
आफ्नै विशिष्ट पहिचान बोकेको बेथानचोक १ साविकाको च्याम्राङ्गबेसीका अब सख्खर हब बन्ने तरखरमा छ । गाउँपालिकाले सख्खर बनाउने अत्याधुनिक कोल मेशिन उपलब्ध गराएसँगै त्यहाँका किसान च्याम्राङ्गबेसीलाई सख्खर हब बनाउने अभियानमा जुटेका छन् । कृषकहरुका बारीमा केही वर्ष अघि सम्म व्यवसायीक रुपमा उखुखेति भएपनि सख्खर बनाउने प्रकृया झन्झटिलो भएपनि च्याम्राङ्गबेसीका किसान त्यसको विकल्पमा लागेका थिए ।
उखुखेतिका लागि हावापानी तथा माटो उपयुक्त रहे पनि उखुपेल्ने र सखर बनाउने काम झन्झटिलो भएपछि उनीहरु उक्त खेतिबाट विस्थापित बन्दै गएको अवस्थामा पालिकाले बिजुलीबाट चल्ने अत्याधुनिक कोल दिएपछि किसान हौसिएका छन् । ‘उखु त कोलमा पनि पेलियो दिन भर पेल्दा ७ धार्नी सखर बनाउन धौ–धौ पर्थो । घरायसी उपयोगका लागि मात्र रहरको बालीको रुपमा उखु खेति गरिन्थ्यो । पछि गोरुको प्रयोग गरी उखु पेल्ने मेसिन आयो । कोलभन्दा धेरै सजिलो भए पनि गाउँमा गोरु पाउन कठिन मेसिन विग्रने समस्या थियो । अहिले त गाउँमा विजुलीबाट चल्ने उखुपेल्ने मेसिन आए सँगै धेरै सहज भएको छ ।’ बेथानचोक १ ताङ्ग्रेमराङका पटन प्रसाद घिमिरेले भन्नुभयो । यतिखेर उक्त गाउँका कृषकहरु उखुपेल्न र सख्खर बनाउन व्यस्त छन् ।
उखुखेतिको लागि उपयुक्त हावापानी तथा कृषकको आयस्तर बढाउन सघाउ पुग्ने भन्दै बेथानचोक गाउँपालिकाले कृषकहरुका लागि तालिम संचालन गरी विद्युतबाट चल्ने मेसिन हस्तान्तरण गरेको छ । उक्त मेसिनबाट १ घण्टा समयमा पेलेको उखुबाट २० केजी सम्म सख्खर भएको कृषक तुलसी तिमल्सिनाले बताउनुभयो । पालिकाले कृषकहरुका लागि पहिलो चरणमा उद्यम सम्बन्धी तालिम प्रदान गरेको थियो । दोस्रो चरणमा उखुखेति सम्बन्धी तालिम दिए पश्चात उखुपेल्ने मेसिन हस्तान्तरण गरिएको बेथानचोक गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा नं १ का वडाअध्यक्ष मधुसुधन तिमल्सिनाले बताउनुभयो ।
‘समूह निर्माण गरी तालिम संचालन पश्चात ८० प्रतिशत अनुदानमा मेसिन हस्तान्तरण गरिएको छ । उखु खेति विस्तारका लागि अनुदानमा उखुको बिउ उपलब्ध गराउने कार्यक्रम पनि रहेको छ’ उनले थप्नुभयो । पालिकाको वडा नं १ र ३ मा २ वटा उखुपेल्ने मेसिन अनुदानमा उपलब्ध गराइएको छ । यस अघि व्यवसायीक उखुखेति गरिँदै आएको वडा नं १ को सुकुम, झिङ्गे ताङ्ग्रेमराङ लगायतका कृषकहरुले उखुपेल्ने झन्झट भएको भन्दै खेतिबाट विस्तापित भएका थिए । विजुलीबाट चल्ने मेसिन उपलब्ध भएसँगै उक्त वडाका कृषकहरु उखुपेल्न सहज हुने भएपछि पुनः उखुखेति गर्न तम्सिएका हुन् ।
केही कृषकहरुले अहिले पनि स्थानीय जातको उखु खेतिबाट आम्दानी गरिरहेको बताउँछन् । भिराला पाखाबारीमा लगाइने र न्यून लागत भए पनि अम्दानी राम्रै हुने गरेको कृषकहरुको भनाई छ । किलोको ५ सयमा घरबाटै बिक्रिहुने गरेको उनीहरु बताउँछन् । औषधीय गुणभएको कारण स्थानीय जातको उखुको सख्खरको माग उच्च रहेको कृषकहरुले बताए ।

तपाईको प्रतिक्रिया