयस्थलमा आज बिहान सवा ३ः४० बजे बा २ क ६५८० नम्बरको टिप्पर बाटो छाडेर आश्रयस्थलको टहराभित्र छिरेको थियो ।
त्यसको ठक्करबाट दुई जना बच्चा र एक वृद्ध गरी तीन जनाको मृत्यु भएको आश्रय स्थलका फाउण्डर अध्यक्ष युवराज थापाले उल्लेख गर्नुभयो । हामीले नै नाम राखिदिएको आकाश र सुमन घटनास्थलमै रहेनन्, अर्का एक जना बाजे हरिजन गम्भिर घाइते हुनुहुन्थ्यो । उहाँको पनि अस्पतालमा दुःखद निधन भयो थापाले भन्नुभयो ।
बिहानै प्रहरी आएर मृतक र घाइतेलाई नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटी पु¥याएको थियो । प्रहरीका अनुसार अस्पतालका चिकित्सकले आज बिहान ४ः३३ बजे मृत घोषणा गरेका थिए । अहिले टिप्परलाई डोजरको सहायताले तानेर बाहिर निकालिएको छ । उक्त टिपर सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीले चलाएका थिए । उनलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ । द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) ले सलम्बुटारमा २०६२ सालदेखि आश्रयस्थल सञ्चालन गर्दै आएको छ । त्यहाँ ६१ जना बस्दै आएका थिए । तीमध्ये १० जना बसेको टहरामा टिपर छिरेको थियो ।

तपाईको प्रतिक्रिया