पोखरीले जोगायो बस्ती, रोक्यो डढेलो

पिकनिक स्पोटलाई आकर्षक बनाउन खनिएको पोखरीमा भएको पानीले बस्ती पस्न लागेको भयंकर डढेलो निभाउन सक्छ त ? आम मानिसले त्यसबारे सोचेकै हुँदैनन् । तर एउटा पोखरीले पर्यावरणको सन्तुलन र प्राकृतिक विपत्तिमा कस्तो सहयोग गर्न सक्छ भन्ने उदाहरण काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोकमा आगलागी नियन्त्रणमा खेलेको भुमिकाले प्रष्ट पारेको छ ।
ठूलो पहाड र चट्टानेभिरसँगै अत्याधिक हावा चल्ने काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका र खानीखोला गाउँपालिकाको सिमाना थामलेक महाभारत पर्वत श्रृंखलाको सामुदायिक वनमा फैलिएको आगो एक सातापछि नियन्त्रणमा आएको छ ।
कम्तिमा २० किलोमिटर जंगलमा क्षति पारेको सो डढेलो नियन्त्रणका लागि हेलिकोप्टरको प्रयोग भएको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिनुभयो । आगो नियन्त्रणमा सबै सुरक्षा निकाय, स्थानीयबासिन्दा, सरकारी निकायको समन्वय भएको थियो । अमेरिकाको लस एन्जलसमा आगलागीबाट विध्वत्स भैरहँदा काभ्रेपलाञ्चोकको उच्च भागको सामुदायिक वनमा आगोको लपेटा फैलिएपछि ठूलो चुनौती देखिएको थियो ।
एक सातासम्म नियन्त्रणमा आउन नसकेको सो डढेलो नियन्त्रणमा अहिलेका नयाँ प्रविधिको प्रयोगले संम्भव भएको जस्तो देखिएपनि त्यसमा गाउँपालिका वडा नं मा खनिएको पोखरीले सबैभन्दा ठूलो काम गरेको स्थानीय बद्रीप्रसाद तिमल्सिनाले बताउनुभयो ।
आगो निभाउन गरिएका सबै प्रयासले भन्दा नजिकै पानीको स्रोत हुनुले राम्रो काम गरेको उहाँको अनुभव छ । हेलिकोप्टरले लगातार छोटो समयमै २४ हजार लिटर पानी लिएर जाने र खन्याएपछि आगो नियन्त्रणमा सहज बनेको उहाँले उल्लेख गर्नुभयो । त्यहाँ पोखरी नभएको भए त्यहाँबाट अझै टाढाको दुरीमा पुगेर पानी ल्याउँदा हेलिकोप्टरको विधि समेत प्रभावकारी नबन्ने उहाँले बताउँनुभयो । त्यहाँका नजिकको विकल्प भनेको १५ किलोमिटर टाढाको खोपासीको पोखरी मात्रै हुने थियो । त्यहाँ पुगेर आउँदा समय धेरै नहुने कारणले आगलागी नियन्त्रणमा आउन समय लाग्ने थियो ।
बेथानचोक गाउँपाकिा वडा नं २ नाङ्गेचौरमा स्थापना गरिएको वनभोज जाने क्षेत्रमा खनिएको पोखरीले डढेलो निभाउन भुमिका खेलेको गाउँपालिकाका अध्यक्ष अधिकारीले बताउनुभयो ।
पोखरीमा तत्काल पयाप्र्त पानी नभएपछि स्थानीय स्रोतमा रहेका पानीलाई पोखरीमा ल्याएर हालेपनि तत्कालै पानीको जोहो संम्भव भएकोे थियो । बस्तीमा आउन लागेको डढेलोलाई नियन्त्रण गर्न सो पानीले निक्कै ठूलो भुमिका निभाएको उहाँले बताउनुभयो । उहाँल यो डढेलोले आफूलाई ठूलो पाठ पढाएको र कम्तिमा एउटा वडामा तीनबटा पोखरी आवश्यक देखिएको बताउनुभयो । उहाँले आफ्ना पुर्खाहरुले पोखरी बनाउनुको महत्व जानेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया