बनेपामा एमाले नगर अधिवेशनको रन्को, छानिए २६२ प्रतिनिधि


काभ्रेपलाञ्चोक जिल्लामा नै सबैभन्दा धेरै संगठित सदस्य रहेको र व्यापारिक केन्द्र बनेपामा एमालेको नगर अधिवेशनको चर्चा परिचर्चा सुरु भएको छ । जिल्लामा नै पहिलो पटक स्थानीय तहले आफ्नो अधिवेशनको जानकारी दिने उदेश्यले बुधबार बनेपामा पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
पत्रकार सम्मेलनमा बनेपा नगर कमिटीका कार्यवाहक अध्यक्ष नवराज मानन्धरले दुई हजार तीन सय संगठित सदस्यबाट २६२ जना प्रतिनिधि छनौट भएको जानकारी दिनुभयो । उहाँले बनेपाको १४ नै वडाबाट महिला, युवाको प्रतिनिधित्व सुनिश्चित हुनेगरि प्रतिनिभि चयन भएको उल्लेख गर्नुभयो । आगामी फागुन २४ गते पंञ्चकन्या वैक्वेन्टमा नेकपा एमालेका प्रभावशाली नेता गोकुलप्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन हुनेछ ।
बनेपाको अधिवेशनले समग्र जिल्लामा एमालेको अवस्थाको चित्रण गर्ने भएकाले अधिवेशनको तयारी भव्य भएको मानन्धरले उल्लेख गर्नुभयो । उहाँले अबको एमालेको नेतृत्वमा कस्तो बनेपा हुन्छ भन्ने विकासको खाका प्रतिवेदनको रुपमा प्रस्तुत हुनेछ । एमालेले आफ्नो राजनीतिक प्रतिवेदनमा स्थानीय तहको नेतृत्वमा एमाले आएपछि भएको विकासको बारेमा जानकारी दिने र आगामी दिनमा कस्तो विकास आवश्यक छ र त्यसको अगुवाई एमालेले कसरी गर्छ भन्ने बारेमा पार्टीको विचार बाहिर
ल्याउने तयारी एमालेले बनेपा नगरकमिटीले गरेको छ ।
वडासँगै मुक्ती, समाज,अनेरास्ववियु, युवा संघ, अनेमसंघ, अखिल नेपाल किसान संघ, जिफण्ड, भुपु सैनिक संगठन, मानव अधिकार एलाइन्सबाट प्रतिनिधि चयन भैसकेका छन् । पत्रकार सम्मेलनमा एमाले बागमती प्रदेश कमिटीका सदस्यहरु कुमार तिमल्सिना र हरिशरण दाहाल, एमाले काभ्रेका सचिव राजकुमार सापकोटा, उपसचिव रत्नकुश रंजित, बनेपा नगरपालिकाको उपप्रमुख बिमला सापकोटा लगायतको उपस्थिती रहेको थियो । आगामी फागुन २४ गते हुने नगर अधिवेशनमा उपस्थित हुन सबै नगरबासीमा एमालेले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया